स्थानीय तहको निर्वाचनमै स्वार्थी नेताहरू हावी: उम्मेदवार बन्न दल बदलेको बदलेकै

स्थानीय तहको निर्वाचनमै स्वार्थी नेताहरू हावी: उम्मेदवार बन्न दल बदलेको बदलेकै

बुटवलः स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता हुनुअघिदेखि नै पार्टी परिर्वतन र राजीनामाको लहरै चल्यो। राजीनामा दिने र फिर्ता लिने काम पनि भयो। पदका लागि दल बदल्नेहरूले धमाधम टिकट पनि पाए।

परिणामतः पार्टीमा लामो समयदेखि क्रियाशीलहरू छायामा परे। यसले गर्दा कतिपय पालिकामा व्यापाक विरोध पनि भयो।

चन्द्रौटाका युवा अजेय थापा नेपाली कांग्रेसबाट शिवराज नगरपालिकाको नगरप्रमुखमा आकांक्षी थिए। अघिल्लो निर्वाचनमा राप्रपाबाट नगरप्रमुखका उम्मेदवार उनी पराजित भएपछि कांग्रेसमा प्रवेश गरे। तर निर्वाचनमा उनले कांग्रेसबाट टिकट पाएनन्। टिकट नपाएपछि कांग्रेस पनि परित्याग गरे। फेरि राप्रपामा प्रवेश गरेका उनलाई राप्रपाले शिवराज नगरपालिकाको नगरप्रमुखको टिकट दियो।

उनले अघिल्लो प्रदेश सभाको निर्वाचनमा कांग्रेसबाट प्रदेश सभा सदस्यको टिकट पाएर पराजित भएका थिए।

उपमेयर जानकीदेवी श्रीवास्तव र लोसपाका युवा नेता अम्रिक चौधरी (बिक्कु) हृदयेश त्रिपाठी नेतृत्त्वको जनता प्रगतिशील पार्टी नेपालमा प्रवेश गरे। लोसपाबाट मेयरका आकांक्षी चौधरी र उपमेयर आकांक्षी श्रीवास्तवले उक्त पार्टीबाट टिकट नपाउने निश्चित भएपछि प्रगतिशील पार्टी प्रवेश गरेका हुन्।

दुई महिनाअघि जनता समाजवादी पार्टी परित्याग गरी सनोजकुमार यादव एमाले प्रवेश गरे। जसरी पनि रोहिणी गाउँपालिकाको अध्यक्षमा टिकट पाउन दल बदल्न खोजेका उनी अन्ततः एमाले छिरेका थिए। एमालेका विष्णु पौडेलले उनलाई टीका लगाएर पार्टीमा भित्र्याएका थिए। यादवलाई एमालेले रोहिणी गाउँपालिकाको अध्यक्षको उम्मेदवार पनि बनायो।

२ महिनाअघि ओमसतियाकी निर्मलाकुमारी निषाद एमाले प्रवेश गरिन्। ओमसतिया गाउँपालिकाका बहालवाला अध्यक्ष हिरा केवटकी श्रीमती अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन्। २ महिनाअघि मात्र एमाले बनेकी निषादलाई एमालेले ओमसतिया गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाएको छ।

गत निर्वाचनमा स्वतन्त्रबाट विजयी बनेका नगरप्रमुख हुन, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मनमोहन चौधरी। त्यसपछि उनी जसपामा गए। त्यहाँबाट पनि उनी चुनावमा टिकट पाउनकै लागि उम्मेदवारी दर्ता गर्नु तीन दिनअघि लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) प्रवेश गरे।

पार्टी प्रवेश गर्नासाथ लोसपाबाट उनी लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट नगरप्रमुखको उम्मेदवार भएका छन्।

त्यहाँ यसअघिकै उपमेयर जानकीदेवी श्रीवास्तव र लोसपाका युवा नेता अम्रिक चौधरी (बिक्कु) हृदयेश त्रिपाठी नेतृत्त्वको जनता प्रगतिशील पार्टी नेपालमा प्रवेश गरे। लोसपाबाट मेयरका आकांक्षी चौधरी र उपमेयर आकांक्षी श्रीवास्तवले उक्त पार्टीबाट टिकट नपाउने निश्चित भएपछि प्रगतिशील पार्टी प्रवेश गरेका हुन्।

