फिल्ममा महिलाको शरीर 'बिकाउ' वस्तु मात्रै
सिनेमा हलको पर्दामा मात्र प्रदर्शन हुँदाभन्दा टेलिभिजनमा प्रदर्शन हुँदा फिल्मको दायरा निकै फराकिलो भयो। भारतीय टेलिभिजन च्यानलहरूलाई कन्टेन्ट चाहियो। दक्षिण भारतीय फिल्म हिन्दीमा डब हुन थाल्यो।
त्यसैको परिणाम हो- आज बलिउडका उत्पादन दक्षिण भारतीय फिल्म अगाडि निरीह हुँदै जानु।
इन्टरनेटको पहुँचले विस्तारै फिल्मको भौगोलिक र राजनीतिक सिमाना नै मेटिदियो। जसले जहाँ, जतिबेला पनि हेर्न पाउने भए।
टेलिभिजनमा विज्ञापन कहिले सकिएला भनेर कुर्ने दर्शकले इन्टरनेटमा आफूलाई मन लागेको सिन दोहोर्याइ तेहेर्याइ हेर्न पाए। मन नलागेको सिन फर्वार्ड गर्न पाए।
युट्युब र अन्य स्ट्रिमिङ वेबसाइटकै कारण नेपालमा पनि दक्षिण भारतीय फिल्मको बजार नेपाली फिल्म नै अत्याउनेगरी विकास भयो।
यसैको उदाहरण हो- पुष्पा, आरआरआर र केजीएफ च्याप्टर २ को प्रभाव।
नेपालमा करिब सात करोडको कारोबार गर्यो पुष्पाले। आरआरआरको व्यापारले १८ करोड पार गर्यो। केजीएफ च्याप्टर २ पहिलो सातामै १० करोड आसपास पुगिसक्यो।
दक्षिण भारतीय फिल्मको अगाडि नेपाली फिल्म निरीह भयो। लगानी उठाउन हम्मेहम्मे भए पनि इज्जत जोगाउन यति करोड र उति करोड व्यापार भयो भन्दै चित्त बुझाउन बाध्य छन् नेपाली फिल्म निर्माताहरू।
साउथमा चार वटा फिल्म उद्योग छन्। कन्नड, तेलुगु, मलयालम र तमिल।
यतिबेला बक्स अफिसमा तहल्का मच्चाइरहेको फिल्म हो- केजीएफ च्याप्टर २। यो कन्नड फिल्म हो। आरआरआर र पुष्पा तेलुगु फिल्म थिए।
मलयालम फिल्महरू प्रायः वास्तविकता नजिक हुन्छ। जोसेप, ओटेल जस्ता मलयालम फिल्म यसका उदाहरण हुन्। म्याडम गीता रानी तमिल फिल्म हो।
नेपालमा तमिल र तेलुगु फिल्मको फ्यान कन्नड र मलयालमको तुलनामा बढी छन्। त्यहाँका स्टार अन्य फिल्म उद्योगका स्टारभन्दा बढी परिचित छन्।
तर, केजीएफ च्याप्टर २ अपवाद रह्यो। यसको प्रिक्वेलदेखि नै नेपाली दर्शक डाइहार्ड फ्यान भए। यता मलयालम फिल्म हेर्ने नेपाली दर्शक त निकै कम छन्।
दक्षिण भारतीय त्यसमा पनि नेपालीले मन पराउने फिल्महरू वास्तविकताबाट धेरै पर हुने गरेका छन्। उनीहरूको चयनमा सिनेमा शिल्पभन्दा कल्पना शिल्प हावी भएको फिल्म पर्ने गरेको छ।
मन परेको केटीलाई पछ्याउनु, दुःख दिनु र हैरान बनाउनु र अन्त्यमा उनीहरू प्रेममा परेको देखाउनुले किशोर किशोरीहरू नजानिदो पारामा प्रभावित भइरहेका हुन्छन्। यसबारे खासै अनुसन्धान भएको छैन।
उदाहरणका लागि, एउटा मुटु उडेर आउँछ। अस्पतालको सिसा फोडेर मृत शरीरमा पस्छ अनि हिरो बाँच्छ। अर्को उदाहरण: हिरो मर्छ, ऊ झिँगा बन्छ अनि आफ्नो हत्याराको बदला लिन्छ।
दक्षिण भारतीय फिल्ममा हिरोको बखान निकै-निकै हुन्छ। तर हिरोइन, ग्ल्यामरका लागि मात्रै राखिन्छ। उनीहरू हिरोको प्रेमिका हुन्छन्। श्रीमती हुन्छन्। आमा हुन्छन्। तर मुख्य भूमिकामा न्यून मात्रै भेटिन्छ।
