बाँडफाँड मिलाउन अधिकतम कोसिस गर्ने सहमति गरेर टुङ्गियो पाँच दलको बैठक

बाँडफाँड मिलाउन अधिकतम कोसिस गर्ने सहमति गरेर टुङ्गियो पाँच दलको बैठक

काठमाडौँ : स्थानीय तहमा उम्मेदवार बाँडफाँड गर्न बसेको सत्ता घटकको दलका शीर्ष नेताहरूको बैठक अझैँ सहमतिमा पुग्न सकेन। निर्वाचन आयोगको कार्य तालिका अनुसार आइतबारबाट मनोनयन सुरु भइसक्यो। सोमबार मनोनयनको अन्तिम दिन हो। तर पाँच दलबिच स्थानीय तह बाँडफाँडमा अझै सहमति हुन सकेको छैन।

आइतबार बसेको बैठकमा.पाँच दल बाहिर तालमेल नगर्ने, सोमबार मनोनयन अगाडिसम्म बाँडफाँड मिलाउन अधिकतम कोसिस गर्ने, सोमबार बिहान ८ बजे पाँचै दलका अध्यक्षहरू बसेर छलफल गर्ने, विगतको सहमतिको सबैले इमानदारीताका साथ पालना गर्ने सहमति भएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले उकेरालाई जानकारी दिए।

स्थानीय तह निर्वाचनमा सरकारमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबिच गठबन्धन गर्ने निर्णय भएको थियो। तर आइतबार भएको मनोनयनमै पोखरा लगायतका स्थानमा बागीको उम्मेदवारी परेको छ। एकिकृत समाजवादीले पार्टीको हैसियतभन्दा बढि सिट मागेको भन्दै कांग्रेस र माओवादीका नेताहरु रिसाएका छन्।

केही जिल्लामा कांग्रेस र माओवादीबिच मात्रै तालमेल भएको छ भने केही जिल्लामा एक्ला एक्लै उम्मेदवारी परिरहेको छ। प्रमुख प्रतिपक्षी दल एमालेले अधिकांश स्थानीय तहको उम्मेदवार टुङ्ग्याए पनि विवादका कारण पाँच दलले उम्मेदवारहरू समेत तय गर्न सकेका छैनन्।

वैशाख ११, २०७९ आइतबार २१:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।