को हुन् बुटवल उपमहानगरको उपप्रमुखमा एमालेको उम्मेदवार सावित्रा ?
बुटवलः अघिल्लो स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट बुटवल उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख दुवैमा पुरुषलाई उम्मेदवार बनाइएको थियो। अहिले पनि पाँच दलीय गठबन्धनले बुटवलमा नगरप्रमुख र उपप्रमुख दुवैमा पुरुष उम्मेदवार नै घोषणा गरेको छ।
यता नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको उपप्रमुखमा सावित्रादेवी अर्याललाई उम्मेदवार सिफारिस गर्यो। राजनीतिक र सामाजिक कार्यमा सक्रिय सावित्रालाई स्थानीय स्तरमा वैचारिक स्पष्टता, अठोट लिने र भद्र नेतृका रूपमा चिनिन्छ।
०३६ सालको आन्दोलनबाट राजनीतिमा होमिएकी सावित्रा एमाले केन्द्रीय सदस्य समेत हुन्। ०४७ सालमा तत्कालीन नेकपा मालेको सदस्यता प्राप्त गरेकी सावित्राले ०४९ सालमा तत्कालीन बुटवल नगरपालिकाको कार्यपालिका सदस्यमा मनोनित भएर पनि काम गरिन्।
०५४ सालको निर्वाचनमा उनी वडा सदस्यमा निर्वाचित भएकी थिइन्। उनै सावित्रा अब २५ वर्षपछि बुटवल उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी छिन्।
उत्कृष्ट सामाजिक कार्य गरेबापत बुटवल महिला जेसिजबाट 'लेडी अफ द एयर २००८' बाट सम्मानित भइसकेकी छिन् सावित्रा।
सावित्राले अक्षर चिन्न नसक्ने वृद्धाहरूका लागि बुटवलमा साधना महिला विद्यालय समेत स्थापना गरेकी छिन्। त्यहाँ अहिले पनि १५० जना वृद्धाहरूले अध्ययन गर्दै आएका छन्। शिक्षाक्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै राष्ट्रपतिबाट शिक्षासेवीको 'जनसेवा श्री चतुर्थ'बाट विभूषित समेत भइसकेकी छिन् उनी।
उनी त्यो विद्यालयकी अध्यक्ष हुन्।
उनी बुटवलमा महिलाहरू मात्रैले स्थापना गरेको रेडियो मुक्तिको पूर्वअध्यक्ष पनि हुन्। रेडियो मुक्ति बुटवल लक्ष्मीनगरमा अहिले पनि सञ्चालनमा छ।
यस्तै रेडियो मदनपोखराको संस्थापक सदस्य र लुम्बिनी टेलिभिजनको संस्थापक सदस्य हुन् उनी।
जीवन-आश्रित स्मृति प्रतिष्ठान र मदन-आश्रित अक्षयकोषकी पनि संस्थापक सदस्य रहेर काम गर्दै आएकी थिइन् उनी।
सावित्राले प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी छिन्। उनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका चीनबहादुर गुरुङसँग प्रतिस्पर्धा गर्नेछिन्। गुरुङ समाजवादीका बुटवल नगर अध्यक्ष हुन्। एमालेबाट समाजवादीमा गएका उनी मजदूर फाँटबाट राजनीतिमा जोडिएका हुन्।
अघिल्लो निर्वाचनमा गठबन्धनका जगत पोखरेललाई १० हजार बढी मतान्तरले पराजित गर्दै उपमेयरमा एमालेकी गोमादेवी आचार्य उपमेयरमा विजयी भएकी थिइन्।
वैशाख ११, २०७९ आइतबार ०८:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।