गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा, अन्तर्राष्ट्रिय उडान भने जेठ २ बाट मात्रै
बुटवल : रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग बिहीबार देखि संचालनमा आएको छ। पहिलेको १ हजार ५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्गलाई बन्द गरेर नयाँ ३ हजार मिटर लम्बाई र ४५ मिटर चौडाइ भएको नयाँ धावनमार्ग सञ्चालनमा आएको छ।
पुरानो धावनमार्गलाई ट्याक्सी–वे (विमान पार्किङ स्थल) को रूपमा प्रयोगमा ल्याइएको छ। नयाँ संचालनमा आएको धावनमार्ग बाट बिहीबार बिहानैदेखि आन्तरिक उडान अवतरण सुरु भइसकेको छ। नयाँ धावनमार्ग संचालनमा आएसँगै अव अन्तर्राष्ट्रिय उडानका लागि बाटो खुलेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द्र प्रसाद दाहालले बताए।
अन्तर्राष्ट्रिय धावनमार्ग संचालनसँगै अब साढे १८ घण्टासम्म हवाई उडान संचालन गर्न सकिने छ। नयाँ धावनमार्ग संचालन ल्याइएपछि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द नहोउन्जेल यो विमानस्थल पनि बन्द हुने छैन। बिहान ६ बजेदेखि राती साढे १२ बजेसम्म विमानस्थल खुल्ला रहने छ।
यसका साथै आधिकारिक रूपमा अन्तर्राष्ट्रिय व्यावसायिक उडान संचालन हुन बाँकी भए पनि नयाँ धावनमार्ग संचालनमा आएपछि आपत्कालीन, चार्टर्ड र डाइभर्ट गरिएका अन्तर्राष्ट्रिय उडान अवतरण गर्न मिल्ने छ। यस्तै, कुनै पनि एयरलाइन्सले विमानस्थलबाट अब अन्तर्राष्ट्रिय उडान गर्न चाहेमा तयारी पुगेको छ।
गौतमबुद्ध विमानस्थलबाट आउँदो जेठ २ देखि अन्तर्राष्ट्रिय व्यवसायीक उडान गर्ने सरकारको तयारी छ। यहाँ व्यावसायिक उडान गर्ने अन्तराष्ट्रिय एयरलाइन्सहरूलाई अवतरण र पार्किङ लगायतका शुल्कमा छुटको व्यवस्था गरिएको छ। विमानस्थल सेवा शुल्क नियमावली सरकारबाट हालै स्वीकृत भइसकेको छ।
नियमावलीमा विमानस्थल सेवा शुल्क ६ महिनासम्मका लागि छुटको व्यवस्था गरिएको छ। एक पटक हवाई उडान संचालन गर्दा न्युनतम पनि १ लाख भन्दा धेरै विमानस्थल शुल्क लाग्ने गर्छ। यस विमानस्थलको प्रबद्र्धनका लागि सुरुमा छुट सुविधा प्रदान गरिएको हो। यो विमानस्थल काठमाडौँको त्रिभुवन विमानस्थल भन्दा धेरै सुरक्षित र सहज छ।
एयर ट्राफिकका कारण धेरै समयसम्म आकाशमै विमानलाई रोक्नु पर्ने समस्या यहाँ छैन। धावनमार्ग संचालनमा आउनु पूर्व नै कन्ट्रोल टावर र पूर्ण आपत्कालीन अभ्याससहित फायर फाइटिङको नयाँ स्टेसन संचालनमा आइसकेको छ।
वैशाख ८, २०७९ बिहीबार १४:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।