बालेन शाहको २८ बुँदे प्रतिबद्धता: कुकुर तिहार र म्ह पूजाको ब्राण्डिङदेखि वृद्धभत्ताको होम डेलिभरीसम्म

बालेन शाहको २८ बुँदे प्रतिबद्धता: कुकुर तिहार र म्ह पूजाको ब्राण्डिङदेखि वृद्धभत्ताको होम डेलिभरीसम्म

काठमाडौंः आसन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पात्र हुन्- बालेन शाह। केही महिनाअघिबाटै चुनावी अभियानलाई तीव्र पारेका शाहले आज आफ्नो प्रतिबद्धता पनि सार्वजनिक गरेका छन्।

२८ बुँदे प्रतिबद्धतामा उनले आफू महानगरको मेयर भएमा के-के योजना अघि सार्ने भन्ने खुलाएका छन्। उनको योजना शिक्षा, स्वास्थ्य, संस्कृतिदेखि सुरक्षासम्मको छ।

'हाम्रो नगरमा पहिले हामी गरौँ! अरूले पछि गर्लान्, अहिले हामी गरौँ! आजसम्म दलले गरे, अब बदल्नेले गरौँ!' भन्ने नारासहित उनले प्रतिबद्धता पत्रको सुरु गरेका छन्। सुरुमै उनले शिक्षा क्षेत्रका योजनालाई अघि सारेका छन्।

त्यहाँ उनले महानगरको सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गर्ने र प्राविधिक शिक्षामा जोड दिने उल्लेख गरेका छन्। यस्तै इतिहास, योग, आयुर्वेद जस्ता पौराणिक शिक्षासँगै विश्वस्तरमा जोड्न सकिने खालका उच्चस्तरीय प्रविधिसहितका कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गर्ने पनि उल्लेख गरेका छन्।

हप्ताको एक दिन सामुदायिक विद्यार्थीमा सीप, उद्यमशीलता, खेलकुद, सङ्गीत, कला तथा नेतृत्त्व विकासका लागि प्रशिक्षण कार्यक्रमको व्यवस्था गर्ने पनि उल्लेख छ।

यस्तै प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोष्टिक ल्याबसहितको स्वास्थ्य क्लिनिकको सुरुआत गरिने पनि बालेनको प्रतिबद्धतामा समावेश छ।

पूर्वाधारको हकमा महानगरपालिकाभित्रका केही भवनहरू भाडामा लिएर बहुतल्ले पार्किङमा परिणत गरिने बताइएको छ। उपभोग अवधि तथा समयअनुसार खुला ठाउँमा फुटपाथ व्यवसायको समय तालिका निर्धारण गरिने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ।

यस्तै यातायातको हकमा महानगरको आफ्नै ट्याक्सी एप सञ्चालन गर्ने बालेनको योजना छ।

संस्कृतिको हकमा अन्तर्राष्ट्रियस्तरमा कुकुर तिहार र म्ह पूजाको ब्राण्डिङ गर्ने बालेनको योजना छ। सांस्कृतिक सम्पदा वरिपरिका घरहरूको जीर्णोद्धार र पुनर्स्थापना गर्दै आफ्नै शैलीअनुसार मुहार फेर्ने योजना पनि उनको छ। यस्तै नेवाः छें (नेवारी घर) को प्रवर्द्धनको निम्ति इञ्जिनियरिङ र आर्किटेक्चरका पाठ्यक्रमहरूमा त्यस शैलीको विज्ञानलाई जोड दिने उल्लेख छ।

बालेनले डिजिटल र होम डेलिभरी सरकारको अवधारणा पनि अघि सारेका छन्। उनले सबै वडामा अनलाइन भुक्तानी प्रणाली सुरु गर्ने उल्लेख गरेका छन्। यस्तै जन्म, मृत्यु तथा विवाहदर्ता जस्ता प्रमाणपत्रका फारमहरू अनलाइनमै आवेदन दिन पाइने प्रावधान मिलाइने बताएका छन्।

यी कागजातहरूसँगै वृद्धभत्ता होम डेलिभरी गरिने र होम डेलिभरीका लागि रोजगारी सिर्जना गर्ने बालेको योजना छ।

यस्तो छ प्रतिबद्धता पत्रको पूर्णपाठ

वैशाख ११, २०७९ आइतबार १०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।