'हिजो वीरगन्जको समस्याबारे पत्रकारिता मार्फत उठाएको प्रश्नको उत्तर आएन अनि आफैँ समाधानको योजनासहित राजनीतिमा आएँ'
काठमाडौँ : शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा लेखेका पत्रकार गिरीश गिरी पुस्तकको प्रमोसनमै व्यस्त देखिएका थिए। कहिले संस्थागत त कहिले फ्रिलान्सर पत्रकारितामा आबद्ध रहेका उनी राजनीतिक परिवारका सदस्य भए पनि आफैँ राजनीतिमा सक्रिय देखिएका थिएनन्।
एकाएक उनले वीरगन्ज महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने घोषणा गरे सामाजिक सञ्जालमा। दलगत सिन्डिकेट भत्काउन गैर राजनीतिक चरित्रका पुस्ताले उम्मेदवारी घोषणा गरिरहेका थिए। गिरीको फरक के थियो भने उनी स्वतन्त्र हैन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बन्दै थिए। र घोषणा अनुसार उनले सोमबार उम्मेदवारी दर्ता पनि गरे।
२०६० सालमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा गिरीशका बुबा गोपाल गिरि त्यहीँको मेयर भएका थिए। कामले छोटो समयमै नागरिकमाझ विकास प्रेमी छाप छाड्न सफल गोपाललाई तत्कालीन विद्रोही माओवादीले निर्ममतापूर्वक हत्या गरेको थियो। 'कान्तिपुर र नागरिक दैनिक, सेतोपाटी र देश सञ्चारमा काम गरिसकेका उनको ‘वीरगन्ज’, ‘सत्यमोहन’ लगायतका पुस्तक प्रकाशित छन्। विभिन्न वृत्तचित्र बनाएका गिरिसँग उकेराकर्मी प्रजु पन्तले गरेको छोटो कुराकानी :
पुस्तक लेखन अनि पत्रकारितामा सक्रिय व्यक्ति एकाएक वीरगन्ज महानगरपालिकाको मेयरको उम्मेदवार बन्नुभयो त। के भयो ?
नढाटीभन्दा यो अकस्मात् हो। मेयरमा उठ्छु भन्ने मैले सोचेको थिइन। मेरो काम पत्रकारिता र लेखनको थियो। म त्यसैमा रमाइरहेको थिए। वीरगन्जबारे किताब पनि लेखेँ। समाजलाई नजिकैबाट चियाइरहेको त थिएँ नै। तर उम्मेदवारै हुने चैँ सोच्दै सोचिएन।
पार्टीले ढिला प्रस्ताव गर्यो। अनि घोषणामा ढिला भएकै हो। यसले प्रचारप्रसारमा ढिला भएको छ। तर म वीरगन्जवासीका लागि नयाँ व्यक्ति हैन। मेरो पार्टी पनि नयाँ हैन। यो बिचमा जति समय छ त्यसलाई अधिकतम सदुपयोग गर्दै मतदाताको घरदैलोसम्म पुग्ने प्रयास गर्नेछु।
एकाएक राप्रपाले दुई दिन अघि मेयर पदको लागि प्रस्ताव गर्यो। अनि सोचेँ, सामाजिक मुद्दालाई त मैले लेखेको छु, उठाएको छु, यसलाई लागू गर्न राजनीति चाहिन्छ नै। मेरो बुबाका केही योजना अनि केही सपना अधुरा नै थिएन। त्यो काम पुरा गर्न त राजनीति गर्नुपर्ने थियो। त्यही हुटहुटीले म उम्मेदवारी बन्न सहमत भए।
तपाईँको बुबा गोपाल गिरीलाई वीरगन्जवासीले हार्दिकतापूर्वक सम्झिने रहेछन् अझै। मेयर भएमा पुरा गर्ने पहिलो अधुरो काम ?
