गठबन्धनकी मेयर उम्मेदवार सृजनाले दोहोर्याउने इतिहास पिएलको कि राजुराजको ?
काठमाडौँ : गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरको नेपाली कांग्रेसबाट को उम्मेदवार बन्ला भन्ने कुतूहलताका बिच एकाएक राजुराज जोशीको नाम आयो। पार्टीमा सक्रिय नै रहेको दाबी गरिए पनि काठमाडौँका मतदाताकाविच उनी अपरिचित थिए। उनलाई चिनाउने परिचय थियो नवीन्द्रराज जोशीका दाई।
जोशी ०४७ सालमा प्रकाशमान सिंह कांग्रेसको जिल्ला सभापति रहेका बेला सचिव थिए। यही हो उनको पार्टीसँगको परिचय पनि। २०४९ को स्थानीय निर्वाचनमा मेयरको आकाङ्क्षी भए पनि पिएल सिंह उम्मेदवार बनेपछि उपमेयरको टिकट पाउँदा भाइ नवीन्द्रराजलाई दिएको दाबी आएको थियो।
निर्वाचनमा सिंह र नवीन्द्रराज दुवैले जिते। दुवै जनप्रतिनिधिको रूपमा लोकप्रिय भए पनि राजनीतिक यात्रामा नवीन्द्र सक्रिय भए। राजु मेयरको उम्मेदवार बन्दा भाइ नवीन्द्र मन्त्री भइसकेका थिए। काठमाडौँको रैथानेवासीमाझ राजुराजलाई परिचित गराउन उनै नवीन्द्रले मिहिनेत गरे।
तर साझाका किशोर थापा र विवेकशीलको रञ्जु दर्शनाको क्रेजसँगै उनको अपरिचित प्रोफाइलले राजुराज मेयरमा विजयी हुन सकेनन्। विद्यासुन्दर शाक्य उदाय काठमाडौँमा। विद्यासुन्दर को कार्यशैलीले महानगरवासी चुक्चुकाइरहे।
जसरी २०७४ मा राजुराज मोफसलबाट फुत्त काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनेका थिए २०७८ मा उसै गरी सृजना सिंह पाँच दलिय गठबन्धनकै तर्फबाट मेयरको उम्मेदवार बनेर मनोनयन पनि गरिसकिन्।
स्थानीय तहको राजनीति छिपछिपे मात्रै भएको बेलामा उनी ट्विटरमा आफूलाई पार्टीको काठमाडौँको संयन्त्रहरूले मेयरको उम्मेदवार बन्न आग्रह गरेका समाचार तर तस्बिर सेयर गरेर बस्दा त्यसलाई अधिकांशले रहरको रूपमा हेरेको देखिन्थ्यो। तर सामाजिक सञ्जालमा देखिएको रहर उनका श्रीमान् प्रकाशमान सिंहको बलियो राजनीतिक संयन्त्रले उम्मेदवार बन्नसम्म वास्तविकता बनायो।
जति कांग्रेसीमाझ परिचित छिन् उनी त्यही रूपमा काठमाडौँका मतदातामाझ उनको स्वतन्त्र परिचय बनेको छैन अझै। सृजनाको स्वतन्त्र परिचयको अभावमा उनलाई परिचय गराउने माध्यम प्रकाशमानको श्रीमती अनि गणेशमानको बुहारी नै हो।
काठमाडौँका कांग्रेसीविच सृजना राजुराज जस्तै गुमनाम छैनन्। सामाजिक सञ्जालमा सक्रिय रहने उनी गणेशमान सिंहको पारिवारिक राजनीतिक विरासतको एक सदस्य भएकाले पनि कोर कांग्रेसीमाझ परिचित छिन्।
तर जति कांग्रेसीमाझ परिचित छिन् उनी त्यही रूपमा काठमाडौँका मतदातामाझ उनको स्वतन्त्र परिचय बनेको छैन अझै। सृजनाको स्वतन्त्र परिचयको अभावमा उनलाई परिचय गराउने माध्यम प्रकाशमानको श्रीमती अनि गणेशमानको बुहारी नै हो।
राजुराजको समयभन्दा सृजनाको समय अलि सहज देखिन्छ। बालेन शाहको फरक शैलीको चुनावी प्रचारको शैली भए पनि वैकल्पिक राजनीतिकै बदनाम भएकाले हिजोकोझैँ अत्याउने गरी क्रस भोटिङको सम्भावना कम देखिन्छ। गठबन्धनको उम्मेदवार भएकाले माओवादी केन्द्र र एकीकृत समाजवादीको धेरथोर मत जोडिन सक्छ उनमा।
उनको मुख्य प्रतिस्पर्धी एमालेका मेयरका उम्मेदवार केशव स्थापितै हुने देखिन्छ। २०५४ सालमा मेयरमा विजयी भएका अनि २०५९ मा राजाबाट मनोनीत स्थापित काठमाडौँवासीमाझ परिचित अनुहार हुन्। तर उडन्ते विकास योजना अनि यौन दुर्व्यवहारको गम्भीर आरोपले सिंहलाई निर्वाचनमा सहज बनाउन सक्छ।
यस्तो छ काठमाडौँको अङ्क गणित
गत स्थानीय तहको निर्वाचनको बेलामा भन्दा अहिले २१ हजार नयाँ मतदाता थपिएका छन्। काठमाडौँ महानगरपालिकाको कुल मतदाता ३ लाख २ सय ४२ पुगेको छ। गत निर्वाचनमा एमालेका शाक्यले ६४ हजार ९ सय १३ मत ल्याएर विजयी भएका थिए। प्रतिस्पर्धी कांग्रेसका जोशीले ४५ हजार २ सय ६९ मत ल्याएर पराजित भएका थिए।
तेस्रो सर्वाधिक मत आएको थियो। विवेकशील नेपाली दलकी रन्जु न्यौपाने(दर्शना)को। उनले २३ हजार ४ सय ३९ मत ल्याएकी थिइन्। चौथो नम्बरमा साझाबाट स्वतन्त्र उम्मेदवारी दिएका किशोर थापाले १८ हजार ४ सय ९६ मत ल्याएका थिए।
२०७४ मा माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तमदास डङ्गोलले ७ हजार ९ सय ६ मत पाएका थिए। नयाँ शक्ति पार्टीका उम्मेदवार पवित्र बज्राचार्यले ६ हजार ५० मत पाएका थिए। नयाँ शक्ति अहिले जनता समाजवादी पार्टीमा समाहित भइसकेको छ। उ पनि गठबन्धनमै छ।
एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीको काठमाडौँमा प्रभाव देखिन्छ। गठबन्धनमा उपमेयर सोही पार्टीले पाएको छ। विवेकशील साझाबाट पनि उम्मेदवारी परेको छ। तर ०७४ को रापताप हराइसकेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मदनदास श्रेष्ठ उम्मेदवार बनेका छन्।
उम्मेदवारहरूको सक्रियताको आधारमा टक्कर सृजना र केशवबिचै हुने देखिन्छ।
वैशाख १२, २०७९ सोमबार १७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।