गण्डकीमा पृथ्वीसुब्बा-खगराज टक्करको नतिजा : बदनाम भए पौडेल, आफ्नैबाट असहयोगको संकटमा थापा
पोखरा : गण्डकी प्रदेशमा केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिब पद्मा अर्याल र संगठन विभाग प्रमुख खगराज अधिकारीले आ–आफ्ना गुट चलाइरहेका छन्। यिनै तीन पात्रका कारण कास्की एमाले विभाजित छ। यही प्रतिस्पर्धाको सिकार बने दीपक पौडेल।
उनले पाइसकेको मेयरको टिकट खोसियो पुरानो भिडियोका कारण।
पोखरा महानगरबाट मेयर र उपमेयर सिफरिस गर्ने बेलामा गुरुङ र अधिकारीले आफू निकटका नेतालाई महानगरका मेयर, उपमेयरमा ल्याउन चाहेका थिए। यही कारण सहमति हुन नसकेपछि महानगर कमिटीले केन्द्रमा नाम पठाएको थियो ।
केन्द्रमा पाठाइएका १२ जना आकांक्षीमध्येबाट गुरुङ निकट पौडेलले पोखरा महानगरको मेयरमा टिकट पाए। गुरुङको दबाबमा केन्द्रले पौडेललाई महानगरको मेयरको उम्मेदवार बनाएपछि उनको पुरानो भिडियो समाजिक सञ्जालमा भाइरल भयो।
पौडेलले पोखराको एक सुन पसलबाट औंठी चोरी गरेको भन्दै भिडियो भाइरल गराइएको थियो। गुरुङ र पौडेललाई प्रहार गर्न एमालेका अधिकारी प्यानलले यो भिडियो भाइरल बनाएको आरोप छ।
पौडेलविरुद्ध प्रहार भएपछि अन्ततः उनलाई दिइएको टिकट खोसेर केन्द्रले अधिकारी प्यानलका कृष्ण थापालाई टिकट दियो।
उपमेयरमा भने पुनः मञ्जु गुरुङ नै उम्मेदवार बनेकी छिन्। यसअघि गुरुङले आफू उम्मेदवार नबन्ने बताए पनि अहिले मौन छिन्। थापा र गुरुङ दुवै जना केन्द्रीय सदस्य हुन्।
थापालाई रोक्न पृथ्वीसुब्बाले अहिले कृष्णचन्द्र पोखरेल नेतृत्त्वमा रहेको प्रदेश सरकार छिटै ढलाएर एमालेको सरकार बन्ने अवस्था रहेकाले प्रदेश सांसद समेत रहेका थापालाई राजीनामा गराएर मेयर बनाउन नहुने तर्क गरेका थिए।
थापाको विगत पनि विवादास्पद
पृथ्बीसुब्बा र खगराज पक्षको ठूलो रस्साकस्सीबीच अन्ततः थापाले टिकट पाए। तर, उनी पनि पोखरामा विवादित छविका व्यक्ति हुन्।
थापा २०५४ सालमा पोखराको मेयर भएर काम गरेका थिए। तर,महानगरका मेयर हुँदा समेत उनी विभिन्न विवादमा परेका थिए। त्यसपछि थापालाई पार्टीले निर्वाचनमा टिकट दिए पनि निर्वाचन जित्न सकेनन्।
उनी आफ्नै वडामा कमजोर मानिन्छन्। पार्टीले थापालाई धेरै पटक उम्मेदवार बनाउँदा समेत पटकपटक पराजय भएपछि उनलाई आफ्नो क्षेत्रभन्दा बाहिर लगेर उठाएपछि प्रदेश सांसदमा चुनाव जितेका थिए।
प्रदेश सांसदमा विजयी भएपछि पनि उनले दलित जातीय विभेदको विषयमा पीडक पक्षको पक्षपोषण गरेको भन्दै पार्टीभित्रैबाट कारबाहीको माग गरिएको थियो।
दुबईमा निधन भएका पोखरा–१६ बाटुलेचौरका सम्मरबहादुर सुनारको किरिया गर्न सार्वजनिक किरिया समाजघर दिन वञ्चित गरिएको विषयमा उजुरी परेपछि केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको अवस्थामा थापाले विज्ञप्ति जारी गरेका थिए।
त्यसपछि एमालेकै जनजातिहरूले थापाले जातीय विभेदका घटनालाई समर्थन गरेको भन्दै उनीविरुद्ध स्थानीय अगुवा मोहन सुनारले किटानी जाहेरी दिएका थिए। त्यसपछि थापाले गल्ती भएको भन्दै माफी मागेका थिए।
*भुलवश अर्को तस्बिर पर्न गएकाले सच्याइएको
वैशाख १२, २०७९ सोमबार १०:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।