उडन्ते योजना, परिवारवाद या र्‍याप :  काठमाडौँ महानगरको निर्वाचनमा के हाबी होला यसपालि ?

उडन्ते योजना, परिवारवाद या र्‍याप :  काठमाडौँ महानगरको निर्वाचनमा के हाबी होला यसपालि ?

काठमाडौँ : चुनावी मैदानमा आएपछि प्रत्येक उम्मेदवारको जवाफ हुन्छ 'म हार्न आएको होइन'। आफ्नै परिवारका सदस्यको मत पाउने-नपाउने ठेगान नभए पनि मतगणना नसकिएसँगै हरेक उम्मेदवारलाई आफैँले जित्ने झैँ लाग्नु स्वाभाविक पनि हो।

जेठो महानगर काठमाडौँ महानगरका उम्मेद्वारहरुलाई पनि यस्तै लाग्नु स्वाभाविकै हो। हिजोका निर्वाचनको अङ्क गणितले जे देखाए पनि काठमाडौँको नतिजा सहजै अनुमान गर्न कठिनै हुन्छ। कारण यहाँका अस्थिर मतदाता। यो सहरका मतदाताको मन सहजै उम्मेदवारले पढ्न सकेको देखिँदैन। हरेक निर्वाचनमा काठमाडौँले नयाँ-नयाँ अङ्क गणित देखाइरहेको हुन्छ।

पदीय मर्यादाक्रममा काठमाडौँ महानगरपालिका प्रमुख १० औँ नम्बरमा पर्ने भएकाले पनि यसको नेतृत्व पाउनु महत्त्वपूर्ण हो नै। अन्य महानगरपालिकाका मेयरहरूको मर्यादाक्रम ११ औँ नम्बरमा रहेको छ। मर्यादाक्रमसँगै मुलुकको सङ्घीय राजधानीसमेत रहेकाले राजनीतिक दलहरूका लागि प्रतिष्ठाको विषय समेत बन्दै आएको छ यो महानगरको नेतृत्व।

‘मैले नै जित्ने हो’ भन्ने ‘ओभर कन्फिडेन्ट’मा देखिन्छन् स्वतन्त्र उम्मेदवार बालेन शाह। उनी टिम सहित हैन एक्लै छन् मैदानमा। इन्जिनियरबाट र्यापर बन्दाको सफलता उनी राजनीतिमा पनि हासिल गर्न चाहन्छन्।

नेपालका स्टार क्रिकेटर पारस खड्का समेत उनको प्रचारमा छन्। गायकहरूले निःशुल्क उनका प्रचार गीत भाइरल बनाइरहेका छन् सामाजिक सञ्जालमा। हिजो रञ्जु दर्शना र किशोर थापाले पाएको मत कुनै सङ्गठित राजनीतिक शक्तिको भन्दा कम थिएन। जित्ने कन्फिडेन्टको आधार यो पनि होला उनको।

उनले भन्दै आएका छन्,' म काठमाडौँको मेयरमा ९० हजार ८ सय ३५ मत ल्याएर जित्छु।’ कांग्रेस अनि एमालेको मतदाताको भोट काटेर आफूले जित्ने उनको दाबी छ। उनले भन्ने गरेका छन् ‘म भोट काट्न उठेको हो। नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न आएको हुँ। उनीहरूको भोट काटेर म जित्न आएको हुँ।’

मतदानअघि सकभर काठमाडौँका सबै वडा र टोलमा पुग्ने उनको योजना छ। ‘चुनाव अघि घर–घर आउने मेयर चाहिएको हो की, पाँच वर्षसम्म घर–घर आएर सेवा गर्ने मेयर चाहिएको हो ? यो मतदाताले रोज्नुपर्छ,’ उनको भनाइ छ। काठमाडौँ महानगरपालिका भित्र साढे दुई लाख घर रहेको र सकेसम्म सबै घरमा कुनै न कुनै माध्यमबाट पुग्ने प्रयासमा रहेको उनी बताउँछन्।

२०५४ को इतिहास दोहोर्याउने रणनीतिमा छन् केशव स्थापित। एमालेबाट उम्मेदवार बनेका छन् उनी। उनी आफ्ना धेरै योजनामा फेल भइसकेका छन्। तै पनि उनी भनिरहन्छन्' केशव स्थापितले हार्न जानेको छैन।'

स्थापितले आफू काम गर्न सक्ने भनेर प्रमाणित भइसकेको व्यक्ति भएको दाबी गरेका छन्। उनले उम्मेदवारी दर्तापछि सत्ता गठबन्धनको उम्मेदवारभन्दा डबल भोट ल्याउने दाबी गरिसकेका छन्।

