पोखराको मेयरमा आचार्य र पौडेलको भिडन्त, गुरुङले गरिन् उपमेयरको टिकट अस्वीकार

पोखराको मेयरमा आचार्य र पौडेलको भिडन्त, गुरुङले गरिन् उपमेयरको टिकट अस्वीकार

पोखरा: भौगोलिक हिसाबले देशकै ठूलो महानगर हो, पोखरा। ३३ वटा वडा रहेको महानगरमा यही ३० गते हुने स्थानीय निर्वाचनमा मुख्य प्रतिस्पर्धी सत्तारुढ गठबन्धन र नेकपा एमालेले उम्मेदवार घोषणा गरिसकेका छन्।

महानगरको मेयरमा सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्य र एमालेका तर्फबाट दीपक पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ। एमाले विभाजन हुनुअघि मेयरका उम्मेदवार आचार्य र पौडेल दुवै एमालेको सक्रिय राजनीतिमा थिए।

गठबन्धनबाट समाजवादीलाई पोखराको मेयर दिने सहमति भएपछि पूर्व एमाले र एमालेबीच प्रतिस्पर्धा हुने भएको हो। 

गठबन्धनका तर्फबाट उपमेयर पाएको नेपाली कांग्रेसले उम्मेदवार टुंगो लगाउन सकेको छैन। एमालेले उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ। 

महानगरको नेतृत्वमा पुग्नका लागि कांग्रेस, एमाले, राप्रपा, स्वतन्त्र लगायतका झण्डै दुई दर्जनभन्दा बढीले आकांक्षा देखाएका थिए। महानगरमा मेयरको उम्मेदवार बन्नका लागि बहालवाला प्रदेश मन्त्रीदेखि प्रदेश सांसदसम्मले आकांक्षा देखाएका थिए। 

यस्तो छ पोखराको विगत
२०७४ को निर्वाचनमा पोखराको मेयरमा एमालेका मानबहादुर जिसी ६० हजार ११८ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए। जिसीले कांग्रेस उम्मेदवार रामजी कुँवरलाई साढे १३ हजार मतले पराजित गरेका थिए।

उपमेयरमा एमालेकी मञ्जु गुरुङले ५६ हजार ४४८ मत ल्याएर विजयी भएकी थिइन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत ल्याएकी थिइन्।

माओवादीले मेयरमा कांग्रेसलाई सघाएकाले उपमेयर गोमा ढकाललाई उम्मेदवार बनाएको थियो। ढकालले उपमेयरमा ८ हजार ७९६ मत ल्याएर तेस्रो भएकी थिइन्।

गत निर्वाचनमा पोखरा महानगरका ३३ वडामध्ये एमालेले २२ र कांग्रेसले ११ वडाध्यक्षमा विजयी हासिल गरेको थियो। तर अहिले एमाले विभाजिन भएको छ। 

पार्टी विभाजनको प्रभावले सकसमा एमाले
महानगरका ३३ वटा वडामा विभाजनको प्रभावले एमालेलाई मतान्तरको हिसाबले ठूलै असर पर्ने देखिन्छ। महानगरका ३३ वटा वडामा विभाजनको सामान्य प्रभाव परे पनि एमालेलाई मतान्तरको हिसाबले ठूलै असर पर्ने देखिन्छ। 

गत निर्वाचनमा मेयरका उम्मेदवार बनेका जिसी स्थानीयतस्तरमा लामो समयदेखि निरन्तर राजनीतिमा लागेर एमालेको जिल्ला अध्यक्ष समेत बनेका नेता भएकाले कांग्रेसका सोझा, इमान्दार नेताका रुपमा चिनिएका तर मेयरको उमेदवार बन्ने आकलन नै नगरिएका कुँवर उम्मेदवार बनेकाले साढे तेह्र हजारको मतान्तरले जिसीले चुनाव जितेका थिए। यस पटक भने पोखरामा पछिल्लो समय थपिएका ३९ हजार मतदाताको मत नै निर्णायक देखिएको छ। 

एकातिर पार्टी विभाजनको असर त छँदैछ अर्कोतर्फ अहिलेका मेयर मानबहादुर जिसीले पाँच वर्षमा खासै जनपक्षीय काम गर्न नसकेका कारण एमालेलाई पोखरामा क्षति हुने आकलन गरिएको छ। पार्टी विभाजन र मेयर जिसीका कारण परेको असरलाई थपिएका मतदाताबाट परिपूर्ति गर्दै विगतको विरासत जोगाउने चुनौती एमालेलाई छ।

एमालेले मेयरमा उठाएका उम्मेदवार दीपक पौडेल लामो समय शिक्षण पेसाबाट राजनीतिमा आएकाले एमालेका नेताहरुबीच परिचित भए पनि कार्यकर्ता पंक्तिमा भिजेका नेता होइनन्। 

एमालेमा महानगर कमिटीमा केन्द्रीय उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीले आफू निकटका नेतालाई महानगरको मेयर बनाउन चाहेपछि आकांक्षीको नाम केन्द्रमा पठाइको थियो। केन्द्रले नाम सिफारिस गर्दा पौडेललाई उम्मेदवार बनाएपछि पोखरामा स्थानीय नेता/कार्यकता असन्तुष्ट देखिएका छन्। 