प्रवेश गर्दाकै दिन प्रगतिशीलले लुम्बिनी सांस्कृतिक नगरपालिकामा चौधरीलाई मेयर र श्रीवास्तवलाई उपमेयरको टिकट पनि दिएको थियो। 

कांग्रेसबाट सिद्धार्थनगर नगरपालिकाको उम्मेदवार बन्ने आकांक्षा राखेका माृतकाप्रसाद यादवले त्यहाँबाट टिकट पाएनन्। नेपाली कांग्रेसले सिद्धार्थनगरमा ईस्तियाक अहमद खानलाई उम्मेदवार बनायो। त्यही झोंकमा पार्टीबाट राजीनामा दिएर उनी जसपा प्रवेश गरे। जसपा जानासाथ यादवले नगरप्रमुखको टिकट पाए र उम्मेदवारी दिए।

‘पार्टीको विचार के हो, सिद्धान्त के हो त्यो मतलब भएन। जसरी पनि पद पाउनुपर्छ भन्ने ध्यान नेतामा हुँदा पार्टी छाडेर जाने गरेका छन्’

ओमसतियामै जसपा परित्याग गरी प्रवेश गरेका मञ्जितकुमार यादवलाई एमालेले अध्यक्षको उम्मेदवार बनाएको छ। सम्मरीमाई गाउँपालिकामा एमाले परित्याग गरी प्रवेश गरेका निवर्तमान गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लालाई माओवादीले अध्यक्षको उम्मेदवार बनाएको छ। शुक्लालाई माओवादीले उम्मेदवार बनाएपछि उक्त पार्टीका पालिका अध्यक्ष सहाबुद्दिन देवानले पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेका छन्। माओवादीमा दलाल पुँजीवाद हावी हुँदा पुराना नेता कार्यकर्ताले पार्टी छाड्न बाध्य भएको देवानले बताए।

कोटहीमाई गाउँपालिका उपाध्यक्ष भानमति बनियाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरिन्। जसपा परित्याग गरी राप्रपा प्रवेश गरेकी उनलाई राप्रपाले त्यहाँ उपाध्यक्षको उम्मेदवार बनाएको छ।

यी त प्रनिनिधि उदाहरण मात्र हुन्। जसरी पनि चुनावमा उठ्नुपर्छ, जित्नुपर्छ भन्ने मान्यताले अहिले धमाधम दल फेर्नेहरू बढेका छन्। दलहरूको प्राथमिकतामा पनि उनीहरू नै पर्ने गरेका छन्।

नयाँ प्रवेशीलाई टिकट दिइँदा पार्टीमा वर्षौँ योगदान गरिरहेकाहरू पार्टी छाड्न बाध्य भएका छन्। कोही बागी उम्मेदवार बनेका छन्।

राजनीतिशास्त्री झपेन्द्र जीसी पार्टी विचारप्रति आस्था जगाउन नसक्दा पनि दल फेरबदल गरिरहने र उनीहरूले नै लाभ लिने गरेको बताउँछन्। ‘पार्टीको विचार के हो, सिद्धान्त के हो त्यो मतलब भएन। जसरी पनि पद पाउनुपर्छ भन्ने ध्यान नेतामा हुँदा पार्टी छाडेर जाने गरेका छन्’, उनले भने।

उनले पार्टी परिर्वतन गर्दै टिकट पाउनुलाई गैरराजनीतिक चिन्तन प्रणालीको पराकाष्ठ भएको बताए। ‘सार्वजनिक पदमा बसे मात्र जनताको सेवक हुँ भनेर बुझे। पद नपाउँदा धर्ती खस्छ, पहाड खस्छ भन्नु असन्तुलित वैचारिक विचलन पनि हो’, उनले भने।

वैशाख १३, २०७९ मंगलबार १०:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।