बुटवल निर्वाचन : बाबुरामलाई एमालेको २१ वर्षे किल्ला जोगाउने चुनौती

बुटवल निर्वाचन : बाबुरामलाई एमालेको २१ वर्षे किल्ला जोगाउने चुनौती

बुटवल : नेकपा एमालेले अन्ततः बुटवल उपमहानगरपालिकाको प्रमुखमा बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

एमालेको गढ मानिएको बुटवलमा २१ वर्षे विरासत जोगाउने जिम्मा भट्टराईकै काँधमा आइपुगेको छ। तर उनलाई त्यति सजिलो भने छैन। यहाँ गठबन्धन दलका साझा उम्मेदवार खेलराज पाण्डेसँग प्रतिस्पर्धा गर्नुपर्ने छ।

गठबन्धनभित्र पनि असन्तुष्टि छ। कांग्रेसका क्षेत्रीय सभापति हरि लम्सालले मेयरको नाम सिफारिसमा एकलौटी गरेको भन्दै राजीनामा समेत दिएका छन्। कांग्रेस भित्रका असन्तुष्ट पक्षको मत र राष्ट्रिय जनमुक्ति पार्टीसँग गठबन्धन गरेको एमालेले जनमुक्तिका करिब १२ सय मतले आफ्नो विरासत कायम राख्ला या नराख्ला? बाबुरामले त्यो बिरासत कायम गर्लान वा नगर्लान्? यो पछि आउने नजिताले देखाउँने छ।

गठबन्धन दलबाट उम्मेदवार बनेका पाण्डे एमालेको किल्ला सहजै तोड्न सकिने बताउँछन्। अघिल्लो निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २ हजार ३ सय ९८ मतले पराजित भएका उनी अहिले गठबन्धनको मत समेत जोडिने र समाजवादीले एमालेको मत काट्ने हुँदा निर्वाचनमा विजयी हुनेमा ढुक्क जस्तै छन्।

सुवेदीले २३ हजार २ सय ४९ मत ल्याउँदा खेलराजले २० हजार ८ सय ५१ मत ल्याएका थिए। तर अहिले नयाँ मतदाता बुटवलमा थपिएका छन्। २३ हजार ४ सय २ जना नयाँ मतदाता थपिएका कारण उनीहरुको मत निर्णायक मान्न सकिन्छ।

समाजवादीले बुटवलमा १० हजार बढी मत रहेको बताउँदै आएको छ। गठबन्धनको तर्फबाट उपप्रमुखमा साझा उम्मेदवार चीनबहादुर गुरुङ बनेका छन्।

एमालेले यस पटक पनि आफ्नो विजय कायम राख्न गठबन्धनलाई मत तान्न नदिने रणनीति अपनाएको छ। बुटवलको सबैभन्दा बढी मतदाता रहेको ११ नम्बर वडालाई एमालेले बढी ध्यान दिएको छ। त्यहाँ अहिले मतदाता १६ हजार २ सय ११ छन्।

अघिल्लो निर्वाचनमा ४ हजार ७ सय मतले एमालेबाट रामचन्द्र क्षेत्री त्यहाँ विजयी हुँदा प्रतिद्वन्द्वी कांग्रेसका सावित्रा टण्डनले १८ सय मत प्राप्त गरेकी थिइन्। त्यस कारण बुटवल- ११ को मत निर्णायक रहने भएकाले पनि त्यसलाई एमालेले बढी चाँसो हेरेको छ।

गठबन्धन दलहरुले पनि बढी ध्यान त्यही वडामा दिएका छन्। एमालेका स्थानीय नेता जितबहादुर मल्ल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनी वडामा अध्यक्ष उठ्दै छन्। उनीसँग करिब ३ सय बढी व्यक्तिगत मतदाता रहेको गठबन्धनका नेताहरुले बताएका छन्। यसरी बढी मतदाता रहेको वडामा दलहरुले आ-आफ्नै रणनीति बनाएका छन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्र गठबन्धन गरेर चुनाव लड्दा पनि एमालेले एक्लै बाजी मारेको थियो। गत निर्वाचनमा नेपाली कांग्रेसलाई माओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टीको साथ थियो। अहिले जनमुक्ति पार्टी निर्वाचनमा एमालेसँग तालमेल गर्ने निर्णय गरेको छ। अघिल्लो निर्वाचनमा जनमुक्तिका जनकबहादुर थापा मगरले १ हजार १ सय ५१ मत ल्याएका थिए।