२०५४ मा उनले ८६ हजार मत पाएर जितेका थिए। अब झन् धेरै मत ल्याउने दाबी गरे। तर ०५४ पछिको २० वर्षमा एमालेको मतदाता घटेको उनले हेक्का राखेनन्। ०७४ को काठमाडौँ महानगरपालिकाको मेयरमा विजयी विद्यासुन्दर शाक्यले राप्रपासँग गठबन्धन गर्दा पनि ६४ हजार ९ सय १३ मत ल्याएका थिए।

स्थापितले चुनावी गणित समेत निकालिसके। उनका अनुसार काठमाडौँमा नेपाली कांग्रेसको स्थायी भोट ४५ हजार हो। माओवादीले २०७४ मा पाएको ७ हजार कायम राख्ने र एकीकृत समाजवादीले तीन हजार थप्ने हो भने पनि ५५ हजार मात्र पुग्ने उनको आङ्कलन छ।

 ‘८४ हजार भोट ल्याएको मान्छेलाई के चिन्ता? गेम इज ओभर,’ उनले भने '‘गठबन्धनको डबल, लेखेर राख्नुस्।,’

तर चुनावमा उडन्ते योजना सुनाउने उनको बानी अनि काठमाडौँको मेयरहुँदा एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपले उनको चुनावी प्रचारलाई अप्ठ्यारो पार्ने देखिन्छ। गम्भीर विषयमा पनि हल्का टिप्पणी गर्ने उनको स्वभावले ब्याक फायर गर्न सक्छ उनलाई।

एमालेबाट काठमाडौँमा मेयर उठेका केशव स्थापितले राप्रपाबाट उम्मेदवारी दिएका मदनदास श्रेष्ठलाई आफूलाई सहयोग गर्न आग्रह गरे उम्मेदवारी दर्तासँगै।

‘तपाईँलाई मेयर भएर के–के गर्न मन छ, सूची बनाएर मलाई दिनुस् जितेपछि (तपाईँ) दाइको इच्छा अनुसार म काम गर्छु,’ स्थापितले मदनदासलाई यस्तो भन्दा श्रेष्ठ हाँसे मात्र।

गठबन्धनको साझा उम्मेदवारको रूपमा मेयरमा मनोनयन दर्ता गरेकी कांग्रेस नेतृ सिर्जना सिंहले जित्ने दाबी गर्नु स्वाभाविकै भयो। एक गठबन्धनको साथ अनि दोस्रो मेयरमा महिला उम्मेदवार। दुवै उनी अनुकूल हुनसक्छ।

त्यसैले त स्थापितले दोब्बर मतले हराउने चुनौतीको जवाफमा उनले भनिन्‘उहाँहरूजस्तो हावादारी गफ गर्न मिल्दैन। के हुन्छ वैशाख ३० पछि देखिहालिन्छ नि।’

गठबन्धन दलकी उम्मेदवार हुन सक्नु सिंहको बलियो पक्ष हो। तर राजनीतिक रूपमा उनी महानगरवासीमाझ परिचित अनुहार हैन। महानगरको मेयरको टिकट पाउनुमा उनको सार्वजनिक छविभन्दा गणेशमान सिंह-मंगलादेवीकी बुहारी अनि प्रकाशमान सिंहकी श्रीमती हुनुले निर्णायक भूमिका निभाएको प्रस्टै देखिन्छ।

राजनीतिमा बढ्दो परिवारवादप्रति आम नागरिकमा बढ्दो वितृष्णा चिर्न नसके उनका लागि टिकट पाउन जुन बलियो पक्ष बन्यो हारको मुख्य कारण त्यही बन्न नि सक्छ।

योबारे उनी जानकार नहुने कुरै भएन। त्यसैले त उम्मेदवारी दर्तापछि उनले पत्रकारहरूसँग 'प्रकाशमान सिंहसँग मात्रै आफूलाई नजोड्न' आग्रह गरेकी थिइन्। आफूलाई स्वतन्त्र राजनीतिक व्यक्तिको रूपमा चिनाऊ उनको प्रयास गर्दै उनले ‘प्रजातन्त्र र गणतन्त्रका लागि सङ्घर्ष गरेको व्यक्ति हुँ। प्रकाशमान सिंहसँग विवाह गर्नुअघि पनि म राजनीतिमा थिएँ’ भनिन्।

अङ्कले देखाउने नतिजा

उम्मेदवारका आ-आफ्ना दाबी छन्। तर अकाट्य हुने त मतदानको अङ्क हो नै। ०७४ मा काठमाडौँमा २ लाख ७९ हजार ३ सय ९ मतदाता थिए। अहिले २० हजार ७ सय ३३ मतदाता बढेर तीन लाख २ सय ४२ पुगेका छन्।

