बुटवलमा गठबन्धनको विरोध गर्दै क्षेत्रीय प्रतिनिधिसहित एक सय बढीले कांग्रेस छाडे
बुटवल : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित पाँच दलका केन्द्रीय नेताहरूले गठबन्धनमार्फत टुंगो लगाएको स्थानीय तहका उम्मेदवारीको देशभर विरोध भएको छ। स्थानीय पार्टीका नेता, कार्यकर्ता यो गठबन्धनबाट सन्तुष्ट छैनन्।
धेरै ठाउँमा गठबन्धनको विरोध गर्दै पार्टीबाट राजीनामा दिने लहर चलेको छ। यसको असर रुपन्देहीमा पनि देखिएको छ। मनोनयन दर्ताको पहिलो दिन आइतबार बुटवल उपमहानगरपालिका–३ का १ सय ५ जना कांग्रेस पार्टी छाडेका छन्।
केन्द्रको भागबण्डाको क्रममा सो वडामा माओवादीका बिष्णु ढकाललाई वडाध्यक्ष दिने भएको भन्दै यसको विरोधमा स्थानीय कांग्रेसका सक्रिय पदाधिकारी तथा सदस्य कार्यकर्ताहरूले राजीनामा दिएका हुन्। वडामा बलियो उम्मेदवार मानिएका नेपाली कांग्रेसका आनन्द भगत श्रेष्ठलाई पाखा लगाउँदै गठबन्धनको नाममा अन्य पार्टीको उम्मेदवारलाई आफूहरूले भोट नहाल्ने उनीहरूको तर्क छ।
सामूहिक राजीनामा दिनेहरूमा क्षेत्रीय प्रतिनिधि प्रकाश गुरुङ, मनोज श्रेष्ठ, वडा सचिव अमृत खड्का, सहसचिव राजकुमार थापा लगायतका युवाहरू रहेका छन्। यसअघि पनि क्षेत्रीय सभापतिसहित धेरैले राजीनामा दिएका थिए।
वैशाख ११, २०७९ आइतबार २१:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।