कर्णाली प्रदेश लोकसेवा आयोगले पहिलो पटक सञ्चालन गर्यो परीक्षा
सुर्खेतः कर्णाली प्रदेश लोकसेवा आयोग सुर्खेतले पहिलोपटक परीक्षा सञ्चालन गरेको छ। आयोगले शनिबार विविध सेवाअन्तर्गत खुला तथा समावेशी सहायकस्तर पाँचौँ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो।
प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ३ बमोजिम गठित आयोगले खोलेको महिला विकास निरीक्षक पदको ५१५–५१६-०७८-०७९ को विज्ञापनअनुसार खुलामा आठ र महिलातर्फ एक गरी नौ कर्मचारी माग गरेको थियो। सो विज्ञापनअनुसार शनिबार दुई हजार १९७ जना परीक्षामा सहभागी भएका आयोगका सचिव भूपेन्द्र थापाले बताए।
थापाका अनुसार प्रदेश निजामती तथा स्थानीय सेवाअन्तर्गत भएको परीक्षा सञ्चालनका लागि ११ परीक्षा केन्द्र व्यवस्था गरिएको थियो।तीमध्ये ११ केन्द्राध्यक्ष, ८७ सहायक केन्द्राध्यक्ष र ११९ निरीक्षक परिचालन गरिएको उनले बताए।
आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले आफ्नै सरकारअन्तर्गत गठित प्रदेश लोकसेवा आयोगले सञ्चालन गरेको परीक्षाले परीक्षार्थीहरूलाई सङ्घीयताको अनुभूति गराएको बताए।
वैशाख ११, २०७९ आइतबार ०७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।