कर्णालीमा गठबन्धन दलबीच भागबण्डा नमिल्दा छलफल लम्बियो
सुर्खेत : कर्णाली प्रदेशमा गठबन्धन दलहरुबीच भागबण्डा नमिल्दा छलफल लम्बिएको छ। भागबण्डा गर्ने विषयमा भएको कर्णाली प्रदेशका सत्ता गठबन्धन दलका नेताहरुबीच शुक्रबार मध्यरातसम्म सहमतिको लागि छलफल गरिएपनि बिना निष्कर्ष नै छलफल टुंगियो।
प्रदेशका ७९ पालिकामध्ये गठबन्धनमा भएका कुन दलले कुन पालिकाको नेतृत्व लिने भन्ने विषयमा विषेशगरी माओवादी समाजवादी र कांग्रेसबीच कुरा नमिल्दा छलफलको टुंगो लाग्न सकेको छैन्। गठबन्धन दलकाबीचमा बिहीबारदेखि सहमतिको प्रयास गरेपनि छलफल निष्कर्षविहीन बनेको छलफलमा सहभागी माओवादीकी कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले बताइन्।
उनका अनुसार अहिले पनि सहमतिका लागि गठबन्धन दलहरुबीच छलफल चलिरहेको छ। भागबण्डा नमिले एक्ला–एक्लै निर्वाचन लड्ने गरी गठबन्धनदलहरुबीच नै आन्तरिक तयारी समेत चलेको छ। कांग्रेस, माओवादी र समाजवादीले हरेक स्थानीय तहमा आ–आफ्नो उम्मेदवार छनोट र सिफारिस समेत गरेका छन्।
भोलिदेखि स्थानीय तहका उम्मेदवारको मनोनयन दर्ताको काम सुरू हुनेछ। कर्णालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र, समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दल छन्। कर्णाली प्रदेशमा सत्तारूढ दलहरु भागबण्डामै अल्झिरहेका बेला नेकपा एमालेले भने ७० भन्दा बढी पालिका र वडामा आफ्ना उम्मेदवार टुंगो लगाइसकेको छ।
वैशाख १०, २०७९ शनिबार १४:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।