अभिनेता राजेशले भुवन केसीलाई किन अंगालो मारेनन् !

अभिनेता राजेशले भुवन केसीलाई किन अंगालो मारेनन् !

काठमाडौँ : महानायक को ? नेपाली फिल्म उद्ध्योगको विकासबारे भन्दा बढी बहस भइसक्यो यो शब्दबारे। तर अंह अझैँ यसको समाधान निस्किएको छैन। यो विवादले कतिलाई डिप्रेसनमै पुर्यायो। जस्तो दीपाश्री निरौला। अनि कतिको फिल्मै डुबाइदियो यसले। जस्तो डाँडाको बर पिपल। कसैलाई दशा लगाउन मन भए राजेश हमाल महानायक हैन भनिदिए पुग्ने जस्तै भइसक्यो।

कहिकतै भुवन केसी या शिव श्रेष्ठ या राजेश हमाल भेट भए कि यही प्रश्न उठिहाल्छ'आखिर महानायक को?' कहिले बहस तातिन्छ। कहिले सबै पन्छिन्छन्। कहिलेकाहीँ समाचार खोजेको भन्दै पत्रकारले गाली भेट्छन्।

यस्तै भयो 'ए मेरो हजुर-४' हेर्न यी तीनै अभिनेता एकै हलमा पुग्दा। निर्देशक झरनाले फिल्मको प्रचार भइहाल्छ कि भनेर कलाकारलाई बोलाएकी थिइन्। पूजा शर्मा पर्दामा अभिनय गर्न नसके पनि वास्तविक जीवनमा त मनको भाव बुझेरै अभिनय गर्न खप्पिस भइहालिन्।

तर यी तीन अभिनेताले पर्दामा राम्रै अभिनय गरे पनि रियल लाइफमा भने भाव अलि नबुझ्ने रहेछन्। कार्यक्रमको प्रारम्भमै थापाले तीनै अभिनेतालाई' शिव दाइ, सदाबहार नायक भुवन केसी अनि महानायक राजेश हमाल' भनेर सम्बोधन गरिन्।

फिल्म प्रमोसनको बेलामा उनी पनि त महानायकको विवादमा परेर बल्ल बल्ल जोगिएकी हुन् नि। थापाले महानायक भन्दा उनीसँगै उभिएका हमाल गमक्क परेका थिए। कसरी राजेश हमाल महानायक भन्दै एकै मञ्चमा एकले अर्कालाई महानायकको पद दिन हानथाप गरेका श्रेष्ठ र केसीले पनि थापाको पदवीमा त्यति आपत्ति जनाएनन्।

पत्रकारले किन छाड्थे र, सोध्दिइहाले पदवीसँगै चिसिएको सम्बन्धबारे। राजेशलाई झोक चलिहाल्छ यस्ता प्रश्नले त्यसैले पत्रकारलाई उल्टो प्रश्न गरिदिए‘ तपाइले यो के अचम्मको कुरा सोध्नुभयो। के भएको छ र हामीबिच?'

अभिनेता शिव श्रेष्ठ र हमालबिचको सम्बन्ध त राम्रै छ। तर केसी र हमालबिचको सम्बन्ध बाहिर जे देखिन्छ त्यो हैन भन्ने त फिल्म क्षेत्रमा कसलाई थाहा छैन र। तै पनि हमालले राम्रै अभिनय गर्दै भनिदिए के छ हामीबिचमा ?

अभिनेता श्रेष्ठले पत्रकारले समाचारका लागि यस्तो प्रश्न सोधेको प्वाक्क भनिदिए। साइराम भक्त उनी प्राय अलि छुचो बोल्दैनन्। तर यो विषयमा बोलिदिए।

अभिनेता केसी अलि स्पष्टीकरण दिने शैलीमा देखिए। उनले 'यो कुरा स्पष्ट पार्न जरुरी  थियो' भनेका मात्र थिए हमालले ‘स्पष्टीकरण’ दिन आवश्यक छैन' भनेर टारिदिए।

तै पनि भुवनले बोलिहाले 'एकसाथ धेरै फिल्ममा काम गरेका छौँ। फिल्म क्षेत्रलाई यहाँसम्म ल्याउन सकेको मिहिनेत गरेका छौँ भन्दै हमालसँग राम्रो सम्बन्ध छैन भन्ने बजार हल्ला मात्र भनिदिए। उनले बजार हल्ला त भने त हमालको हात श्रेष्ठको काँधमा पुग्दा उनको काँधमा किन पुगेन त ?

वैशाख ८, २०७९ बिहीबार २०:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।