मेयरका उम्मेदवार पौडेल को हुन् ?
मेयर उम्मेदवार बनाएका नेता दीपक पौडेल पूर्व शिक्षक हुन्। पोखरा–१९ का पौडेलले गाउँकै भारती गगन माविमा अध्यापन गरेका थिए। उनले शिक्षणका क्रममा विभिन्न विद्यालयमा २८ वर्ष सेवामा बिताएका छन्।

नेता पौडेल पञ्चायतकालमा बहुदलका पक्षमा लागेका कारण शिक्षकका लागि लिइएको परीक्षामा नाम निस्किँदा समेत स्थायी हुनबाट बन्चित भएका थिए। धेरै पछि स्थायी भएकाले उनले २८ वर्ष शिक्षण पेसामा बिताएपछि उमेर हदका कारण बिना पेन्सन जागिरबाट अवकाश पाएका थिए।  

नेता पौडेलले २०३६ सालमा भएको पञ्चयत विरूद्धको विद्यार्थी आन्दोलनमा पृथ्वीनारायण क्याम्पसबाट नेतृत्व  गरेका थिए। उनी २०४४ सालमा जिल्ला विकास समिति कास्कीका तर्फबाट सभापतिमा जनपक्षीय उम्मेदवार बनेका थिए। तर विजयी भने हुन सकेनन्। 

पौडेल पञ्चायतकालमा पटक-पटक पक्राउ परेका थिए। उनी शिक्षण पेसामा आवद्ध भएपछि एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनबाट दुई पटक जिल्ला अध्यक्ष बनेका थिए। 

त्यस्तै पौडेल नेपाल शिक्षक युनियन कास्कीको अध्यक्ष र एमाले निकट शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष समेत बनेका थिए।

त्यसैगरी उनी क्षेत्रीय कमिटी, जिल्ला कमिटी सदस्य, जिल्ला सचिवालय सदस्य, पोखरा महानगर कमिटी संयोजक र प्रदेश कमिटीका सचिवालय सदस्य भएर पार्टीमा काम गर्दै आएका छन्।

गठबन्धनका उम्मेदवार धनराजको पृष्ठभूमि यस्तो छ 
गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेका धनराज आचार्य समाजवादीका कास्की जिल्ला अध्यक्षका साथै केन्द्रीय सदस्य समेत हुन्। 

एमाले विभाजन भएसँगै माधव नेपाललाई साथ दिएका आचार्यको कम्युनिस्ट पार्टीमा आबद्धता चार दशकभन्दा लामो छ।

२०२६ सालमा कास्कीको भरतपोखरीमा जन्मिएका आचार्यले २०३९ सालमा विद्यालयमै अनेरास्ववियु प्रारम्भिक कमिटीबाट विद्यार्थी राजनीति सुरु गरेका थिए। 

उनी क्याम्पस स्तरको अध्ययनका लागि पृथ्वीनारायण क्याम्पसमा २०४४ सालमा भर्ना भएसँगै एमाले निकट अनेरास्ववियु प्रारम्भिक कमिटीमा आद्ध भएर सक्रिय राजनीतिलाई अगाडि बढाएका थिए। 

आचार्य २०४५ सालमा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, २०४६ सालमा सचिव र २०४७ सालमा अध्यक्ष बनेका थिए। 

विद्यालय, क्याम्पस, जिल्ला हुँदै उनले २०४८ सालमा अनेरास्ववियु गण्डकी अञ्चल अध्यक्षको जिम्मेवारी पाएका थिए। त्यसैगरी २०४९ सालमा अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य बनेका थिए। आचार्य २०५१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए। 

उनले २०५० देखि २०५४ सालसम्म संगठनको पश्चिमाञ्चल प्रमुख, २०५४ देखि २०५८ सालसम्म केन्द्रीय सचिवालय सदस्य भएर जिम्मेवारी निर्वाह गरेका थिए।

मञ्जु गुरुङको उपमेयरमा असन्तुष्टि
पोखरा महानगरपलिकाको उपमेयर पदकी उम्मेदवार बनाइएकी मञ्जुदेवी गुरुङले उम्मेदवारीप्रति असन्तुष्टि जनाएकी छिन्। एमालेको केन्द्रीय सदस्य समेत रहेकी गुरुङले आफूभन्दा जुनियर प्रदेश सचिवालय सदस्य रहेका दीपक पौडेललाई पोखरा महानगरको मेयरमा उम्मेदवार बनाएर आफूलाई उपमेयर बनाएपछि असन्तुष्टि जनाएकी हुन्। 

गुरुङले आफूले मेयर र उपमेयर कुनै पनि पदमा दावी नगरेको अवस्थामा सल्लाहविना नै उपमेयरको उम्मेदवार बनाएको भन्दै उम्मेदवार बन्न अस्वीकार गरेकी छिन्।

वैशाख ११, २०७९ आइतबार १४:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।