यस कारण पार्टीले उठायो चित्र बहादुर कार्कीलाई दोस्रो पटक नगरप्रमुखको उम्मेदवार

यस कारण पार्टीले उठायो चित्र बहादुर कार्कीलाई दोस्रो पटक नगरप्रमुखको उम्मेदवार

बुटवल : नगरपालिकामा नमुना काम भएपनि प्रचार गर्न नसक्दा रुपन्देहीको सैनामैना नगरपालिका यो ५ वर्षको अवधिमा त्यति धेरै चर्चामा आउन सकेन्। नगरभित्र देखिने गरी विकासको काम गरेका र जनताका समस्यासँग नजिक भएका नगरप्रमुख चित्र बहादुर कार्की पुनः नगरपालिकामा दोहोरिने भएका छन्।

नगरपालिका भित्र राम्रो काम गरेका कार्कीलाई पार्टीले आवश्यकता ठानेर नगरप्रमुखमा दोहोर्याउने निर्णय गरेको हो। उपप्रमुखमा पनि विना रानालाई नै दोहोर्याउने निर्णय एमालेले गरेको छ।

समाजका समस्या छिटो बुज्ने र वल्ड भिजन भएका कार्कीको जन्म २०२१ पुस १२ मा म्याग्दी जिल्लाको बेनी नगरपालिका, वार्ड नं ५ मा बुवा रत्न बहादुर कार्की, आमा रत्न कुमारी कार्कीको कोखबाट भएका हो। त्यहाँबाट कार्की परिवार ०२३ सालमा तत्कालीन पर्रोहा गाविसमा बसाई सराई गरी आएको थियो। उनले सैनामैनामै रहेको पर्रोहा माध्यमिक विद्यालयबाट एसएलसी तथा बुटवल बहुमुखी क्याम्पसबाट कानुनमा स्नातक गरेका छन्। एमाले उपाध्यक्ष विष्णु पौडेलका विश्वास पात्र मानिने कार्की २०६६ देखि ०६८ सम्म पुर्व जलस्रोत र रक्षा मन्त्री विष्णु पौडेलको स्वकीय सचिव रहेर काम गरेका थिए।

सैनामैनामा चक्रपथ, नमुना बस्ती, प्रादेशिक स्तरको बसपार्क, रंगशाला, फोहोरमैला प्रशोधन, कृषि, स्वास्थ्य, महिला उद्यमका क्षेत्रमा काम गरेका कार्की अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका फणिन्द्रलाई पराजित गर्दै नगरप्रमुखमा विजयी भएका थिए। शुसासन, पारदर्शीलाई आत्मसाथ गर्दै अघि बढेका कार्कीलाई यस पटक पार्टीले दोहोर्याउने निर्णय गरेकोमा धेरैले सही निर्णय भनेका छन्। ‘सैनामैनालाई विकासको रोल मोडल बनाउन कार्की आवश्यक थियो। पार्टीले त्यो राम्रोसँग बुझेर कार्कीलाई अगाडि बढाएको छ।’ सैनामैना सोरौलीका मतदाता पवन शर्माले भने।

२०४६ साल पुस १३ गते नेकपा एमालेको सदस्यता प्राप्त गरेका कार्की २०४९ सालमा तत्कालीन पर्रोहा गाउँ कमिटिको उप सचिव भएर ०५४ सम्म काम गरे। ०५५ देखि ०५९ साल सम्म गाउँ कमिटी सचिव का कार्की ०६० देखि ०६३ साल सम्म ईलाका कमिटिमा रहेर काम गरे।

२०६६ देखि २०७० सम्म क्षेत्र नं ४ मा क्षेत्रीय कमिटी अध्यक्ष बनेका कार्की २०७३ देखि २०७५ सम्म रूपन्देही जिल्ला कमिटी सचिवालय सदस्य रहे।  भारत, कतार, केन्या दक्षिण कोरिया, चीन र थाइल्याण विदेश भ्रमण गरेका कार्की विदेशमा पुग्दाको अनुभवलाई साधन र स्रोतको उपलब्धता अनुसार नगरको विकासमा लगाउँदै आएका छन्।

नगरप्रमुखको पहिलो पाँचवर्षे कार्यकालमा घोषणापत्रमा समेटिए अनुसारका अधिकांश काम पुरा गरेका कार्कीले नगरपालिकाको मात्र होईन प्रदेश र संघिय सरकारका दर्जनौँ योजना आफ्नो नगरपालिकामा लैजान सफल भएका थिए।

वैशाख ११, २०७९ आइतबार १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।