पोखरामा मेयर–उपमेयर बाहेकका पदमा गठबन्धन नहुने

पोखरामा मेयर–उपमेयर बाहेकका पदमा गठबन्धन नहुने

पोखरा : कास्कीमा पोखरा महानगरपालिको मेयर, उपमेयरबाहेक पाँच दलबीच गठबन्धन नहुने भएको छ। कास्की कांग्रेसको आइतबार बसेको पदाधिकारी बैठकले पोखरा महानगरको मेयर, उपमेयर पदमा बाहेक अन्य वडा र पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको हो। 

बैठकले पोखराको मेयर र उपमेयर पदमा बाहेक कास्कीका अन्य स्थानमा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए।

बैठकले महानगरमा नेकपा एकीकृत समाजवादीलाई सघाउने र चार पालिकासहित कास्कीका ७२ वडामा एक्लै चुनाव लड्ने निर्णय भएको हो । मेयरमा केन्द्रीय निर्णय भएकाले समाजवादीलाई सघाउने सभापति बरालले बताए। 

कार्यकर्ताबाट दबाब आएपछि गठबन्धनका दलसँग मैत्रीपूर्ण प्रतिस्पर्धामा जाने निर्णय गर्न कांग्रेस बाध्य भएको हो । कास्कीमा पोखरा महानगरपालिका सहित रुपा, अन्नपूर्ण, माछापुच्छ्रे र मादी गरी चार गाउँपालिका रहेका छन्। 

वैशाख ११, २०७९ आइतबार २२:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।