लुम्बिनीका चार उप-महानगरः गठबन्धन हुँदा कस्तो होला एमालेको अवस्था ?
बुटवल : लुम्बिनी प्रदेशका चार उपमहानगरपालिकामा सत्ता गठबन्धनबीच भागबन्डा मिलेसँगै चुनावी अंक गणित सुरु भएको छ।
गठबन्धनको सहमति अनुसार तीन उपमहानगरपालिका बुटवल, तुल्सीपुर र नेपालगञ्ज कांग्रेसले पाएको छ भने माओवादी केन्द्रले दाङको घोराही उपमहानगरपालिकामा नगर प्रमुख पाएको छ। प्रमुख पद नपाएको एकीकृत समाजवादीले बुटवल र तुल्सीपुर उपमहानगरपालिकामा उपप्रमुख पाएको छ।
समाजवादीले दुवै उपमहानगरबाट आफ्ना उम्मेदवार टुंगो समेत लगाइसकेको छ। समादवादीले बुटवलबाट चीनबहादुर गुरुङ र तुल्सीपुरबाट जोगबहादुर रानालाई टिकट दिने तय गरेको छ।
कांग्रेसले घोराही र जनता समाजवादी पार्टीले नेपालगञ्जमा उपप्रमुख पाएको छ। गठबन्धनको सहमतिपछि नेपालगञ्जमा असन्तुष्टिको बाछिटा देखिएका छन्।
बुटवलबाट मेयरमा खेलराज पाण्डेको नाम एकलौटी सिफारिस गरेको भन्दै कांग्रेसभित्र विवाद बढेको छ। क्षेत्रीय सभापती हरि लम्सालले पार्टीबाट राजिनामा दिएका छन्।
माओवादी केन्द्रका दाङका जिल्ला इन्चार्ज जीवन गौतमले पनि पार्टीबाट राजीनामा दिएका छन्। उनी घोराही उपमहानगरपालिका मेयरका दाबेदार थिए। तर पार्टीले विभेद गरेको भन्दै उनले राजिनामा दिए।
गौतम २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका थिए।
नेपालगञ्जमा जनता समाजवादी पार्टीले कांग्रेसलाई मेयर छोड्न नसक्ने बताए पनि उपप्रमुख पाएपछि जसपाभित्र असन्तुष्टि बढेको छ। भागबन्डाको टुंगो केन्द्रले लगाए पनि स्थानीय पालिकामा गठबन्धन दलभित्रै सन्तुष्ट छैनन्। यसले आगामी निर्वाचनमा केही प्रभाव पार्ने निश्चित जस्तै छ।
असन्तुष्टिका बीच चुनावमा गठबन्धन दल र एमालेबीच प्रतिस्पर्धा त हुने नै छ। अघिल्लो निर्वाचनमा एमाले बुटवल, घोराही, तुल्सीपुर विजयी भएको थियो।
गठबन्धन दलहरु एकताको बल प्रयोग गर्दै एमालेको बिरासत भत्काउन खोजिरहेका छन्। यसअघिको निर्वाचनमा नेपालगञ्ज राप्रपाले जितेको थियो।
विगतमा कांग्रेस र माओवादीबीच स्थानीय तहमा चुनावी तालमेल भएको थियो। तत्कालीन समयमा कांग्रेस, माओवादी तालमेल हुँदा पनि एमालेका उम्मेदवार विजयी भएकाले यो पटक पाँच दलबीच गठबन्धन गरे पनि खासै सहज अवस्था भने देखिँदैन।
२०७४ को स्थानीय तहको निर्वाचन परिणाम अनुसार गठबन्धनका लागि दाङको घोराही र तुलसीपुरमा गठबन्धनलाई सहज देखिए पनि बुटवल र नेपालगञ्ज चुनौतीपूर्ण छ।
बुटवल
एमालेको गड मानिएको बुटवलमा गठबन्धनलाई चुनाव जित्न सजिलो छैन। २०७४ सालको मत परिणाम हेर्दा कुल मतमा केही संख्या बढे पनि अवस्था अहिले फेरिएको छ।
२०७४ मा एमालेका उम्मेदवार शिवराज सुवेदीले मेयरमा २३ हजार २ सय ४९ मत ल्याएर विजयी हुँदा कांग्रेसका खेलराज पाण्डेले २० हजार ८ सय ५१ मत ल्याएका थिए। पाण्डेले ल्याएको मतलाई हेर्ने हो भने त्यो मत उनको व्यक्तिगत पनि थियो।
उपप्रमुखमा गोमादेवी आचार्यले २५ हजार ३ सय १ मत ल्याउँदा गठबन्धन दलबाट उम्मेदवार बनेका जगत पोखरेलले १४ हजार ७ सय ९२ मत मात्र प्राप्त गरेका थिए। गठबन्धन दलकै दुई उम्मेदवारको मत हेर्दा ६ हजार फरक देखिन्छ।
अहिले बुटवलमा २३ हजार ४ सय २ मतदाता थपिएका छन्। नयाँ मतदाता र एमालेबाट टुक्रिएको एकीकृत समाजवादीको कति मत छ यकिन छैन। यस्तोमा बुटवलका अन्य दलले कसलाई समर्थन गर्छन् वा अरुको मत काट्छन् त्यो भने हेर्न बाँकी छ।
यता नेपाली कांग्रेसले नगर प्रमुखमा खेलराज पाण्डेलाई सर्वसहमत एकल उम्मेदवारी सिफारिस गरेपछि भने विवाद भएको छ। यसले पनि गठबन्धनको मतलाई तल-माथि गराउने सम्भावना छ।
