छ महानगरको लेखाजोखा : भरतपुर र पोखरामा गठबन्धनलाई अफ्ठेरो, चार वटामा एमाले चेपुवामा
काठमाडौँ : सरकारमा रहेका पाँच दलको गठबन्धनले स्थानीय तह निर्वाचनमा सोचेजस्तो सबैतिर सर्वसम्मत उम्मेदवारी उठाउन सकेनन्। तर महानगरपालिकाको नेतृत्वमा भने उनीहरू एक ढिक्का देखिएका छन्। केही स्थानमा दलका पुराना नेताहरूले स्वतन्त्र उम्मेदवारी दिए पनि गठबन्धनलाई नै अप्ठ्यारो पार्ने गरी उम्मेदवारी परेको देखिएन।
६ वटा महानगरको नेतृत्वका लागि परेको उम्मेदवारीले सत्ता गठबन्धन केही सहज अवस्थामा देखिन्छ भने एमालेलाई साख जोगाउन मतदाताबिच विद्रोहको विकल्प देखिएन।
काठमाडौँ महानगर
काठमाडौँ महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंह र उपमेयरमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले उम्मेदवारी दिए। एमालेबाट मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डङ्गोलले उम्मेदवारी दिए।
२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिका एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९ सय १३ मत ल्याएर विजयी बनेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याएका थिए।
गत निर्वाचनमा वैकल्पिक राजनीतिको चस्का मजाले पसेको थियो काठमाडौँका मतदातामा। मेयरमा विवेकशील नेपाली दलकी रन्जु न्यौपाने (दर्शना) ले २३ हजार ४ सय ३९ मत र साझाका किशोर थापाले १८ हजार ४ सय ९६ मत ल्याएर नजिते पनि हराउन महत्त्वपूर्ण भूमिका निभाए।
माओवादी केन्द्रका सर्वोत्तम डङ्गोलले ७ हजार ९ सय ६ मत, नयाँ शक्ति पार्टीका पवित्र बज्राचार्यले ६ हजार ५० मत ल्याएका थिए। उपमेयरमा कांग्रेसबाट हरिप्रभा खड्गीले ५८ हजार ९ सय ५२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत ल्याएका थिए। राजारामलाई एमालेको साथ थियो।
माओवादी केन्द्रकी सुशीलाकुमारी पौडेलले १० हजार ४ सय ४८ मत, नयाँ शक्तिकी सविना अर्याल दवाडीले ३ हजार ४ सय ९४ मत र साझाकी उम्मेदवार निरुपमा यादवले ११ हजार ५ सय ३३ मत ल्याएकी थिइन्।
यो पटक पनि विवेकशील साझासँगै केही स्वतन्त्र उम्मेदवारहरू उठेका छन्। चर्चाका हिसाबले र्यापर बालेन शाह बलिया देखिएका छन्। तर गत निर्वाचनमा झैँ मतदाता स्वतन्त्र उम्मेदवारको पक्षमा खुलिसकेका छैनन्।
स्थापित २ पटक काठमाडौँको मेयर भइसकेका उम्मेदवार हुन्। सिंह गणेशमान सिंहको पारिवारिक विरासतका आधारमा उम्मेदवार बनेकी छिन्। गठबन्धन दलबिच काठमाडौँमा त्यति ठुलो मतभेद देखिएको छैन।
बाँकी दिनमा चुनावी प्रचारले अनपेक्षित मोड नलिए गत निर्वाचनमा गठबन्धनका दलले पाएको मतका आधारमा गठबन्धनका उम्मेदवार सुरक्षित देखिन्छन्।
ललितपुर महानगर
ललितपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा कांग्रेसका चिरिबाबु महर्जन र उपमेयरमा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले उम्मेदवारी दिए। ललितपुरमा एमालेबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य ‘आस्था’ले उम्मेदवारी दिएका छन्।
०७४ को स्थानीय तह निर्वाचनमा ललितपुरको मेयरमा चिरिबाबु महर्जन २४ हजार ६ सय ४२ मत ल्याएर जितेका थिए। उनको निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ३ सय १६ मत ल्याएका थिए।
महर्जन र व्यञ्जनकारबिच मतान्तर ३ सय २६ मात्रै थियो। माओवादीका दिनेश महर्जनले १० हजार ६ सय ६१ मत ल्याएका थिए। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का उम्मेदवार राजेशमान सिंहले मेयरमा १२ हजार १ सय ६५ मत ल्याएका थिए भने उपमेयरका उम्मेदवार रम्भा मिश्रले १० हजार ६ सय ६३ मत ल्याएकी थिइन्।
अङ्क गणितीय हिसाबले एकल रूपमा चिरीबाबु निकटतम प्रतिद्धन्द्धीसँग कडा टक्करमा देखिए पनि गठबन्धन दलका मतदाताले पत्याएमा उनी पनि रेड जोनमा देखिँदैनन्।
भरतपुर महानगर
स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै बहसमा आएको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दिए।
भरतपुरमा एमाले र राप्रपाबिच तालमेल भएको छ। जसअनुसार मेयरमा एमालेबाट विजय सुवेदी र उपमेयरमा राप्रपाबाट हिमला गुरुङले उम्मेदवारी दिएका छन्।
०७४ को स्थानीय तह निर्वाचनमा भरतपुर मेयरमा माओवादी केन्द्रबाट रेणु दाहाल ४३ हजार १ सय २७ मत ल्याएर विजयी भएकी थिइन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याएका थिए।