गत निर्वाचनमा शाक्यले ६४ हजार ९ सय १३ मत ल्याउँदा जोशीले ४५ हजार २ सय ६९ मत ल्याएका थिए। विवेकशील नेपाली दलकी रन्जु न्यौपाने(दर्शना)ले २३ हजार ४ सय ३९ मत ल्याएकी थिइन्। चौथो नम्बरमा स्वतन्त्र उम्मेदवार किशोर थापाले १८ हजार ४ सय ९६ मत ल्याएका थिए।

निर्वाचनमा पराजित भए पनि यो पाँच वर्ष दर्शना र थापाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेर विध्याशुन्दरलाई काम गर्न बाध्य बनाउन सक्थे। तर यी दुवै निष्क्रिय भइदिए। बरु दर्शनाले केही प्रयास नगरेकी हैनन्। तर कहिले साझासँग एकता गर्ने अनि कहिले छुट्टिने क्रम र उपक्रममै अलमलिइन् उनी। थापा त पुरै निष्क्रिय बसिदिए।

यसले वैकल्पिक उम्मेदवारको पक्षमा उभिने जनमत निराश भएका छन्। उनीहरूलाई यसै पटक स्वतन्त्र उम्मेदवारहरूले आकर्षित गर्न अलि कठिनै देखिन्छ। बालेनले प्रयास गरेका छन्। पोखरामा झैँ टिम बनाएको भए प्रभाव बढ्न सक्थ्यो। तर उनी एक्लै छन्। बहुमतको आधारमा निर्णय हुने महानगरमा मेयर एक जना मात्रै स्वतन्त्रले जित्दैमा चमत्कारिक परिवर्तन सम्भव छैन भन्ने सहरी मतदाता जानकार हुनै नै भए।

निर्णायक नयाँ मतदाता

गत निर्वाचनमा तटस्थ मतदाता अनि कांग्रेसका उम्मेदवारप्रति असन्तुष्टसँगै वैकल्पिक राजनीतिका पक्षधर युवा मत रन्जु र किशोरलाई गएको थियो। त्यसले नै शाक्यलाई विजेता बन्न सघाएको थियो।

०७४ मा एमाले र कांग्रेसका उम्मेदवार शाक्य र जोशीबिच १९ हजार ४४ मतान्तर थियो। न्यौपाने र किशोरको मत जोड्दा ४१ हजार ९ सय ३५ हुन्छ। माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तमदास डङ्गोलले ७ हजार ९ सय ६ मत ल्याएका थिए।

माओवादी अहिले सत्ता गठबन्धनमा छ र गठबन्धनको साझा उम्मेदवार सिंह हुन्। तत्कालीन नयाँ शक्ति पार्टीका उम्मेदवार पवित्र बज्राचार्यले भने ६ हजार ५० मत ल्याएका थिए। नयाँ शक्ति पार्टी यसबिचमा जनता समाजवादी पार्टीमा मर्ज भएको छ।

०७४ सालको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा २८ जना मेयरका उम्मेदवार थिए। ती मध्ये १७ उम्मेदवारले तेहरो अङ्कसमेत छुन सकेनन्। नेमकिपाका कुलनारायण डङ्गोलले २ सय ६७, स्वतन्त्र उम्मेदवार गोर्कीप्रसाद श्रेष्ठले १ सय ६४, नेकपा मालेका उषाकुमारी टिवरेवालाले १ सय ४९ मत, राष्ट्रिय जनमोर्चाका निर्मलकुमार थापाले १ सय ३१ र तत्कालीन मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का शिवहरि रिजालले १ सय १८ मत ल्याएका थिए। 

यस पाली पनि विवेकशील साझाले उम्मेदवार उठाएको छ। तर रञ्जु या किशोरले गरेको चमत्कार सम्भव देखिएको छैन। गत निर्वाचनमा राप्रपाले एमालेलाई सघाएको थियो। यो पाली राप्रपाबाट मदनदास आफैँ उम्मेदवार बनेका छन्। यी सबै अङ्क गणितले काठमाडौँको मेयरमा ह्याट्रिक गर्ने स्थापितको रणनीति त्यति सहज देखिँदैन।

तर नानिमैया दाहाललाई जिताउने मतदाता भएको क्षेत्रमा यस्तै हुन्छ भनेर ठोकुवा गरिहाल्न चैँ सकिन्न।

वैशाख १२, २०७९ सोमबार २२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।