रुपन्देहीमा खुल्यो लुम्बिनी वल्र्ड स्कूल

रुपन्देहीमा खुल्यो लुम्बिनी वल्र्ड स्कूल

बुटवल : रूपन्देहीको तिलोत्तमा १३ मधवलियामा लुम्बिनी वल्ड स्कुल संचालनमा आएको छ। ११ जना व्यवसायी तथा शैक्षिक व्यक्तिहरुको संयुक्त लगानीमा सो स्कुल संचालनमा ल्याइएको हो।

७० करोडको लगानीमा स्कुल संचालनमा ल्याइएको अध्यक्ष योगेश घिमिरेले बताए। साढे ३ बिगाहा जग्गासहितको संरचनामा सो स्कुलको मूल भवन भने निर्माणको चरणमै रहेको छ।

पढाई सहित संस्कार सिकाउँदै स्कुललाई ब्राण्डिङ गर्दै नम्बर वान बनाउने लक्ष्य सहित स्कुल सञ्चालनमा ल्याएको उनले बताए। स्कुलमा स्विमिङ, बास्केटबल, भलिवल, फुटसल लगायतका खेल खेल्न मिल्ने मैदान समेत तयार पारिएको छ। 

अन्तर्राष्ट्रिय बजारमा पुगेर दक्षता हासिल गरेर फर्किएका शिक्षक–शिक्षिकाहरूले अध्ययन अध्यापन गराउने सो स्कुल यसक्षेत्रकै नमुना बन्ने उनको दाबि गरे। विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षा दिने र एउटा कक्षामा जम्मा २० जना मात्र राखेर अध्ययन गराइने स्कुलका प्राचार्य विष्णु प्रसाद ढकालले बताए। 

अहिले १ देखि ८ कक्षा सम्म पठन पाठन हुने र अर्को वर्ष देखि मन्टेश्वरी पनि स्कुलमा अध्ययन हुने उनले बताए। डिजिटल कक्षाकोठा, प्रयोगात्मक शिक्षा, कार्य योजना अनुसार सिकाई, एउटा कक्षामा २ वटा शिक्षक राखेर विद्यार्थीहरूलाई अध्ययन गराइने उनले बताए।

विद्यार्थीहरू साढे ८ बजे विद्यालय आउने र साँझ ६ बजे सम्म स्कुलमा रहनेछन्। विद्यार्थीहरूले घरमा जाँदा पाठ्यपुस्तक लैजान नपर्ने विद्यालयका सहायक प्राचार्य रमेशमणी सुवेदीले बताए। 

क्वान्टिटि भन्दा पनि क्वालिटीमा प्रतिस्पर्धा गर्ने गरी स्कुल संचालनमा ल्याइएको उनले बताए। कक्षा १ देखि ४ सम्म  अध्ययन गर्ने विद्यार्थीहरूका लागि मासिक शुल्क २३ हजार र ५ देखि ८ कक्षा सम्मको मासिक शुल्क २८ हजार रहेको स्कुलका अर्का सहायक प्राचार्य ललिता शर्माले बताइन्। 
 

वैशाख १०, २०७९ शनिबार १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।