पोखरा महानगरको मेयरमा १० र उपमेयरमा २ जनाको उम्मेदवारी
पोखरा : स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा १० जनाले उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी उपमेयरमा २ जनाले उम्मेदवारी दिएका छन् भने वडा अध्यक्ष र सदस्यमासहित २५ जनाको उम्मेदवारी परेको छ।
मेयरमा उम्मेदवारी दर्ता गराउने दश जना मध्ये चार जना पार्टीका उम्मेदवार छन्। स्वतन्त्रबाट छ जनाले उम्मेदवारी दिएका छन्। अटेरी अभियान चलाइ रहेका स्वतन्त्र उम्मेदवार गणेश पौडेल मेयरका लागि पहिलो उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्तापछि मेयरका उम्मेदवार पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेदवारी दिएको बताए। स्थानीय तहमा दलीय भन्दा पनि स्वतन्त्र उम्मेदवारले बढी काम गर्न भएकाले उम्मेदवारी दर्ता गराएको उनले बताए।
त्यसैगरी कांग्रेसको पोखरा–१४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। त्यस्तै अन्य स्वतन्त्र उम्मेदवारी दिनेहरूमा रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला र किसानसिंह गुरुङ रहेका छन्।
त्यसै गरी मौलिक जरोकिलो पार्टीबाट सञ्जय तिमिल्सिना, सचेत नेपाली पार्टीबाट भोजराज खनाल, मंगोल नेशनल अर्गनाइजेशन प्रेम प्रसाद गुरुङ, स्वतन्त्र रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला मेयर पदमा उम्मेदवारी दिएका छन्।
उपमेयरमा सचेत नेपाली पार्टी सोनि परियार, मंगोल नशनल अर्गनाइजेसन रामबहादु तामाङको उमेद्वदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जानकारी दिएको छ। निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ताको तालिका सार्वजनिक गरेको थियो।
उम्मेदवारका नाम टुंगो नलागेका कारण गठबन्धनका दल र नेकपा एमालेले आज उम्मेदवारी दर्ता गराएका छैनन्। ठुला राजनैतिक दलहरूले सोमबार उम्मेदवारी दर्ता गराउने जनाएका छन्।
वैशाख ११, २०७९ आइतबार २०:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।