झाँक्रीकै गृहजिल्लामा समाजवादीले पाएन पालिका प्रमुख, माओवादी-कांग्रेसबीच पनि बढ्यो असन्तुष्टि
बुटवलः एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको गृहजिल्ला हो गुल्मी। त्यही गुल्मीमा झाँक्रीको पार्टी भने स्थानीय तहको निर्वाचनमा गठबन्धनको 'साक्षी' मात्र हुने भएको छ।
गुल्मीका कुल १२ पालिकामध्ये कुनै पनि पालिका समाजवादीले पालिका प्रमुख नपाउने भएको छ। गठबन्धनबीच केन्द्रमा भएको सहमतिमा एमालेले जितेका पालिकामा एकीकृत समाजवादी प्रमुख दावेदार हुने भनिए पनि गुल्मीमा भने पालिका प्रमुखमा एकीकृत समाजवादी ‘निल’ भएको छ।
०७४ सालको निर्वाचनमा कांग्रेस र माओेवादीबीच गठबन्धन रहेकै अवस्थामा एमालेले ७ वटा पालिकामा प्रमुख र ९ पालिकामा उपप्रमुख जितेको थियो। गठबन्धनको सहमतिअनुसार एमालेले जितेका ७ पालिकामा एकीकृत समाजवादीको दावेदारी थियो। तर एउटा पनि पालिकामा प्रमुख पद पाएन।
नेतृ झाँक्री एमाले सचिव गोकर्ण विष्टसँग आगामी निर्वाचनमा गुल्मी क्षेत्र नं. २ मा प्रतिस्पर्धा गरेर विजयी हुने बताउँदै आएकी छिन्। तर पालिका प्रमुखमा पनि गठबन्धनले नपत्याउँदा उनको घरातल कमजोर रहेको विश्लेषण पनि गर्न थालिएको छ।
एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नरेश भण्डारीले जिल्लाका सबै पालिकामा सहमति गर्दा उपप्रमुखमा सहमति भएको बताए।
उनले पालिका अध्यक्ष नपाउँदैमा समाजवादी गुल्मीमा कमजोर नभएको भन्दै सम्मानजनक ७० वटा पदमा उम्मेदवारी दिने बताए। त्यसबाहेक १२ कार्यपालिका सदस्य समाजवादीले पाउने गरी सहमति गरेको उनले बताए।
‘जिल्लामा सहमति गर्दा उपप्रमुख पाएका हौँ। हामी कमजोर छैनौं। प्रमुख नपाउनुको अर्थ समाजवादी पार्टी गुल्मीमा कमजोर छ भनेको होइन। बलियो छ’, उनले भने।
उनका अनुसार समाजवादीले तीन पालिकामा दावी गरेकोमा मदाने र धुर्कोट भागमा परेको छ। मुसिकोट नगरपालिकाको उपप्रमुखमा अझै सहमति हुन नसकेको उनले बताए।
भागबण्डा मालिकामा टुंगियो, अन्यत्र सकस
१२ पालिकामध्ये चारमा माओवादी, आठमा कांग्रेसले नेतृत्त्व गर्नेगरी सहमतिको प्रयास भइरहेको छ। मालिका गाउँपालिकामा मात्र सबै वडा तहसम्म भागबण्डा मिलेको छ।
गठबन्धनबाट माओवादीका नेता देविराम अर्याललाई अध्यक्षमा उम्मेदवारी दिने सहमति भएको छ। नेपाली कांग्रेसबाट उपाध्यक्षमा उपेन्द्र अर्यालले उम्मेदवारी दिने भएका छन्।
त्यस्तै माओवादीले दुई वटा वडा र कांग्रेसले उपाध्यक्षसहित ६ वडा लिने सहमति भएको छ। माओवादीले वडा नं. ३ ह्वाङदी, वडा नं ८ मर्भुङग र कांग्रेसले वडा नं. १ नेटा, २ दर्लिङ, वडा नंं ४ अर्खावाङ, वडा नंं ५ छापहिले, वडा नं. ६ अर्जै र वडा नंं ७ घमिरबाट उम्मेदवारी दिने निर्णय भएको छ।
त्यहाँ समाजवादीलाई दुई वटा सदस्य दिने सहमति भएको बताइएको छ।
यता माओवादीको भागमा मालिकासँगै रुरु क्षेत्र, धुर्कोट र चन्द्रकोट दिने गरी सहमतिको प्रयास भइरहेको नेताहरूले बताएका छन्।
धुर्कोटमा कांग्रेसले उम्मेदवार सिफारिस गरेपछि विवाद बढेको छ। कांग्रेसले मदाने दिनसकिने तर धुर्कोट दिन नसकिने बताउँदै आएको छ।
यसअघिको गठबन्धनमा पनि धुर्कोट माओवादीको भागमा परेको थियो। त्यहाँबाट भूपाल पोखरेल विजयी भएका थिए। धुर्कोटमा यस पटक उनी दोहोरिने भएका छन्। हिजो मात्रै उनले गाउँपालिका अध्यक्षबाट राजीनामा दिइसकेका छन्।
कांग्रेसले मुसिकोट नगरपालिका, रेसुङ्गा नगरपालिकाका, ईस्मा, गुल्मी दरबार, छत्रकोट, सत्यवती, मदाने, कालिगण्डकी पाउने गरी सहमतिको प्रयास भइरहेको छ।
माओवादी असन्तुष्ट
धुर्कोट गाउँपालिकामा भूपाल पोखरेललाई नै दोहोर्याउने निर्णय माओवादीले गरे पनि कांग्रेसले अध्यक्षमा उम्मेदवार सिफारिस गरेपछि विवाद बढेको छ। कांग्रेसले धुर्कोटबाट अध्यक्षमा महेन्द्र भण्डारीको नाम सर्वसहमतिले सिफारिस गरेपछि विवाद बढेको हो।
आउँदो निर्वाचनका लागि धुर्कोटमा अध्यक्षमा उम्मेदवारी दिन भूपाल पोखरेलले हिजै राजीनामा दिइसकेका छन्। धुर्कोटमा मात्र होइन, ईस्मा गाउँपालिकाका माओवादी कार्यकर्ताहरू पनि गठबन्धनसँग रुष्ट भएका छन्।
कांग्रेसले ईस्मा गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै पद लिनेगरी सहमति गर्न थालेपछि माओवादीका स्थानीय कार्यकर्ता असन्तुष्ट देखिएका हुन्।
वडामा समेत माओवादीलाई बाइपास गर्न लागेको माओवादी ईस्मा गाउँ कमिटी अध्यक्ष वसन्त सुनारले बताए।
वैशाख १०, २०७९ शनिबार ११:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।