केजीएफ- २: अपराध र अपराधीको देवत्वकरण मात्र
दक्षिण भारतीय फिल्म भन्दैमा सबै गतिलो हुँदैनन्। यसको बलियो प्रमाण हो- केजीएफ च्याप्टर २।
यो फिल्म दर्शकले अति मन पराए। तर, समीक्षात्मक आँखामा यो फिल्म बिझाउँछ। सिनेमा चेतले हेर्ने हो भने-चलचित्र प्रशंसा भएझैँ उत्कृष्ट छैन।
सिनेमा, निर्देशकले तीन घण्टाका लागि निर्माण गरेको एउटा संसार हो। र, उत्कृष्ट सिनेमा त्यो हो जुन संसारमा मनोरञ्जन मात्र होइन सिनेमा शिल्पको पनि प्रयोग भएको हुन्छ।
केजीएफ हेरिरहँदा हाफ टाइमअघि कहिले हाफ टाइम होला भनेर सकस हुन्छ। हाफ टाइमपछि कहिले फिल्म सकिएला जस्तै बनाउँछ। केजीएफ (कोलार गोल्ड फिल्ड)मा दास मजदुरहरूले सुन उत्खनन गरेजस्तै दर्शकले मनोरञ्जन र शिल्प उत्खनन गर्नुपर्छ, दुई घण्टा ५० मिनेटसम्म। तर शिल्प भेटिँदैन।
रकी भाइ (यश)को क्रेजलाई पछ्याएर आउनेहरूको बेग्लै कुरा, सिरियस अडियन्स पूरा अवधि हलमा टिक्न गाह्रै छ।
केजीएफ १ बारे लामो कुरा नगरौँ। त्यो दोश्रो भागको लागि आधार मात्र थियो। दुई वटा भाग एकअर्कासँग राम्रैसँग गाँसिएको छ। जहाँबाट च्याप्टर १ सकियो, त्यहीँबाट च्याप्टर २ सुरु भएको छ। अर्थात् च्याप्टर १ रकीको सङ्घर्षको कथा हो भने च्याप्टर २ उदय, दिग्विजय र अन्त्यको कथा हो।
निर्देशकले बढ्याई गरेर च्याप्टर ३ को लागि समेत दर्शकमा कौतुहलता बढाइदिएका छन्।
०००
फिल्मको सबैभन्दा उत्कृष्ट पक्ष हो- प्रप्सको रूपमा आगोको प्रयोग।
फिल्मको पहिलो सिनमा बालक रकी र उनकी आमा भलाकुसारी गर्दै हुन्छन्। विषय सुनमा पुग्छ। आमाले बालक रकीलाई सुनको महत्त्व बताउँछिन्। रकीले पनि बाचा गर्छ- एकदिन ऊसँग संसारभरको सुन हुनेछ।'
यो दृश्यमा रकीले आमासँग प्रतिज्ञा गरिरहँदा पछाडि आगो बलिरहेको हुन्छ। यहाँ अग्नि साक्षी राखेर रकीले प्रतिज्ञा गरेको देखाउन खोजिएको भान हुन्छ।
यस्तै चलचित्रभर जहाँ-जहाँ रकीलाई हिंस्रक र क्रोधित देखाइएको छ, त्यहाँ-त्यहाँ आगोलाई पनि फ्रेममा अटाइएको छ। फिल्मको अन्तिमको द्वन्द्व जहाँ अधिरा (सञ्जय दत्त) र रकीको लडाइँ हुन्छ, त्यहाँ दुवै पात्रको पछाडि आगो बलिरहेको हुन्छ। निर्देशकले यी दुवै कोहीभन्दा कोही कम छैनन् भन्ने सन्दर्भ बुझाउन खोजेका छन् यहाँ।
अधिराको त चलचित्रमा इन्ट्री नै आगोको बीचबाट हुन्छ। यता रकीको कथाको अन्त्य भने समुन्द्रमा हुन्छ। यसले बुझाउँछ- आगोलाई अन्त्य गर्न सक्ने पानी मात्रै हो।
