तिलोत्तमा नगरपालिकाद्वारा उत्कृष्ट उद्यमी मञ्जु भुषाल पुरस्कृत
बुटवल : तिलोत्तमा नगरपालिकामा जारी दायित्व परियोजनाको ‘नगर प्रमुख दायित्व ग्रामीण उद्यम द्रुतीकरण कार्यक्रम’ बाट उत्कृष्ट उद्यमीको रूपमा मञ्जु भुषाल पुरस्कृत भएकी छिन्।
१ सय २५ जना उद्यमीहरूबाट उत्कृष्टता स्थान प्राप्त गर्दै नव दुर्गा फुड ईण्डष्ट्रिज उद्योगका सञ्चालक भुषाल १ लाख नगद रुपैयाँ सहित पुरस्कृत भएकी हुन्। दायित्वको आयोजनामा शनिवार भएको अन्तीम प्रतिस्पर्धामा निर्णायकको निर्णय, भोट तथा कार्ययोजना, सर्घष लगायतका विषयबस्तुबाट उनी उत्कृष्ट ठहरिएर पुरस्कार जित्न सफल भएकी हुन्।
ड्राई चाउमिन, सफ्ट चाउमिनको साथै चिकेन, भेज फ्रोजन मःम समेत उत्पादन गर्दै आएकी भुषाल आफै उद्योगी र मजदुरको रूपमा काम गर्दै आएकी थिइन्। उनले सुरुवात गरेको उद्योग महिलाहरूको लागि समेत नमुना उद्योग भएको कारण पनि उनलाई पुरस्कृत गरिएको हो।
दायित्व परियोजना प्रदेश संयोजक कमल थापाका अनुसार १ सय २५ जना बाट १० जना उत्कृष्ट उद्यमी छनौट गरिएको थियो। जसको प्रस्तुतीकरण, कार्य योजना सहित भावी उद्देश्य, हाल गर्दै आएको कार्य बारेमा आ–आफ्नो प्रस्तुति दिएका थिए। सोही अनुसार विषय विशेषज्ञको मूल्याङ्कन बाट भुषाल उत्कृष्ट चयन भएकी हुन्। उनी संगै उत्कृष्ट १० मा कर्णमायापुन, चक्र बहादुर खत्री, कमला कुवर केसी, गणेश पोखरेल, गुरु प्रसाद पंगेनी, दिलिप कुमार पुन, केशरी त्रामु मगर, सुमित्रा थापा दगामी, कर्ण बहादुर विक छनौटमा परेका थिए।
उत्कृष्ट सहित उत्कृष्ट १०मा पर्न सफल भएका उद्यमीहरुलाई नगर पालिका प्रमुख बासुदेव घिमिरे सहितका अतिथिहरूले पुरस्कार प्रदान गरेका हुन्। कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, वडा १४ का अध्यक्ष श्याम चौधरी, कृषि विकास बैंक मंगलबार बरिष्ठ अधिकृत प्रमुख उषा राना, सामुहिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत देवराज ज्ञवाली, न्यु ईन्भाईरमेन्ट स्कुलका प्राचार्य मधुसुदन ज्ञवाली लगायतको उपस्थिति रहेको थियो।
नेपाल बैङ्क लिमिटेड प्रदेश कार्यालय बुटवलका प्रमुख लेखनाथ भुषाल, कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, सेटिनका प्रशिक्षण डम्बर पुन, तिलोत्तमा नगरपालिका कृषि शाखा प्रमुख डोमलाल भुषाल, एआईविआई सिनियर प्रोग्राम अफिसर मुकुन्द्र ज्ञवाली लगायतले निर्णायकको भुमिका निर्वाह गरेका थिए।
वैशाख १०, २०७९ शनिबार २०:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।