पर्वतको फलेवासमा मतदान मार्फत कांग्रेसबाट उम्मेदवारका आकांक्षीको छनौट 

पर्वतको फलेवासमा मतदान मार्फत कांग्रेसबाट उम्मेदवारका आकांक्षीको छनौट 

पर्वत : पर्वतको फलेवास नगरपालिकामा कांग्रेसबाट मतदान मार्फत मेयरका तीन जना आकांक्षी छनौट गरिएको छ। स्थानीय तहको निर्वाचनका लागि मेयर पदमा १३ जनाले आकांक्षा देखाएपछि सहमतिको प्रयास गर्दा समेत सहमति जुटन नसकेपछि मतदान प्रक्रियाबाट तीन जना उम्मेदवारको छनौट गरिएको हो।

मेयरका लागि छनौट हुनेमा गंगाधर तिवारी, रेखा गुरुङ र मिलन सुबेदी रहेका छन। मेयरका आकांक्षी छान्न ६१ जनाले मतदान गरेका थिए। मेयरका आकांक्षी गंगाधर तिवारीले ५८, रेखा गुरुङले २६ र मिलन सुबेदीले २२ मत पाएका थिए।

मेयरका लागि १३ जनाले आकांक्षा देखाएकोमा शिवप्रसाद सुबेदी र याम परियार शिवले उम्मेदवारी फिर्ता लिएका थिए। आकांक्षी मध्येका ११ जना बिच प्रतिस्पर्धा भएको थियो। मेयरका आकांक्षी तिवारी यस अघि भएको स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार पदमपाणी शर्मासँग पराजित भएका थिए।

उपमेयरमा जीतवहादुर सुनार (शेरवहादुर), जीवन भुसाल क्षेत्री र सनम बेगमको नाम सिफारिस भएको हो। उनीहरु तीन जना भने सहमतिमा छनौट भएका हुन्। मतदान प्रक्रियाबाट छानिएका उम्मेदवारहरूको नामावली प्रदेश कार्यसमितिमा पठाइने नेपाली कांग्रेसका नगर सभापति हिरामणी सापकोटाले बताए। 

फलेवास नगरपालिकामा काँग्रेसले अहिलेसम्म वडा नम्बर १,२,३ ५ ९ र १० मा वडाध्यक्षको उम्मेदवारको नाम टुंगो लगाएको छ। 

वैशाख ९, २०७९ शुक्रबार २२:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।