गण्डकी प्रदेशका ८५ मध्ये २९ पालिकामा टुंगिए एमालेका उम्मेदवार
पोखरा : एमालेले गण्डकी प्रदेशका ८५ मध्ये २९ पालिकामा मात्र उम्मेदवारहरुको टुंगो लगाएको छ। पालिकाको प्रमुख र उपप्रमुख बन्नका लागि आकांक्षीहरु धेरै देखिएपछि टुंगो लगाउन पार्टीमा निकै रस्साकस्सी चलेको छ।
गण्डकी प्रदेशमा एमालेका केन्द्रीय उपमहासचिव पृथ्बीसुब्बा गुरुङ, सचिब पदमा अर्याल र संगठन विभाग प्रमुख खगराज अधिकारीले केही पालिकाहरुमा आपूm निकटका आकांक्षीलाई उम्मेदवार बनाउन चाहेकाले पार्टी भित्रपनि रस्साकस्सी चलिरहेको छ।
पोखरा महानगरको मेयरका १२ जना आकांक्षीहरुको नाम केन्द्रमा पठाइएको छ। एमालेबाट महानगरको मेयर बन्न प्रदेशसभा सदस्य कृष्ण बहादुर थापा, राजिब पहारी लगायत बाह्र जनाले आकांक्षा देखाएका छन्।
प्रदेश सांसदबाट राजीनामा दिएर पोखराको मेयर बन्न इच्छा देखाएका नेता खगराज निकटका थापा र पहारीलाई रोक्न उपमहासचिव गुरुले गण्डकी प्रदेश सरकार ढल्ने सम्भावना रहेको बताउँदै एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै सांसद द्वयलाई रोक्ने प्रयास गरेका छन्।
प्रदेशका विभिन्न पालिका प्रमुख र उपप्रमुखको सिफारिस पनि केन्द्रीय तहका तीनै नेताको स्वार्थका कारण उम्मेदवार छनौंट हुन सकेका छैनन्। स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन वैशाख ११ र १२ गते हुने भए पनि नेताहरूको स्वार्थका कारण प्रदेशका पालिकाको प्रमुख, उपप्रमुखको टुङ्गो लाग्न सकेको थिएन। तर, मनोनयनको समय नजिकिएसँगै निकै रस्साकस्सीबीच गण्डकीका २९ स्थानीय तहका लागि पालिका प्रमुख र उपप्रमुखको टुङ्गो लागेको छ। अन्य महानगर, नगरपालिका र गाउँपालिकाका लागि उम्मेदवार टुंग्याउन बाँकी छ।
पहिलो चरणमा गण्डकीका विभिन्न जिल्लाका २९ पालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको टुंगो लगाएको गण्डकी प्रदेश सचिव धन्नजय दवाडीले जानकारी दिए।
सचिब दवाडीका अनुसार मुस्ताङ जिल्ला बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका अध्यक्षमा रिञ्जिङ गुरुङ, उपाध्यक्षमा दिकी गुरुङ, लो घ्यागर गाउँपालिकाको अध्यक्षमा लोप्साङ छेप्पेल विष्ट राजु, उपाध्यक्षमा छिरिङ ल्ह्यामो गुरुङ, लोमाङन्थाङ गाउँपालिका अध्यक्षमा टसीनुर्वु गुरुङ, उपाध्यक्षमा छिमि विष्ट गुरुङ, थासाङ गाउँपालिका अध्यक्षमा प्रदीप गौचन, उपाध्यक्षमा सुमिता शेर्पा, घरपजोङ गाउँपालिकाको अध्यक्षमा सञ्जय कुमार थकाली, उपाध्यक्षमा मिम कुमारी शेरचनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
त्यसै गरी मनाङको चामे गाउँपालिका अध्यक्षमा लोकेन्द्र घले उपाध्यक्ष आशकुमारी गुरुङ, नासों गाउँपालिका अध्यक्ष मन बहादुर गुरुङ, उपाध्यक्ष अर्विन गुरुङ (स्वतन्त्र) नार्पा भूमि गाउँपालिका अध्यक्ष ज्याप्ले गुरुङ,निस्याङ गाउँपालिका अध्यक्षमा कान्छा घले उपाध्यक्षमा, छिरिङ धावा गुरुङ सिफारिस भएका छन् । मनाङमा चार वटा मात्र पालिका रहेका छन्।