बुबाको हत्या भएको १८ वर्ष भयो। उहाँले बिपी उद्यान बनाउन जग्गा महानगर मातहत ल्याउनुभयो। त्यो उद्यान बन्न पाएन। त्यो उद्यान बनेको भए लन्डन, सिड्नी र न्युयोर्क कुनै पनि पार्क भन्दा कमको हुने थिएन। यो काम मेरो पहिलो प्राथमिकतामा पर्छ। शिक्षा, स्वास्थ्य नि: शुल्क हुन्छन् सरकारी विद्यालयमा। मैले लेखन र वृत्तचित्र बनाउने क्रममा धेरै देश घुमेको छु। त्यहाँका सहरको सुन्दरता देखेपछि मैले वीरगन्ज सहर सम्झिन्थेँ। म वीरगन्जको मेयर विजयी भएँ भने सुन्दर, सफा, समतामूलक सहर बनाउनतर्फ लाग्छु। २०६० साल माघ १ गते मेरो बुबाको हत्या भयो। त्यही दिनबाट वीरगन्जको विकास ठप्प जस्तै भयो। अब यही दिन फर्केर त्यो बेला जुन रफ्तारमा काम भएको थियो अब त्यही गतिमा काम गर्नेछु।
तपाइको परिकल्पनामा कस्तो वीरगन्ज छ ?
पत्रकारिता गर्दा वीरगन्जका समस्याहरू उधिनेर धेरै समाचार लेखेँ। वीरगन्ज भन्ने किताबै पनि लेखेँ। त्यसैले म यो सहरको समस्या र समाधानबारे जानकार छु। जुन बेलामा प्रश्न सोध्ने जिम्मेवारीमा थिए प्रश्न सोधे। अब म जुन बाटोमा हिँडेको छु त्यो उत्तर दिनुपर्ने पद हो। वीरगन्जवासीले विश्वास गरेर नेतृत्व दिएमा पाँच वर्षमा वीरगन्जको मुहार बदलिने छ।
सहर भनेको चमक-धमक मात्रै होइन. सहरको भनेको नागरिकको जीवनस्तर पनि हो। संस्कृति हो। जीवनशैली हो। म यस्तो वीरगन्ज बनाउन चाहन्छु जहाँ सभ्यता, संस्कार र सुविधा तीनै कुरा हुन्।
उम्मेदवारी धेरै ढिला घोषणा भयो। त्यसमा सक्रिय राजनीति पनि नगरेको उम्मेदवार पर्नुभयो। राजनीति जानेका अन्य दलका चतुर नेतालाई पराजित गर्न सकिएला त ?
पार्टीले ढिला प्रस्ताव गर्यो। अनि घोषणामा ढिला भएकै हो। यसले प्रचारप्रसारमा ढिला भएको छ। तर म वीरगन्जवासीका लागि नयाँ व्यक्ति हैन। मेरो पार्टी पनि नयाँ हैन। यो बिचमा जति समय छ त्यसलाई अधिकतम सदुपयोग गर्दै मतदाताको घरदैलोसम्म पुग्ने प्रयास गर्नेछु। राजनीतिमा उम्मेदवारको भाग्य फैसला गर्ने मतदाताले हुन्। को पहिला राजनीतिमा आएको भन्दा पनि कसले के काम गर्न सक्छ भन्ने आधारमा मतदाताले मत दिनेमा विश्वस्त छु।
वीरगन्ज नगरवासीले गिरीश गिरिलाई किन रोज्ने?
पत्रकारितामार्फत वीरगञ्जको समाज बुझ्ने अवसर पाएको छु। हाम्रा सरकारी निकायबाट सेवा प्रवाहमा कहाँनिर कमजोरी छ थाहा पाएको छु। मैले मेयर जितेको खण्डमा महानगर मातहतका सेवा प्रवाह चुस्त हुन्छन्। किसान, मजदुर, गरिब, महिला, दलित, जनजाति, मधेसी र अल्पसङ्ख्यकको शिक्षामा विशेष ध्यान दिनेछु।
मुख्य कुरा हिजो पत्रकारितामार्फत वीरगञ्जको समस्याबारे प्रश्न उठाए। तर ती प्रश्नको समाधानमा कसैले चासो नै दिएनन्। अब म नै ती प्रश्नको समाधानको योजना सहित आएकाले मतदाताको साथ पाउनेमा विश्वस्त छु।
वैशाख १२, २०७९ सोमबार २०:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।