त्यसो त, बलिउडमा पनि महिलालाई देखाउने तरिका उही हो। रोना-धोनावाला चरित्रमा महिलालाई प्राथमिकताका साथ देखाइएको हुन्छ। भोजपुरी फिल्ममा त झनै महिलालाई शरीरका लागि मात्रै राखिएको हुन्छ। उसको भुमिका उही आइटम गर्ल मात्रै।
नेपाली फिल्म सुरुदेखि नै बलिउडको प्रभावमा पर्यो। अहिले प्रर्दशनरत 'ए मेरो हजुर ४' मा पनि लुनिभा तुलाधर*को शरीर देखाइएको दृश्यबाटै नेपाली फिल्ममा बलिउडको प्रभाव कति छ भन्ने देखिन्छ।
फिल्म भनेको कला र मनोरञ्जनको माध्यमसँगै संस्कृति आदानप्रदानको प्रभावशाली माध्यम पनि हो। नेपालमा यस्ता फिल्म सुपरहिट हुनु भनेको हाम्रो संस्कृति, संस्कारमा यी फिल्मले देखाएका दृश्यको प्रभाव बढ्नु हो। बढेको पनि छ।
अहिले दक्षिण भारतीय फिल्मको क्रेज नेपालमा देखिन्छ। यसको एउटा कारण नेपाली दर्शक महिलाको शरीरलाई सुन्दरताको दृष्टिकोण बाहेक अन्य तरिकाले हेर्न नसक्ने भएर पनि हुनसक्छ।
मन परेको केटीलाई पछ्याउनु, दुःख दिनु, हैरान बनाउनु र अन्त्यमा उनीहरू प्रेममा परेको देखाउनुले किशोर किशोरीहरू नजानिदो पारामा प्रभावित भइरहेका हुन्छन्। त्यसको प्रभाव समाजमा देखिन्छ नै। कसैको प्रेम प्रस्तावमा नाईँ भन्नु यहाँ भाउ खोज्नुको रूपमा बुझिन्छ र पटक-पटक प्रस्ताव राखिन्छ। जबकी यस्तो व्यवहार ह्यारेसमेन्ट हो।
हाम्रा युवा पुस्तामा एक पटक प्रस्ताव राख्दा अस्वीकृत भएपछि पुनः प्रस्ताव राख्नु भनेको ह्यारेसमेन्ट गर्नु हो भन्ने सन्देश भएको फिल्मको प्रभाव परेन। उनीहरूले हेर्ने फिल्ममा हिरोले पछि लागेर हैरान बनाएपछि हिरोइनले हुन्छ भनेको दृष्यको प्रभाव पर्यो। उनीहरूले पनि त्यही गरे।
एकतर्फी प्रेमको प्रभाव कति घातक हुन्छ भन्ने एसिड प्रहारका घटनाहरूले पनि देखाइरहेका छन् नै। यी घटनामा फिल्मको चरित्रको प्रभाव परेको हुनसक्छ भनेर कसैले चासो राखेको देखिन्न।
महिलालाई 'बिकाउ वस्तु' देखाउने पुरानै रोग
महिलालाई वस्तुको रूपमा देखाउने चलन पुरानै हो, उखेल्न मुस्किल छ।
अभिनेत्री ऋचा शर्मा महिलाको शरीर अहिलेदेखि होइन पहिलेदेखि नै बिकाउ वस्तुको रूपमा रहेको बताउँछिन्। उनी भन्छिन्, 'यो विषय यति धेरै जकडिएको छ कि एक दुई आर्टिकलले मात्र केही परिवर्तन गर्नै सक्दैन। अहिलेसम्मका ट्रेण्ड हेर्ने हो भने विश्वका प्रायः फिल्ममा महिलाको शरीर वस्तु हो। रेजरको विज्ञापनदेखि लुगा धुने साबुनसम्ममा महिला देखिन्छन्, किनभने महिलाको शरीर बिकाउ छ। यो दुःखको कुरा हो।'
अहिले दक्षिण भारतीय फिल्मको क्रेज नेपालमा बढ्नुको एउटा कारण नेपाली दर्शक महिलाको शरीरलाई सुन्दरताको दृष्टिकोण बाहेक अन्य तरिकाले हेर्न नसक्ने भएर पनि हुनसक्छ।
पुरुषहरू मर्द छन्, उडेर युद्ध लड्न सक्छन्। महिला भनेको प्रेमका लागि, सुन्दरताका लागि बनेका हुन् भन्ने धारणा मन पराउने समाज भएकैले पनि नेपालमा ती र त्यस्ता दृष्य हावी भएका फिल्म हिट भइरहेका छन्।
