मधेश प्रदेशका ५० प्रतिशत बढी मतदानस्थल अतिसंवेदनशील
धनुषाः मधेश प्रदेशका ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको छ। प्रदेशका आठ वटै जिल्ला भारतीय सीमासँग जोडिएकाले निर्वाचन आयोगले सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै एक हजार ६३ मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखेको हो।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारका अनुसार अतिसंवेदनशीलको सूचीमा राखिएका मतदान केन्द्रमा त्यहीअनुरुपको सुरक्षा व्यवस्था मिलाइएको छ। विगतको निर्वाचनमाझैँ निर्वाचन बिथोल्ने घटना, झडप र राजनीतिक असमझदारीजस्ता विषयलाई विश्लेषण गरी जिल्लास्थित सुरक्षा समितिले गरेको सिफारिसअनुसार आयोगले मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र समान्य गरी वर्गीकरण गरेको उनले बताए।
यस्तै मधेशका ८२८ मतदानस्थलदाई संवेदनशील र २१२ मतदानस्थललाई समान्यको सूचीमा राखिएको छ। प्रदेशमा दुई हजार १६३ मतदानस्थल र चार हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको छ।
निर्वाचनको ७२ घण्टाअघि नै सीमा-नाका पूर्णरूपमा बन्द गरिने र सीमाक्षेत्रमा सुरक्षा निगरानी बढाउने योजना रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते हुँदैछ।
वैशाख ९, २०७९ शुक्रबार ०८:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।