एमालेबाट बुटवल उपमहानगरको मेयरमा बाबुराम भट्टराई, उपमेयरमा सावित्रा अर्याल उम्मेदवार
बुटवल : एमालेले बुटवल उपमहानगरपालिकाको मेयरमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रा अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
पार्टीको पूर्वकेन्द्रीय स्वास्थ्य विभाग सदस्य रहेका भटराईलाई नगर प्रमुख र पार्टी केन्द्रीय सदस्य सावित्रा अर्याललाई उप प्रमुखमा उठाउने पार्टीको प्रदेश कमिटी बैठकले निर्णय गरेको थियो।
को हुन् भट्टराई ?
अघिल्लो निर्वाचनमा पनि मेयरको दौडमा रहेको भट्टराईले आफू १३ वर्षको हुँदादेखि नै राजनीतिप्रति चासो राख्न थालेका थिए। पार्टीका नेताहरू भूमिगत कालमा उनी बसेकै भाडाको घरमा आउने जाने क्रम चल्दा उनमा पार्टीमा काम गर्ने इच्छा बढ्दै गयो। फलस्वरूप २०३६ सालदेखि उनी कम्युनिस्ट पार्टीमा आबद्ध भए। लामो समय उनले व्यवसायीक क्षेत्रमा रहेर काम गरे भने पार्टीको जिल्ला कमिटी हुँदै हाल प्रदेश कमिटी सदस्य रहेका छन। नेपाल औषधि व्यवसायी संघका पूर्वराष्ट्रिय अध्यक्ष भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरे।
२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका भट्टराई २०६२–६३ सालको आन्दोलनमा आकस्मिक राहत कोषका संयोजक थिए। त्यति बेला संकलन गरिएको रकममध्ये बचत रकम केही समयअघि बुटवलको कोरोना अस्पताललाई प्रदान गरिएको थियो। त्यस्तै उनले बुद्धिजीवी परिषदमा रहेर पनि काम गरे। भट्टराई ३५ वर्षको उमरमै औषधि व्यवसायी संघको लुम्बिनी प्रदेश अध्यक्ष बनेका थिए।
पार्टीमा धेरैले उनलाई बौद्धिक व्यक्तित्व भनेर चिन्ने गर्छन्। सबैसँग सन्तुलित व्यवहार गर्ने भएकाले विपक्षीको मत तान्न सक्ने क्षमता पनि भट्टराईमा रहेको पार्टीका कतिपय नेताहरू बताउँछन्।
वैशाख १०, २०७९ शनिबार २२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।