हलिउडमा महिला चरित्रमा पहिलेको तुलनामा धेरै सुधार आएको छ। ऋचा भन्छिन्, 'हाम्रोमा यसलाई उखेल्न मुस्किल परिरहेको बेला साउथका फिल्महरू झनै थपिएका छन्। जसमा निकै तल्लो स्तरमा महिलाको सुन्दरलाई वस्तुकरण गरिएको हेर्न पाइन्छ।'
आफ्नै उदाहरण दिँदै उनले भनिन्,'मैले पनि हाइवे भन्ने फिल्ममा आइटम डान्स गरेको छु। त्यतिखेर कस्तो फिल्म गर्ने, कस्तो नगर्ने भन्ने चेत थिएन', उनले थपिन्, त्यसैमाथि मैले त्यो आइटम डान्स गर्नुको कारण थियो। बार डान्सरको चरित्र थियो मेरो। तर यहाँ कथा नभएको ठाउँमा समेत आइटम डान्स राखिन्छ। महिलाको शरीर बेचेर फिल्म चलाउन खोजेको प्रष्ट देखिन्छ।'
उनका अनुसार महिलाको शरीर वस्तुकरण गरिएको उदाहरण हेर्न सिनेमासम्म पुग्नै पर्दैन। 'अहिले टिकटक हेर्नुस् महिलाहरू कति खुशी भएर भाइरलका नाममा शरीरलाई वस्तु बनाइरहेका छन्', उनले भनिन्।
'महिला महिनावारी हुँदा कस्तो अनुभूति गर्छन्, उनीहरूको इमोसन, सोच्ने तरिका कस्तो हुन्छ भन्नेबारे पुरुषलाई थाहा हुँदैन। उनीहरूले महिलालाई जस्तो नजरले हेर्छन्, त्यहि नै सिनेमामा देखाउँछन्। यसैको फलस्वरूप महिलालाई ग्ल्यामरको रूपमा मात्रै फिल्ममा देखाइन्छ।'
पुरुषवादी सोचलाई बढवा दिन महिला कलाकार नै अग्रसर भएको उनको आरोप छ। 'हामी महिला विहे व्रतबन्ध लगायतमा 'शिलाकी जवानी'मा नाचिरहेका हुन्छौं', उनले भनिन्।
बलिउड नायक शाहरूख खानले 'दर्दे डिस्को' बोलको गीतमा आइटम डान्स गरेका छन्। उनी यसलाई स्टिरियोटाइप ब्रेक गरेको बताउँछिन्।
महिलाले आइटम डान्स गर्नै नहुने भन्ने हैन। तर पुरुषलाई पनि आइटम डान्ग गराएर बराबर दृष्टिकोण बढाउनुपर्ने उनले बताइन्।
महिला फिल्म निर्देशक त्यत्ति नभएकाले महिलाको शरीर वस्तुकरण भएको हो त? भन्ने प्रश्नमा उनी भन्छिन्, 'पुरुषले पनि महिलाले जसरी सोच्न सक्छ। लेखक पाउलो कोयलोको 'एडल्ट' भन्ने किताबमा महिलाको भावना छ। सञ्जयलीला भन्सालीका फिल्महरू हेर्दा त्यो केटाले बनाएको अनुभूति हुँदैन।'
निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणा भने महिला फिल्ममेकरको अभावमा महिला वस्तुकरण भएकोमा केही हदसम्म सहमत छिन्।
उनले भनिन्, 'नेपालमा केही चलेका महिला निर्देशक नभएका हैनन्। तर उनीहरूलाई सल्लाह दिने पुरुषहरू छन्। त्यसैले महिलाले बनाएको फिल्ममा पनि महिला वस्तुकै रूपमा देखाइएको देख्न सकिन्छ।'
'परिवर्तनका लागि सिनेमा' भन्ने नारासहित सञ्चालनमा आएको 'गौंथली इन्टरटेटमेन्ट'की सिईओ सहारा शर्मा भने महिलाको नजर पुरुषमा नभएकैले यस्ता फिल्म बन्ने गरेको बताउँछिन्।
उनले भनिन्, 'महिला महिनावारी हुँदा कस्तो अनुभूति गर्छन्, उनीहरूको इमोसन, सोच्ने तरिका कस्तो हुन्छ भन्नेबारे पुरुषलाई थाहा हुँदैन। उनीहरूले महिलालाई जस्तो नजरले हेर्छन्, त्यहि नै सिनेमामा देखाउँछन्। यसैको फलस्वरूप महिलालाई ग्ल्यामरको रूपमा मात्रै फिल्ममा देखाइन्छ।'
*सच्याइएको
वैशाख १०, २०७९ शनिबार ०९:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।