कांग्रेसका जनप्रतिनिधि पास भए कि फेल ?, महामन्त्री थापा भन्छन्' ठ्याक्कै उत्तर छैन'
काठमाडौँ : निर्वाचन कार्यालयहरूमा अन्य दलका उम्मेदवारहरू स्थानीय तहको उम्मेदवारी दर्ताका लागि लाइनमा हुँदा सरकारको प्रमुख दल नेपाली कांग्रेसका नेताहरू भने केन्द्रीय कार्यालयमा स्थानीय तह निर्वाचन २०७९ लक्षित केन्द्रीय घोषणापत्र (सङ्कल्प पत्र) सार्वजनिक गरिरहेका थिए।
२०७४ मा माओवादी केन्द्रसँग गठबन्धन गरेको कांग्रेसले २ सय ६६ स्थानीय तहमा जितेको थियो। अब स्थानीय तह कस्तो बनाउने सङ्कल्प पत्र सार्वजनिक गरिरहँदा २०७४ मा जारी गरेको घोषणा पत्रको कार्यान्वयनको पाटो अनि आफ्ना जनप्रतिनिधिको कामको मूल्याङ्कन गरेको देखिएन। ०७४ का पार्टीका जनप्रतिनिधि आफ्नो जिम्मेवारीमा पास भए कि फेल? जवाफ छैन कांग्रेसँग
‘अहिले हामीले सामान्य मुल्याकंन गर्न सक्छौँ। कहीँको मेयरले जिल्ला सभापति जित्नु भएको छ। हामीलाई लागेको छ उहाँले राम्रै काम गर्नुभएको छ। कहीँको मेयरले राम्रो काम गर्नुभएकाले दोहोर्याएर टिकट दिनुपर्यो भन्ने माग आएको छ,' कांग्रेस महामन्त्री तथा घोषणापत्र तयारी समितिका संयोजन गगन थापाले उकेरासँग भने।
उनले पार्टी र स्थानीय सरकारबिचको सम्बन्ध एकदमै कमजोर भएको भने स्विकारे। स्थानीय सरकारको कार्यक्षमताको आधारमा मुल्याकंन गर्ने पद्धति नै नभएकाले को पास अनि को फेल भए भन्ने प्रश्नको ठ्याक्कै उत्तर नभएको उनको तर्क थियो।
अघिल्लो घोषणापत्र स्थानीय तहको लागि बनाइए पनि त्यो स्थानीय तहको चरित्रसँग मेल नखाएको कांग्रेसले निष्कर्ष निकालेको देखियो। स्थानीय तहले गर्ने स्थानीय आवश्यकता र औचित्यका कामहरूमा भन्दा राष्ट्रिय महत्वका विषय समेटिएको थियो। महामन्त्री थापाका अनुसार गत निर्वाचनमा कांग्रेस केही ठाउँमा चुक्यो।
‘हामी अघिल्लो पटक धेरै माथिमाथि उड्यौ। सङ्घीय सरकारले गर्नुपर्ने काम आफ्नो हो जस्तो गर्यौ,' उनले भने।
स्थानीय तहको चुनाव पहिलो पटक भएकाले स्थानीय सरकारले गर्नुपर्ने कामभन्दा पनि देशभर गर्न चाहेका कामलाई एक ठाउँमा राखेको, कुन स्थानीय सरकारले गर्ने कुन प्रदेशले गर्ने कुन सङ्घले गर्ने भन्नेमा चुक भएको थापाले बताए।
स्थानीय सरकारलाई घोषणापत्रसँग बाँध्ने काम गर्न नसकेको र केन्द्रबाट घोषणापत्र बनाएर स्थानीय तहमा जानु गल्ती भएको उनको तर्क छ।
'घोषणापत्र पल्टाएर हेर्ने काम पनि भएन। कार्यान्वयन गर्ने संयन्त्र निर्माण पनि गरेनौँ। प्रबन्ध पनि गरेनौँ। हामी त्यो कुरामा फेल भयौँ,' उनले भने' संविधानको अनुसूची ८ र ९ ले दिएको स्थानीय तहले गर्नुपर्ने कामहरूको आधारमा कति सिर्जनात्मक हुन सकिन्छ, के- के गर्न सक्छौँ भनेर स्थानीय सरकारले गर्नुपर्ने स–साना कुरा खुट्याएनौं।'
मेरिटको आधारमा काम हुने
आइतबार सार्वजनिक गरिएको सङ्कल्प पत्र २ सय ६६ स्थानीय तहका उत्कृष्ट कार्यसम्पादन गर्ने जनप्रतिनिधिहरूसँग सुझाव लिएर बनाएको थापाको दाबी छ। घोषणा पत्र अनुसार अबको एक वर्षपछि जनप्रतिनिधिको रिपोर्ट कार्ड बनाउने र त्यसमा असफल व्यक्तिलाई अर्को चुनावमा लड्न नपाउने व्यवस्था गरेको उनले बताए।
‘यो पटक घोषणापत्रमा यी गल्ती हुन नदिन लामो छलफल गरेका छौँ। आउँदो साल जनप्रतिनिधिको रिपोर्ट कार्ड बनाउन सक्छौँ,’ महामन्त्री थापाले भने, ‘रिपोर्ट कार्डका आधारमा उनीहरूलाई नम्बर दिने र स्थानीय तहमा निरन्तरता दिने-नदिने निर्णय लिन सक्नेछौँ।’
०७४ को स्थानीय तह घोषणापत्रको करभमा कांग्रेसले रेल, सुरुङ मार्ग, फ्लाईओभर, विद्युत् प्रसारण लाइन समेटेको थियो। ०७९ को घोषणापत्रको करभमा स्थानीय स्तरका पूर्वाधारलाई जोड दिइएको छ।
विद्यालय, अस्पताल, सुरक्षा, अपागंमैत्री संरचना, किसान, सुखी परिवार लगायतको स्केच छ। यो स्थानीय सरकारले गर्नुपर्ने र गर्न सक्ने काममा आधारित भएको कांग्रेस नेताको दाबी छ।
वैशाख ११, २०७९ आइतबार १९:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।