उपमेयरमा कांग्रेसबाट पार्वती शाहले ४७ हजार १ सय ९७ मत ल्याएर विजयी भएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी दिव्य शर्माले ३९ हजार ५ सय २५ मत ल्याएकी थिइन्। यसअघि भरतपुरमा राप्रपाबाट मेयरको उम्मेदवार बनेका बद्रीनाथ तिम्सिनाले ६ हजार ८ सय ४२ मत ल्याएका थिए। उपप्रमुख रिना गुरुङले ७ हजार २ सय ५२ मत ल्याएकी थिइन्।
यसले भरतपुरमा एमाले-राप्रपाको मत ५० हजार हाराहारी देखिन्छ। उम्मेदवारी चयनमा कांग्रेस र माओवादीका जिल्लातहका नेताबिच कटुता बढेकाले नतिजा यस्तै आउँछ भन्न सकिने अवस्था छैन। गत निर्वाचनमा पनि मेयर रेणु र कांग्रेसकी उपमेयर शाहले पाएको मतमा चार हजार फरक थियो।
पोखरा महानगर
गठबन्धन दलबिच टाउको दुखाई बनेको पोखरा महानगरपालिकामा गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसबाट कोपिला रानाभाटले उम्मेदवारी दिए। पोखरामा एमालेबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जु गुरुङले उम्मेदवारी दिएका छन्।
०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पोखराको मेयरमा एमालेका मानबहादुर जिसी ६० हजार १ सय १८ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत ल्याएका थिए।
उपमेयरमा एमालेकी मञ्जु गुरुङले ५६ हजार ४ सय ४८ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत ल्याएकी थिइन्। माओवादीले मेयरमा कांग्रेसलाई सघाएकाले उपमेयर गोमा ढकाललाई उम्मेदवार बनाएको थियो।
ढकाल उपमेयरमा ८ हजार ७ सय ९६ मत ल्याएर तेस्रो भएकी थिइन्। माओवादी केन्द्रले सघाउँदा यसअघिको निर्वाचनमा पोखरा महानगरमा एमाले र कांग्रेसको मतान्तर १३ हजार ७ सय २ थियो।
गत निर्वाचनमा उपमेयरमा कांग्रेसका मतदाताले माओवादीकी उम्मेदवारलाई खुलेर मत दिएनन्। एमालेसँग विभाजित भएको दल एकीकृत समाजवादीको गण्डकीमा कमजोर सङ्गठन देखिन्छ। यसले पोखराको नतिजाको आङ्कलन समेत गर्न कठिन देखिन्छ।
त्यसमा मेयरसहित अधिकांश वडामा अटेरी समूहको नाममा उम्मेदवारी परेको छ। कांग्रेस र एकीकृत समाजवादीका नेताबिचको सम्बन्धबाट मतदानमा पर्ने प्रभाव अनि अटेरी समूहका गणेश समूहले काट्न सक्ने मतको मात्राले नतिजा अन्योलपूर्ण देखाउँछ।
विराटनगर महानगर
विराटनगर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा जसपा नेपालका अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराए। एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निरौला कार्कीले उम्मेदवारी दिएका छन्।
०७४ को निर्वाचनमा विराटनगर महानगरपालिको मेयरमा कांग्रेसका भीम पराजुली २३ हजार ३१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३ सय २१ मत ल्याएका थिए।
उपमेयरमा एमालेले विजय गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमसँग चुनावी तालमेल गरेको थियो। यस्तै, माओवादी केन्द्र र तत्कालीन सङ्घीय समाजवादी फोरमबीच चुनावी तालमेल भएको थियो। फोरमबाट मेयरको उम्मेदवार बनेका उमेशकुमार यादवले १४ हजार ९ सय ५८ मत प्राप्त गरेका थिए।
अङ्कलाई आधार मान्ने हो भने विराटनगरमा गठबन्धनका उम्मेदवार सुरक्षित देखिन्छन्।
वीरगन्ज महानगर
वीरगन्ज महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा जसपा नेपालका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दिए। वीरगन्ज महानगरमा एमाले र लोसपा नेपालले तालमेल गरेका छन्। मेयरमा एमालेका विजय सरावगी र उपमेयरमा लोसपा नेपालका पुरुषोत्तम झाले उम्मेदवारी दिए। राप्रपाबाट पत्रकारितामा सक्रिय गिरीश गिरी मेयरको उम्मेदवार बनेका छन्।
०७४ को निर्वाचनमा वीरगन्ज महानगरको मेयरमा तत्कालीन सङ्घीय समाजवादी फोरमका विजय सरावगीले १९ हजार ३ सय ९३ मत ल्याउँदै विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अजय द्विवेदीले १९ हजार १ सय ९७ मत ल्याएका थिए।
निर्वाचन अगाडि मात्रै सरावगी एमालेमा प्रवेश गरेर उम्मेदवार बनेका हुन्। गत निर्वाचनमा कांग्रेससँग जसपाको मतान्तर १ सय ९६ मात्रै थियो। यसमा माओवादी केन्द्र र एकीकृत समाजवादीको मत समेत जोडिएको छ।
उपमेयरमा कांग्रेसकी शान्ति कार्की १९ हजार ६ सय ७ मत ल्याएर विजयी भएकी थिइन् भने सङ्घीय समाजवादी फोरमकी पिंकी यादवले १८ हजार ५ सय ३० मत ल्याएर दोस्रो भएकी थिइन्।
वैशाख १२, २०७९ सोमबार २१:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।