७ सय ५३ पालिका मध्ये ६० प्रतिशत एमालेले जित्ने विष्णु पौडेलको दाबी

७ सय ५३ पालिका मध्ये ६० प्रतिशत एमालेले जित्ने विष्णु पौडेलको दाबी

बुटवल : एमाले उपाध्यक्ष विष्णु पौडेलले स्थानीय तहको निर्वाचनमा एमालेले एक्लै ६० प्रतिशत स्थानीय पालिका जित्ने बताएका छन्। तिलोत्तमा नगरपालिकाका एमाले नगरप्रमुखमा उम्मेदवार मोहन चापागाईँ, उपप्रमुख जागेश्वरी देवी चौधरी सहित १७ वटै वडाका वडा अध्यक्ष, सदस्यहरूलाई उम्मेदवारी दर्ता गर्नु अघि शुभकामना दिँदै उनले ७ सय ५३ पालिका मध्ये एमालेले ६० प्रतिशत पालिकामा विजयी हुने दाबी गरे।

मङ्सिरसम्म हुने सङ्घ र प्रदेशको निर्वाचनमा पनि एमाले एक्लै बहुमत ल्याउने उनको दाबी छ।

उनले भने‘परमादेशबाट विस्थापित गर्ने ओलीलाई मङ्सिरमा जनादेशबाट फेरि प्रधानमन्त्री बनाउँछौ। देशको समृद्ध विकासका लागि एमाले चाहिन्छ।’

उनले तिलोत्तमा नगरपालिका देशकै उत्कृष्ट भएको र धेरै पालिकाहरूका लागि सिकाईको थलो बनेको भन्दै अहिलेको निर्वाचनमा अघिल्लो भन्दा बढी मत ल्याएर प्रमुख, उपप्रमुख सहित १७ वटै वडामा विजयी हुने दाबी समेत गरे।

तिलोत्तमाका एमाले उम्मेदवारलाई शुभकामना दिएपछि पौडेल बुटवल उपमहानगरपालिका पुगेका थिए। त्यहाँ पुगेर उनले मेयरका उम्मेदवार बाबुराम भट्टराई, उपमेयरका उम्मेदवार सावित्री अर्याल सहित १९ वटै वडा अध्यक्ष र सदस्यका उम्मेदवारलाई शुभकामना दिएका थिए। त्यहाँ पनि उनले देशमा एमालेको माहोल बनेकाले गठबन्धनसँग आफूहरूको प्रतिस्पर्धा नै नभएको दाबी गरेका थिए।

वैशाख १२, २०७९ सोमबार १९:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।