लुम्बिनी प्रदेशका अधिकांश निकायमा सत्ता गठबन्धन भत्कियो

लुम्बिनी प्रदेशका अधिकांश निकायमा सत्ता गठबन्धन भत्कियो

बुटवल : लुम्बिनी प्रदेशका १ सय ९ वटै पालिकामा सत्ताधारी दलले एमाले विरुद्ध गठबन्धन बनाउने अन्तिम कोसिस गरेका थिए। तर उम्मेदवार दर्ता सकिदा प्रदेशका धेरै पालिकामा गठबन्धन भत्केको छ। एउटा दलले अर्को दलको अस्तित्व स्वीकार नगर्दा धेरै पालिकामा गठबन्धन भत्किएको हो। रुपन्देहीको बुटवल उपमहानगरपालिकामा जनता समाजवादीले सुरज हितान मगर प्रमुख र उपप्रमुखमा सम्झना पौडेलले उम्मेदवार दिए।

सैनामैना नगरपालिकामा पनि पाँच दलको गठबन्धन टुट्यो। मिलेर निर्वाचनमा सहभागी हुने सहमति भए पनि सोमबार गठबन्धनका दलबाट छुट्टाछुट्टै उम्मेदवारी दर्ता भयो। नेपाली कांग्रेस, एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवारी दिए।

एकीकृत समाजवादीबाट नगरप्रमुखमा देवराज पौडेल र उपप्रमुखमा जसपाका टोपराज पाण्डेले तिलोत्तमा नगरपालिकामा गठबन्धनबाट एकिकृत समाजवादी बाहिरियो। समाजवादीले नगरप्रमुखमा आशा चौधरी, उपप्रमुखमा सञ्जीव भण्डारीलाई उम्मेदवार बनाए।

त्यस्तै मर्चबारी, कोटहीमाई, सम्मरीमाई, मायादेवी, गैडहवा गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा पनि गठबन्धनले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन्।

रोल्पामा माओवादी केन्द्रले एकल रूपमा १० वटा पालिका मध्ये ९ वटामा एकल उम्मेदवार दियो। रोल्पाका गङ्गादेव गाउँपालिकामा मात्र समाजवादीसँग गठबन्धन भएको छ। अध्यक्ष माओवादी, उपाध्यक्ष समाजवादीले दिने गरी त्यहाँ सहमति भयो।

गुल्मीको धुर्कोट गाउँपालिकामा माओवादी र कांग्रेसले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराए। धुर्कोटमा माओवादीबाट भुपाल पोखरेलले अध्यक्षमा उम्मेदवारी दर्ता गर्दा नेपाली कांग्रेसबाट महेन्द्र भण्डारीले उम्मेदवारी दर्ता गरे।

गुल्मी दरबार गाउँपालिकामा पनि गठबन्धन टुट्यो। कांग्रेसबाट अध्यक्षमा सरोजकुमार थापा, उपाध्यक्षमा तारा थापा ढेंगाको मनोनयन दर्ता गरेका छन्। माओवादी केन्द्रबाट अध्यक्षमा शेरबहादुर सर्तुङ्गे र उपाध्यक्षमा शिखा रेश्मीले मनोनयन दर्ता गराए। एकीकृत समाजवादीबाट उपाध्यक्षमा नगेन्द्र किरण ठकुरीले पनि मनोनयन दर्ता गराए।

जनमोर्चाले प्युठानको गौमुखीमा एकल उम्मेदवार दियो। झिमरुक गाउँपालिकामा कांग्रेस र जनमोर्चाले गठबन्धन गरेर उम्मेदवारी दिए। ऐरावती गाउँपालिकामा गठबन्धन टुट्यो। एक्ला एक्लै उम्मेदवार दिए।

माण्डवी गाउँपालिकामा विप्लव सहितको गठबन्धन बन्यो। त्यहाँ एमाले एक्लै लडेको छ। सरुमारानीमा गठबन्धनतर्फबाट स्वतन्त्र उम्मेदवारी पर्यो। नौवहिनी गठबन्धन भएको छ। मल्लरानी गाउँपालिकामा गठबन्धनबाट माओवादी अलग्गिएको छ। प्युठान नगरपालिकामा पनि गठबन्धन कायम छ।

बाँकेमा भने कांग्रेसका कतिपय नेताले स्वतन्त्र उम्मेदवार दर्ता गरेका छन्। उम्मेदवार सिफारिसमा असन्तुष्टि जनाउँदै कांग्रेस बाँके र क्षेत्र नम्बर १ को कार्यालयमा तालाबन्दी गरिएको छ। यस्तै असन्तुष्ट कांग्रेस नेता-कार्यकर्ताले पार्टी नै परित्याग गरेर अन्य दलबाट मनोनयन दर्ता गराएका छन्।

कपिलवस्तुमा पनि गठबन्धन टुटेको छ। माओवादी कांग्रेसले एक्ला एक्लै उम्मेदवार दर्ता गरेका छन्। 

वैशाख १२, २०७९ सोमबार २३:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।