गठबन्धनबाट धरानमा किशोर र इटहरीमा हेमकर्णको उमेद्धवारी

गठबन्धनबाट धरानमा किशोर र इटहरीमा हेमकर्णको उमेद्धवारी

इटहरी : इटहरी उपमहानगरपालिकाको मेयरमा हेमकर्ण पौडेल उम्मेदवार भएका छन्। नेपाली कांग्रेस नगर सभापति समेत रहेका पौडेल गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार भएका हुन्। गठबन्धनमा इटहरी कांग्रेसको भागमा परेपछि पौडेले उम्मेदवारी हुने मौका पाएका छन्। कांग्रेस भित्र रोहित प्रसाईँ र भीम बहादुर पौडेलले समेत मेयरमा दाबी गरेका थिए।

पौडेल १२ औँ अधिवेशनमा सर्वसम्मत इटहरी नगर सभापति चयन भएका थिए। १३ औँ र १४ औँ अधिवेशनमा दुई पटक सभापतिमा निर्वाचित भएका उनी इटहरीका प्रभावशाली नेता हुन्।

स्थानीय तह निर्वाचन अगाडी सर्वदलीय संयन्त्रमा समेत काम गरेका उनले एमालेका याम कुमार सुब्बासँग प्रतिस्पर्धा गर्नुपर्ने छ। इटहरीको उपमेयरमा गठबन्धनमा एकीकृत समाजवादीका केशव कुमार विष्टको उम्मेदवारी परेको छ।

धरानमा पूर्व नगर सभापति किशोर राईले टिकट पाएका छन्। देउवा समूहका निकट मानिएका उनी १४ औँ अधिवेशनमा नगर सभापतिमा पराजित भएका थिए। हालका मेयर तिलक राईको सम्भावना बढी रहेको विश्लेषण भइरहेको बेला किशोरले टिकट पाए।

धरान र इटहरीमा देउवा कोइराला समूहको भाग मिलाउँदा हेमकर्ण र किशोरले बाजी मारेका हुन्। राई पनि स्थानीय तह अगाडी सर्वदलीय संयन्त्रमा काम गरिसकेको युवा हुन्। धरानमा गठबन्धनको तर्फबाट उपमेयरमा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाको उम्मेदवारी परेको छ। एमालेले यसअघिनै हालकी उपमेयर मञ्जु भण्डारीलाई उम्मेदवार बनाएको छ। 

वैशाख १२, २०७९ सोमबार १९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।