स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा जन्मिएर बुटवल आई बसोबास गरिरहेका भट्टराई र पाण्डेलाई पूर्व स्याङ्जालीहरुको मत विभाजन हुने आंकलन गरिएको छ। बुटवलको राजनीतिमा स्याङ्जा, पाल्पा, गुल्मी र अर्घाखाँचीबाट बसाइँ सरेर आएकाहरुको विशेष भूमिका हुने गरेको छ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी अघिल्लो निर्वाचनमा भन्दा बढी मत ल्याएर एमालेले आफ्नो विरासत जोगाउने बताउँछन्। ‘हामी अझ बलियो र दृढ भएका छौं। नजिता हाम्रो पक्षमा आउनेछ,’ उनले भने।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर समेत रहेको बुटवललाई एमालेको बलियो संगठन भएको क्षेत्रको रूपमा लिइन्छ। २०६४ र २०७० सालमा सम्पन्न संविधान सभा निर्वाचन र २०७४ सालको संघीय निर्वाचनमा पौडेल बुटवलबाटै निर्वाचित भएका थिए।

२०५४ साल यताका हरेक निर्वाचनमा जित हासिल गर्दै आएको एमालेका सामु बुटवलको नेतृत्व कुनै पनि अवस्थामा जित्नुपर्ने दबाब र चुनौती छ।

को हुन भट्टराई ?

स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा नं. ४ बिर्घामा जन्मिएर बुटवल बसोबास गर्दै आएका भट्टराई एक शालिन र भद्र छवि बनाएका व्यक्ति हुन्। भूमिगतकाल २०३२ साल सेरोफेरोबाट राजनीतिमा संलग्न उनी औषधि व्यवसायी समेत हुन। उनी उद्योगी व्यवसाय, युवा विद्यार्थी र एमाले पुराना नेतामाझ लोकप्रिय छन्।

वि.सं. २०३६ सालदेखि कम्युनिष्ट पार्टीमा आबद्ध भएका भट्टराई नेपाल औषधि व्यवसायी संघका पूर्व राष्ट्रिय अध्यक्ष समेत हुन्। उनले तत्कालीन लुम्बिनी अञ्चल अस्पतालको अध्यक्ष समेत भएर काम गरिसकेका छन्। उनी पार्टीभित्र उद्योग सेक्टरमा रहेर काम गरे। पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर काम गरेको अनुभव पनि उनीसँग छ।

जिल्ला कमिटी सदस्य हुँदै हाल प्रदेश कमिटी सदस्य रहेका भट्टराईले २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए। उनी २०६२/६३ सालको आन्दोलनमा आकस्मिक राहत कोषका संयोजक थिए। त्यस्तै उनले बुद्धिजीवी परिषद्मा रहेर पनि काम गरे।

को हुन् खेलराज पाण्डे ?

अघिल्लो निर्वाचनमा व्यक्तिगत मत प्राप्त गर्दा मेयरसँगको मतान्तर २ हजार ३ सय ९८ बनाएर हौसिएका पाण्डे बुटवल नगर सभापति समेत हुन्। अघिल्लो निर्वाचनमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका जगत पोखरेल १० हजार बढी मतले पराजित हुँदा उनी २ हजार ३ सय ९८ मतले पराजित भएका थिए।

व्यक्तिगत आचरण र शालिन व्यक्तित्वकै कारण खेलराजले अघिल्लो निर्वाचनमा राम्रो मत प्राप्त गरेका थिए। उनले निर्वाचनको मत परिणाम आएपछि नगर प्रमुखमा विजयी बनेका सुवेदीलाई माला र अबिर लगाइदिएर शुभकामना दिँदै राजनीतिक संस्कार प्रस्तुत गरे।

अहिलेको निर्वाचनमा पनि उनी बुटवलका बलिया दावेदार हुन्। निर्वाचनमा पराजय भोग्न साथ घरदैलो अभियान सुरु गरेका खेलराज पार्टी भित्र एक इमान्दार छवि र सबैसँग मिल्न सक्ने गुण भएका व्यक्ति हुन्।

२०२६ साल फागुन ५ गते स्याङ्जाको साविक आलमदेवी–२ (हाल कालिगण्डकी–२) मा जन्मेका पाण्डे हाल बुटवल उपमहानगरपालिका–८ सुख्खानगरका बासिन्दा हुन्।

पाण्डेले २०३८ सालमा बुटवल झर्नुअघि नै विद्यार्थी संगठनमा आवद्ध भएर उनले राजनीति सुरु गरेका थिए। आदर्श मावि स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका पाण्डे २०४० सालमा पाल्पाको जेभिटी स्कुलमा पढ्दा नेविसंघकै समितिमा आबद्ध भए। त्यसपछि उनी निरन्तर विद्यार्थी संगठन भित्र रहेर काम गरे।

उनी २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव भए। पाण्डे २०६७, २०७२ र २०७८ सालमा भएका अधिवेशनबाट निरन्तर नेपाली कांग्रेस बुटवल नगर समितिको सभापति रहेर काम गरेका छन्। उनले स्नातक तहसम्मको अध्ययन गरेका छन्।

वैशाख ११, २०७९ आइतबार १४:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।