'ब्रह्मास्त्र'मा काम गर्न रणवीरले लिए ३० करोड भारु, अरू कलाकारको पारिश्रमिक कति ?
एजेन्सीः बलिउड नायक रणवीर कपूर यो पुस्ताकै उम्दा मूलधारका कलाकारमध्ये गनिन्छन्। सञ्जु, बर्फी जस्ता चलचित्रमा उनले आफूलाई सावित पनि गरिसकेका छन्।
गत साता मात्रै उनी विवाह बन्धनमा बाँधिए। प्रेमिका आलिया भट्टसँग। अब यो वर्ष उनीहरू दुवै श्रीमान्-श्रीमतीको फिल्म ब्रह्मास्त्र पनि रिलिज हुँदैछ।
३०० करोड भारुमा बनेको फिल्म सन् २०२२ कै महँगो फिल्म हुने बताइएको छ। तर रणवीर कपूर जो चलचित्रका मुख्य अभिनेता हुन्- उनले भने जम्मा ३० करोड भारु लिएका छन् पारिश्रमिकबापत।
उता दक्षिण भारतीय स्टार अल्लु अर्जुन, जुनियर एनटीआर, रामचरण, प्रभासले चलचित्रमा काम गर्न करिब ४०-५० करोड भारुभन्दा बढी लिने गरेको बेला बलिउडको मूलधारका नायकले जम्मा ३० करोड लिनुलाई अचम्म मानिएको छ।
उता आलियाको पारिश्रमिक यस फिल्ममा १० देखि १२ करोड भारु हो। आरआरआरमा सीताको भूमिकामा देखिएकी आलियाले त्यहाँ १० मिनेटको स्क्रिन टाइम पाउँदा ९ करोड भारु पारिश्रमिक लिएकी थिइन्।
चार वर्ष लगाएर निर्माण गरिएको ब्रह्मास्त्र दुई भागमा प्रदर्शन हुनेछ। चलचित्रमा अमिताभ बच्चन ,नागार्जुन, मौनी रोय र डिम्पल कपाडिया मुख्य भूमिकामा छन्।
अमिताभ बच्चनको कुरा गर्दा उनले चलचित्रमा काम गर्न ८ करोड भारु पारिश्रमिक लिएका छन्। मौनी रोयले ३ करोड भारु लिँदा साउथ सुपरस्टार नागार्जुनले १२ करोड भारु पारिश्रमिक लिएका छन्।
यस्तै डिम्पल कपाडियाले करिब २ करोड भारु लिएको बताइएको छ।
वैशाख ९, २०७९ शुक्रबार ११:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।