भैरहवाको बालमन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बुटवल : भैरहवास्थित बालमन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि स्थापना गरिएको उक्त कार्यालयको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र मुख्य निर्वाचन अधिकृत एवं रुपन्देही जिल्ला अदालतका मुख्य न्यायाधीश धनसिंह महराले उद्घाटन गरेका हुन्।
सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी तिवारीले निर्वाचनमा उम्मेदवार र मतदाताको सुरक्षालाई ध्यानमा राखेर विशेष योजनासाथ काम गरिरहेको बताए। उनले आफूहरू सुरक्षित, निष्पक्ष र स्वतन्त्र रूपमा निर्वाचन सम्पन्न गर्ने तयारीमा लागेको बताए।
निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेर प्रादेशिक रूपमा तालिमहरू सम्पन्न गरिसकेको छ। त्यो अनुसार सबै स्थानीय तहमा निर्वाचन अधिकृत पुगिसकेको उनले बताए। मुख्य निर्वाचन अधिकृत धनसिंह महराले निर्वाचनमा आचारसंहिता पालना गराउन आफूहरू विशेष पहल र काम गर्ने बताए।
विगतमा आचारसंहिता उल्घंनका घटना भएको जनाउँदै यसपल्ट पनि हुन सक्ने भन्दै आफूहरूले अनुगमनको कामलाई तीव्रता दिने बताए। बिहीबार रुपन्देहीसहित देशैभरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।
वैशाख ८, २०७९ बिहीबार १५:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।