एमाले रुपन्देहीले टुंग्यायो उम्मेदवार, अधिकांश पालिकामा पुरानै अनुहार
बुटवल : ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले रुपन्देहीका सबै पालिकाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। त्यस मध्ये केही मात्र नयाँ अनुहार हुन भने अधिकांश पालिकामा पुरानै जनप्रतिनिधि दोहोर्याउने निर्णय एमाले प्रदेश सचिवालय बैठकले गरेको छ।
हिजो मात्र पार्टी केन्द्रीय सचिवालय बैठकले बुटवलको प्रमुखमा बावुराम भट्टराई र उपप्रमुखमा सावित्रा अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। एमालले सैनामैनाका हालका नगरप्रमुख-उपप्रमुखलाई पुनः दोहोर्याउने निर्णय गरेको छ। मेयरमा चित्र बहादुर कार्की र उपमेयरमा विना रानालाई दोहोर्याउने निर्णय गरेको हो।
बैठकले यता तिलोत्तामा की उपप्रमुख जागेश्वरी देवि चौधरी र देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङलाई पनि उम्मेदवार बनाउने निर्णय गरेको छ। एमालेले तिलोत्तमाको नगरप्रमुखमा भने मोहन चापागाईँ र देवदहको नगरप्रमुखमा धुब्र खरेललाई उम्मेदवार उठाउने निर्णय गरेको छ। देवदहमा यसअघि नगर प्रमुख नेपाली कांग्रेसले जितेको थियो।
यता सुद्धोधन र सियारी गाउँपालिकामा पनि अहिलेकै अध्यक्ष र उपाध्यक्षलाई नै दोहोर्याउने गरी एमालेले निर्णय गरेको छ। जसअनुसार सुद्धोधनमा अध्यक्षमा किशुनचन्द चौधरी र उपाध्यक्षमा शान्तिदेवी ज्ञवाली उम्मेदवार बन्ने भएका छन्। त्यस्तै सियारी गाउँपालिकामा अध्यक्षमा अयोध्याय प्रसाद थारु र उपाध्यक्षमा अमृता गुरुङलाई उम्मेदवार बनाउने एमालेले जनाएको छ।
रोहिणी गाउँपालिकामा पनि अहिलेकै अध्यक्ष सनोज कुमार यादवलाई दोहोर्याउनले निर्णय एमालले गरेको छ। यादव केहि महिना पहिले मात्रै जनता समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए।
सिद्धार्थनगर नगरपालिकामा डा. रामप्रसाद बस्याल नगरप्रमुख र उमा अधिकारीलाई उपप्रमुखमा उम्मेदवार बनाउने निर्णय भएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकामा रमावती यादवलाई नगर प्रमुखमा र कल्पना हरीजनलाई उपप्रमुखमा उठाउने एमालेको निर्णय छ। रमावती केही दिन अघिमात्रै नेपाली कांग्रेस त्यागेर एमाले प्रवेश गरेकी थिइन्। गैंडहवामा सुरेन्द्र पौडेल अध्यक्ष र माधुृरी जयशवाल उपाध्यक्षको उम्मेदवार बनेका छन्।
त्यस्तै कंचन गाउँपालिकामा अध्यक्षमा दिनानाथ आचार्य र उपाध्यक्षमा ओमकला राहाडी, ओमसतिया गाउँपालिकामा अध्यक्षमा सोनु र उपाध्यक्षमा निर्मला केवटलाई उपाध्यक्षको उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ। केवट यसअघिका गाउँपालिका अध्यक्ष हिरा केवटकी श्रीमती हुन्।
वैशाख ११, २०७९ आइतबार १३:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।