वीरेन्द्रनगरमा एमाले र माओवादीले उम्मेदवार टुंग्याए, समाजवादी र कांग्रेसमा लफडा

वीरेन्द्रनगरमा एमाले र माओवादीले उम्मेदवार टुंग्याए, समाजवादी र कांग्रेसमा लफडा

सुर्खेत : कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा सत्तारुढ गठबन्धन दलबीच सहमति हुन सकेको छैन। वार्ता र छलफलका लागि जिल्ला तथा प्रदेशमा रहेका गठबन्धनका शिर्ष नेतृत्वहरुले चलाएको पटक–पटको छलफलबाट निष्कर्ष आउन सकेको छैन।

सत्तारुढ गठबन्धनभित्रैका दलहरुले आ–आफ्नो पार्टीभित्रकै उम्मेदवारहरू छनोट गर्न थालेका छन्। नेकपा माओवादी केन्द्रले वीरेन्द्रनगरको नेतृत्व टुंग्याएको छ। नेकपा समाजवादीले पनि वीरेन्द्रनगरको नेतृत्वका लागि ७ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ।

समाजवादीले मेयरमा खगेन्द्र प्रसाद पोखरेल, सुरेन्द्र बिसी, धना जिसीलाई सिफारिस गरेको हो। यस्तै उपमेयरमा मनिष गहतराज, बिर बहादुर भोटे, राम कुमार दर्लामी र नन्दा रेग्मीलाई प्रदेश कमिटीमा सिफारिस गरेको छ। सत्तारुढ गठबन्धनभित्रकै ठुलो दल नेपाली कांग्रेसले भने अहिलेसम्म उम्मेदवारको टुंगो लगाउन सकेको छैन।

पार्टीभित्र उम्मेदवारका लागि धेरै आकांक्षीहरु हुँदा कांग्रेसलाई उम्मेदवार छनोटमा सकस देखिएको हो। कांग्रेसमा उम्मेदवार छनोट मात्रै होइन संस्थापन इतर समूह (शेखर कोइराला) समूहले आफ्नो टिमलाई ४० प्रतिशत भाग नदिए निर्वाचनमा नजाने चेतावनी समेत दिएको छ। स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटका लागि कांग्रेसले सुर्खेतका कतिपय स्थानहरूमा आन्तरिक निर्वाचन समेत गरेको छ।

वीरेन्द्रनगरको मेयर सिफारिस भएका इतर समूहका नेता नारायण कोइराला र भुपेन्द्र केसीले समेत सिफारिस फिर्ता लिएका छन्। स्रोतका अनुसार उनीहरूले मेयरमा आकांक्षा देखाएर सिफारिस गरिए पनि समूहको माथिल्लो नेतृत्वबाट दबाब आउँदा उनीहरूले आफ्नो नाम फिर्ता लिएका हुन्।

‘उहाँहरू दुवै जनाले पहिला मेयरमा आकांक्षा देखाएपछि नगर कार्यसमितिबाट सिफारिस गयो। पछि हाम्रो समूहले वडादेखि गाउँ–नगरसम्म ४० प्रतिशत नपाए चुनावमा सहभागी नहुने निर्देशन आएपछि उहाँहरूले आफ्नो नाम फिर्ता लिनुभएको हो,’नाम नबताउने सर्तमा इतर समूहका एक नेताले उकेरासँग भने।

ती नेताका अनुसार उनीहरूले कांग्रेस क्षेत्रीय कार्यसमिति सुर्खेत क्षेत्र नं. २ लाई लिखित निवेदन दिएर नै उम्मेदवारी फिर्ता लिएका छन् । सुर्खेत जिल्लाभर रहेका वडा तहदेखि पालिकासम्म संस्थापन इतर समूहलाई सम्मानजनक ४० प्रतिशत उम्मेदवारी नहुँदासम्म आफूहरूको एकल उम्मेदवारीको अर्थ नहुने भन्दै कोइराला र केसीले उम्मेदवारी फिर्ता लिएको निवेदन मार्फत उल्लेख गरेका छन्।

शुक्रबार वीरेन्द्रनगर नगर कार्य समितिले सभापति उपेन्द्र खड्का सहित हरि विष्ट र चाँदनी ढकालको नाम सिफारिस गरेको थियो । नगर कार्यसमितिले तीन जनाको मात्रै नाम सिफारिस गरेपछि प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमितिले रायसहित गोविन्द कोइराला, नारायण सापकोटा, नारायण कोइराला र भूपेन्द्र खत्रीको नाम थपेको थियो।

एमालेबाट ढकाल र खनाल
नेकपा (एमाले)ले वीरेन्द्रनगर नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ। शनिबार बसेको प्रदेश कमिटी बैठकले मेयरमा मोहनमाया ढकाल र उप–मेयरमा नीलकण्ठ खनाललाई उम्मेदवार बनाएको हो। एमालेको दुई दिनसम्म बसेको प्रदेश टिकट समन्वय समिति बैठकले नगरको मेयरमा ढकाल र उप–मेयरमा खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

यस्तै, ढकाल हालको वीरेन्द्रनगर नगरपालिकाको उप–मेयर हुन् भने उप–मेयरका उम्मेदवार खनाल वीरेन्द्रनगर वडा नम्बर ४ का अध्यक्ष समेत हुन्। नेकपा एमालेको वीरेन्द्रनगर नगरप्रमुख बन्नका लागि एमाले जिल्ला कमिटी अध्यक्ष अमृत बिसी, उपाध्यक्ष कुलमणि देवकोटा, नगर कमिटी अध्यक्ष नीलकण्ठ खनाल, एमाले नेता हरिहरनाथ योगी लगायतको पनि दाबी गरेका थिए।

माओवादीबाट गिरी
नेकपा माओवादी केन्द्रले पनि वीरेन्द्रनगरको मेयरको उम्मेदवार टुंगो लगाएको छ । शनिवार नेकपा माओवादी केन्द्र सुर्खेतले वीरेन्द्रनगर नगरप्रमुखका लागि राजेन्द्र गिरीलाई सर्वसम्मत उम्मेदवार चयन गरेको हो।

गठबन्धनमा सहमति जुट्ने सम्भावना नभएपछि माओवादीले एक्लै चुनावमा भिड्ने निर्णय गरेको हो। यद्यपि उपप्रमुखका लागि भने हरिमाया शर्मा, रत्न गाहा मगर, शान्ति ढकाल र गीता तिमिल्सेनाले दाबी गरेका छ। माओवादीले नगरप्रमुख सहित अन्य उम्मेदवारको टुंगो लगाउन प्रदेश कमिटीमा सिफारिस गरेको छ।
 

वैशाख १०, २०७९ शनिबार २१:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।