यता नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच बुटवल उपमहानगरपालिकाको निर्वाचनमा सहकार्य हुने भएको छ। बुटवल र तिलोत्तमा नगरपालिकामा चौथो शक्तिका रूपमा जनमुक्तिसँग यसअघिको चुनावमा कांग्रेसले तालमेल गरेको थियो।
यस पटक एमालेलाई जनमुक्तिले बुटवलको मेयर,उपमेयर र सबै वडाध्यक्ष सहित ८५ पदमा मतदान गर्ने भएको छ। एमालेले जनमुक्ति पार्टीलाई ११ जना वडा सदस्य पद दिने भएको छ।
घोराही
घोराही सत्ता गठबन्धनको भागबन्डामा माओवादी केन्द्रले पाएको छ। अघिल्लो निर्वाचनमा त्यहाँ एमालेका नरुलाल चौधरी विजयी भएका थिए। नेपाली कांग्रेसका भुपबहादुर डाँगीलाई पराजित गर्दै चौधरी विजयी भएका थिए। चौधरीले २२ हजार ३० मत ल्याउँदा कांग्रेसका भुपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४ सय ८४ मत ल्याएका थिए। माओवादीका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए। अहिले गौतमले पार्टीबाट राजिनामा दिएका छन्। त्यहाँ गौतम निकटस्थहरु असन्तुष्ट छन्।
अघिल्लो निर्वाचनमा एक्ला-एक्लै निर्वाचन लड्दा एमाले विजयी भएको थियो। गठबन्धनका दुई दल कांग्रेस र माओवादीको मत हेर्दा पनि गठबन्धन त्यहाँ बलियो छ। त्यहाँ ३४ हजार ५ सय नयाँ मतदाता थपिएका छन्। नयाँ मतदाता कता जान्छन् र गठबन्धनको इमान्दारिता के हुन्छ त्यो निर्वाचनमा देखिनेछ।
तुलसीपुर
तुल्सीपुर उपमहानगरपालिका गठबन्धनबाट कांग्रेसले पाएको छ। उपप्रमुख भने समाजवादीले पाएको छ। समाजवादीले नगर प्रमुखमा दावेदारी गरे पनि अन्तिम समयमा उपप्रमुख पाएको हो।
समाजवादीको बलियो उपस्थिति भनिएको तुल्सीपुरमा अघिल्लो निर्वाचनमा एमालेका घनश्याम पाण्डे विजयी भएका थिए। २२ हजार ८ सय ५७ मत सहित पाण्डे विजयी हुँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३, नेकपा माओवादी केन्द्रका शेषुराम भण्डारीले ८ हजार ६सय ९३ मत, राष्ट्रिय जनमोर्चा ५ सय ५७ मत ल्याएका थिए।
समाजवादी प्रदेश अध्यक्ष मेटमणि चौधरीले तुल्सीपुरमा आफ्ना १२ हजार मतदाता भएको दावी गर्दै आएका छन्। यहाँ गठबन्धन दलहरुबीच धोका नभए एमालेलाई अप्ठयारो पर्ने देखिन्छ। यद्यपि त्यहाँ ३० हजार ७ सय ८४ नयाँ मतदाता थपिएका छन्। उनको मत निर्णायक हुनेछ।
नेपालगञ्ज
केन्द्रमा भागबन्डा टुंगिए पनि बाँकेको नेपालगञ्जमा गठबन्धन दलभित्रै विवाद छ। नेकपा माओवादी केन्द्र बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा एक्लै चुनावी मैदानमा जाने भन्दै विज्ञप्ति निकालेको छ। यता जसपा पनि रुष्ट छ।
माओवादीका नेपालगन्ज उपमहानगर अध्यक्ष रतन शाहीले विज्ञप्ति जारी गर्दै कांग्रेस, जसपा, जनमोर्चा र समाजवादी पार्टी गठबन्धनको मर्म विपरीत गएकाले माओवादी प्रमुख र उपप्रमुख सहित १९ वटै वडामा एक्लै चुनाव लड्ने जानकारी दिएका छन्। प्रमुख र उपप्रमुखमा मात्रै गठबन्धन गर्ने र वडामा एक्ला एक्लै चुनाव लड्ने बताएपछि गठबन्धन तोड्ने निर्णय गरेको र नेपालगन्जमा गठबन्धनबाट जसपा बाहिरिएको उनले बताएका छन्। केन्द्रमा भएको सहमति अनुसार नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेसले प्रमुख र जसपाले उपप्रमुख लगेर चुनावमा जाने सहमति भएको थियो।
नेपालगञ्जमा एमाले भने कमजोर छ। अघिल्लो निर्वाचनमा नेपालगञ्जबाट राप्रपाका धवलशमशेर राणा विजयी भएका थिए। यद्यपि अहिले मधेसीबाट राजनीतिमा उदाएका पशुपति दयाल मिश्र एमालेमा प्रवेश गरेका छन्। त्यस कारण यस पटक राप्रपासँग भन्दा पनि एमालेसँग गठबन्धनको प्रतिस्पर्धा हुने भएको छ।
त्यहाँ २०७४ को निर्वाचनमा मेयरमा निर्वाचित धवलले १२ हजार ५ सय १५ मत पाउँदा निकटत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेशकुमार कनौडियाले ८ हजार ७ सय ३० मत ल्याएका थिए।
वैशाख १२, २०७९ सोमबार ०७:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।