मनोनयनको पहिलो दिन : काठमाडौँ महानगरमा परेन ठुला दलको उम्मेदवारी

मनोनयनको पहिलो दिन : काठमाडौँ महानगरमा परेन ठुला दलको उम्मेदवारी

काठमाडौँ :  स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ताको पहिलो दिन काठमाडौँ महानगरपालिकाका लागि प्रमुख दलको उम्मेदवारी दर्ता भएन। मेयरमा १६ जना र उपमेयरमा १७ जनाको उम्मेदवारी परे पनि ती साना दल र स्वतन्त्र उम्मेदवार हुन्।

निर्वाचन कार्यालयका अनुसार मेयरमा १६, उपमेयरमा १७, वडाध्यक्षमा २३ जना र ८ जनाको वडा सदस्यमा उम्मेदवारी परेको छ। गठबन्धनमा मेयर पाएको नेपाली कांग्रेस र उपमेयर पाएको एकीकृत समाजवादीको उम्मेदवारै टुङ्गो लाग्न सकेको छैन। शनिवारै उम्मेदवारी टुङ्ग्याए पनि एमालेले पनि उम्मेदवारी दर्ता गराएन।

काठमाडौँको मेयरका लागि स्वतन्त्र उम्मेदवारको रूपमा बालेन शाह, रविकान्त मानन्धर, राजन कार्की, ज्ञानु लामा तामाङ, अमोट महर्जन, सुमन सायमी, विपिनराज वैद्य, सूर्य थापा श्रेष्ठ, डिल्लीराम राज भण्डारी र जेठा महर्जनले उम्मेदवारी दर्ता गरेका छन्।

विवेकशील साझा पार्टीका तर्फबाट समीक्षा बाँस्कोटा, राष्ट्रिय यथार्थवादी पार्टी नेपालबाट आनन्द राज जोशी, आधुनिक नेपाल समाजवादी पार्टीबाट सुरेशरत्न बज्राचार्य, नेपाल समावेशी पार्टीका तर्फबाट रामबहादुर खड्का, मङ्गोल नेशनल अर्गनाइजेशनका सीता तामाङ, मौलिक जरोकिलो पार्टीबाट मनोजराज आचार्य र आधुनिक नेपाल समाजवादी पार्टीबाट गुणबहादुर बन्जाराले ले मेयरमा उम्मेदवारी दिए।

उपमेयरमा विवेकशील साझा पार्टीबाट कीर्ति तुलाधर र स्वतन्त्र उम्मेदवारका रूपमा विद्या श्रेष्ठ महर्जन, अमरबहादुर खत्री लगायतले उपमेयरमा उम्मेदवारी दिएका छन्। सोमबार बेलुका पाँच बजेसम्म मनोनयन गर्न सकिन्छ। 

वैशाख ११, २०७९ आइतबार २१:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।