यौन दुर्व्यवहारको गम्भीर आरोपमा स्थापितको सस्तो टिप्पणी : विवादमा त आइरहनुपर्यो नि
काठमाडौँ : एमालेबाट काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनेका केशव स्थापितले उनीमाथि लागेको यौन दुर्व्यवहारको गम्भीर आरोपबारे हल्का टिप्पणी गरे। सोमबार मेयरको उम्मेदवारी मनोनयन गर्न राष्ट्रिय सभा गृह पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो बारेमा बेला-बेलामा विवाद झिक्ने गरेको र त्यो सामान्य भएको प्रतिक्रिया दिए।
‘म जत्तिको व्यक्तिमाथि इस्यु भएन भने केशव स्थापित नै भएन, विवादमा नआउने पनि केशव स्थापित हुन्छ र,' उनले प्रतिक्रिया दिए। उनले बाहिर सडकमा उठेको इस्युमा ध्यान दिन हुँदैन भन्दै सामान्य विषय बनाउने प्रयास गरे।
जबकि उनीमाथि लागेको आरोप उनले दाबी गरे जस्तै सामान्य मात्र थिएन। दुई वर्ष अगाडि काठमाडौँ महानगरपालिकाकी एक पूर्व कर्मचारीले स्थापित मेयर हुँदा आफूमाथि यौन दुर्व्यवहार गरेको गम्भीर आरोप लगाएकी थिइन्।
महानगरपालिकाकी पूर्व कर्मचारी रश्मिला प्रजापतिले उनीमाथि यो गम्भीर आरोप लगाएकी थिइन्। उनले स्थापितले घुम्न जाने र आफूसँग 'क्वालिटी टाइम' बिताउन राखेको प्रस्ताव अस्वीकार गर्दा जागिरबाट निकालिएको दाबी गरेकी थिइन्।
पूर्व पत्रकार उज्जला महर्जनले सामाजिक सञ्जालमार्फत स्थापितले आफूलाई असजिलो हुने गरी साथी बन्ने प्रस्ताव राखेको' लेखेकी थिइन्।
वैशाख १२, २०७९ सोमबार १४:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।