कास्कीमा खुले निर्वाचन अधिकृतका कार्यालय 

कास्कीमा खुले निर्वाचन अधिकृतका कार्यालय 

पोखरा : स्थानीय तहको निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ। बिहीबार जिल्लाका पाँच वटा स्थानीय तह पोखरा महानगरपालिका, रुपा गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र मादी गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय खोलिएको हो। 

कास्कीका पाँच वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको निर्वाचन कार्यालय पोखराले जनाएको छ। देशकै सबैभन्दा ठूलो महानगर पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। मुख्य निर्वाचन अधिकृतको रुपमा कास्की जिल्ला अदालतका मुख्य न्यायाधीश श्रीकृष्ण भट्टराईलाई तोकिएको छ। 

कास्कीका अन्य चार पालिकाहरूमा निर्वाचन अधिकृतहरू खटाइएको छ। अन्नपूर्ण गाउँपालिकामा विष्णुप्रसाद आचार्य, मादीमा दुर्गाप्रसाद भट्टराई, माछापुच्छ्रेमा नवराज दंगाल र रूपामा रुद्रप्रसाद सुवेदीलाई निर्वाचन अधिकृतका रूपमा खटाइएको हो। 

पोखरामा मुख्य निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृतसहित २ जना अनुगमन अधिकृत, कम्प्युटर अपरेटर १, नासु १, कार्यालय सहयोगी २, पिएसओ सुरक्षा अधिकारी १ र चालक १ जना रहने  जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। 

अन्य पालिकाको अनुगमन पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा खटिएका अनुगमन अधिकृतले गर्ने छन्। वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन वैशाख ११ र ११ गते हुने छ।

वैशाख ८, २०७९ बिहीबार १७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।