विदेशबाट फर्केका १५ सय युवालाई स्वदेशमै स्वरोजगारको अवसर प्रदान गरिने

विदेशबाट फर्केका १५ सय युवालाई स्वदेशमै स्वरोजगारको अवसर प्रदान गरिने

बुटवल : विदेशबाट फर्केका १५ सय युवालाई स्वदेशमै स्वरोजगारको अवसर प्रदान गरिने भएको छ। मधेस र लुम्बिनी प्रदेशका विदेशबाट फर्किएका युवाहरूलाई सीपमूलक तालीम दिएर स्वरोजगार  र उद्यमी बनाइने भएको हो।

शिक्षा पत्रकार समूह द्वारा बुटवलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा यसबारे जानकारी गराइएको हो। कार्यक्रममा शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्रालयका सह सचिव डा. हरी लम्सालले युवालाई स्वदेशमै स्वरोजगार बनाउने कार्यक्रम सुरु हुन लागेकाले सबैको सहयोग भएमा कार्यक्रमको उपलब्धि प्राप्त गर्न सकिने बताए। उनले व्यक्तिको छनोट तालिमको गुणस्तर, सिप सिकेपछि के गर्ने भन्ने प्रश्न अहिले उठे पनि यसलाई कुनै विधिबाट टुंगाएर कार्यक्रमलाई प्रभावकारी र कार्यान्वयन गर्ने बताए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा यूएनडीपीले ब्रिटिश काउन्सीलद्वारा व्यवस्थित दक्षता परियोजनाको सहयोग र यूरोपियन युनियनको आर्थिक सहयोगमा यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। सिटिइभिटीका निर्देशक दिपक प्रसाद पौडेलले युवाहरूलाई सीपयुक्त तालीम प्रदान गर्दा सबै क्षेत्रलाई समेट्न आवश्यक रहेको बताए। १५ सयलाई दिने सीपयुक्त तालिम हेरेर सिटिइभिटीले पाठ्यक्रम बनाउन तयार रहेको उनको भनाइ थियो। 

रिटर्निङ माइग्रेट नेपालका उपाध्यक्ष सीता बस्यालले रिटनिङ माइग्रेटले नवलपरासीमा चिस्यान केन्द्र, प्रदेश स्तरीय एग्रो मार्ट सातै प्रदेशमा बनाउने काम भइरहेको जानकारी गराइन्। यूएनडीपीका राष्ट्रिय कार्यक्रम प्रबन्धक डा. मुकुन्दमणि खनालले ५ लाख ७२ हजार नेपाली कामदार कोभिडका कारण नेपाल फर्किएका भन्दै उनीहरूलाई सीप र तालीम प्रदान गर्न सके स्वदेशमै स्वरोजगार र उद्यमी बनाउन सकिने बताए।

विदेशमा सिकेको सीपलाई केही मात्रामा भए पनि उपयोग गर्न सके देशमा उत्पादन बढाउन सकिने भन्दै फर्निचर, डकर्मी, कूक, बाख्रापालन, वेटर, च्याउ र तरकारी खेती क्षेत्रमा कामदारको माग बढी रहेको उनले बताए। त्यसैले दुई प्रदेशका विदेशबाट फर्किएका १५ सय युवालाई रोजगारमूलक सीपयुक्त तालीम दिन लागिएको उनले बताए। कार्यक्रमले सिपको मापन गरी पाठ्यक्रम बनाई रोजगारीका अवसर सुनिश्चित गर्ने उनको भनाइ थियो। 

कृषि, निर्माण र पर्यटनलाई प्राथमिकतामा राखेर तालिमका प्याकेज बनाइएको उनले बताए। कोभिडको कारण रोजगार गुमाएकाहरूलाई रोजगारमा जोड्ने कार्यक्रमको लक्ष्य रहेको यो कार्यक्रममा रोजगारी गुमाएका, १८ वर्ष पूरा भएको, मधेश र लुम्बिनी प्रदेशमा यो कार्यक्रम लागू हुनेछ। अहिले तथ्यांक संकलन भइरहेको र हालसम्म लुम्बिनीमा ५ सय र मधेशमा ३ सय जनाको तथ्याङ्क संकलन भइसकेको छ। कार्यक्रममा शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्लले शिक्षासँगै सिप जोडिनु पर्नेमा जोड दिए। 

वैशाख १०, २०७९ शनिबार १८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।