त्यसै गरी लमजुङको क्वोंलासोंथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, गोरखाको अजिरकोट गाउँपालिका अध्यक्ष शेखरनाथ न्यौपाने, चुमनुब्री गाउँपालिका अध्यक्षमा सुक बहादुर गुरुङ, उपाध्यक्ष सानु गुरुङलाइ उम्मेदवार बनाउने निर्णय भएको छ। लमजङमा चार नगरपालिका र चार गाउँपालिका सहित आठ पालिका रहेका छन्। अन्य पालिकाका उम्मेदवारको भने टुङ्गो लागेको छैन।
स्याङ्जाको आँधिखोला गाउँपालिका अध्यक्ष विश्व पौडेल,उपाध्यक्ष सीता थापा,वालिङ नगरपालिका प्रमुख कृष्ण बहादुर खाँड, उपप्रमुख खगीसरा थापा मगर, हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरको मात्र नाम टुंगिएको छ। स्याङजामा ११ वटा पालिकामध्ये पाँच वटा नगरपालिका र छ वटा गाउँपालिका रहेका छन् । स्याङजाका अन्य पालिकामा उम्मेदवारको टुङ्गो लागेको छैन।
यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका अध्यक्षमा ऋषि केसीको मात्र नाम सिफारिस गरिएको छ। तनहँुमा दश वटा पालिका रहेका छन्। दश पालिका मध्ये एउटा पालिकाको अध्यक्षको मात्र नाममा सहमति भएको छ भने अन्यपालिकामा सहमति भएको छैन।
कास्कीमा एउटा महानगरपालिका सहित पाँच वटा पालिका रहेकामा एउटा पालिकामा मात्र टुङ्गो लागेको छ। कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझा र उपाध्यक्ष लालसुब्बा गुरुङको नाम सिफारिस भएको छ।
म्याग्दीमा अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरत कुमार पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा, रघु गंगा गाउँपालिका अध्यक्ष प्रेम बहादुर कार्की, उपाध्यक्ष यामकुमारी गर्बुजा, मालिका गाउँपालिका अध्यक्ष वेगप्रसाद गर्बुजा, मंगला गाउँपालिकाको, अध्यक्षमा सतप्रसाद रोका उम्मेदवार बन्ने भएका छन्।
नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्ष चेतन राना, उपाध्यक्ष मनी पाण्डे, मध्यबिन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीको मात्र नाम टुङ्गो लागेको छ। नवलपुरमा चार नगरपालिका र चार गाउँपालिका सहित आठ पालिका रहेका छन्।
पर्वतको पैयुँ गाउँपालिका अध्यक्ष महेन्द्र श्रेष्ठ र उपाध्यक्ष यमकुमारी रानाको नाम टुंगो लागेको छ। सात पालिका रहको पर्वतमा अन्य छ पालिका अध्यक्ष र उपाध्यक्ष भने टुङ्गिएका छैनन्। त्यसै गरी बाग्लुङका तमानखोला गाउँपालिका अध्यक्ष देवेन्द्र छन्त्याल,उपाध्यक्ष टेकमति बिक,ढोरपाटन नगरपालिका प्रमुख देव बहादुर नेपाली, ताराखोला गाउँपालिका अध्यक्ष ऋषिराम रोका, उपाध्यक्षमा थममाया घर्ती, गलकोट नगरपालिका प्रमुख पूर्ण काउचा, उपप्रमुख रुपा बिक, जैमिनि नगरपालिका प्रमुखमा लिला राना, उपाध्यक्ष यमुना शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बागलुङमा दश पालिका रहेका छन् । अन्यमा उम्मेदवारको टुंगिएको छैन।
वैशाख १०, २०७९ शनिबार १७:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।