यही हो चलचित्रको उत्कृष्ट पक्ष।
यो पाटोलाई एकैछिन बिर्सने हो भने चलचित्रमा सम्झनलायक थप केही छैन।
सबैभन्दा कमजोर पक्ष चलचित्रको पात्र उठान नै हो। चलचित्र हेरिरहँदा महिला पात्रहरू केवल समावेशिताको लागि मात्र राखिएको झैँ देखिन्छन्।
रकीकी श्रीमती रीना देसाइ (श्रीनिधि सेट्टी) रकीको दुर्व्यवहार सहन मात्र चलचित्रमा राखिएको छ। अहिले महिला हिंसाविरुद्ध विश्वव्यापी माहौल छ। नेपालमा समेत कलाकार नाबालिग बलात्कारमा कारागार पुगेका छन्। नाबालिग र उनका परिवारले बयान बदल्दा होस्टायलको बहस अगाडि बढाइरहेको छ।
तर यो चलचित्रले 'दुर्व्यवहारपूर्ण प्रेम'लाई जोडतोडका साथ उठाएको छ। रकीले रीनालाई दुर्व्यवहार गरेको सिनमा हुटिङ गर्ने दर्शकले चलचित्र हेरेर कस्तो प्रेम गर्न सिक्लान्!
चलचित्रको पहिलो भागमा तै-तै श्रीनिधिको भूमिका कता-कता महत्त्वपूर्ण हो कि जस्तो देखिएको थियो। तर यो भागमा उनी नभएको भए पनि कसैले चाल पाउँदैनथे।
तर 'कबिर सिंह'देखि नै 'दुर्व्यवहारपूर्ण प्रेम' हेर्न रमाएका दर्शकहरूले भने यो चलचित्रमा उनलाई मिस गर्न सक्थे।
उनको अभिनय पक्ष पनि सन्तोषजनक मात्रै छ। वाह भन्न सकिने स्थान भेटिएन।
तर कन्फ्युजिङ कुरा त के छ भने, च्याप्टर १ मा रकीको मृत्यु भयो भन्दा रुने रीना, दोस्रो च्याप्टरमा कसरी रकीलाई मन नपराउने भइन्? अनि आमाको चिहान देखाउनासाथ कसरी प्रेम भयो?
अब नायिकामा 'स्टकहोल्म सिन्ड्रोम' देखाउन खोजेको भए बेग्लै कुरा। तर त्यो देखाउन पनि त केही आधार हुनुपर्ने। छैन।
यता रकीको आमाको भूमिका झनै दिक्कलाग्दो छ। उनी पर्दामा आउँदा सिनले भावनात्मक मोड लिनु साटो झन् हिंस्रक मोड लिन्छ। उनी छोरालाई धनी बन्न जे बाटो अपनाए पनि हुन्छ भन्ने शिक्षा दिन्छिन्।
कुन आमाले सन्तानको अपराधीकरण गर्छन्?
रमिका सेन (रवीना टण्डन)को भूमिका शक्तिशाली छ। पात्रअनुसार न्याय गरेका छन् निर्देशकले। अभिनय पनि राम्रै छ।
चलचित्रमा तारिफै गर्नुपर्ने अभिनय प्रकाश राजको छ। विजयेन्द्रको भूमिकामा देखिएका उनले जस्तो पात्रलाई न्याय खुद रकी भाइले पनि गर्न सकेका छैनन्।
अधिराको कुरा गरौँ।
चर्चित सिरिज 'भाइकिङ्स'का र्याग्नार लोथब्रोकको पात्रबाट हुबहु कपी-पेस्ट गरिएको चरित्र हो- अधिरा।
तर कपी-पेस्ट हो भन्ने कुरा ढाकछोप गर्न निर्देशकले चलाखी गरेका छन्। भोइस ओभरमार्फत 'अधिरा भाइकिङ्सबाट प्रभावित हुन्' भनिएको छ। तर कसले बुझ्दैन र- यस्तो हुबहु चोरी।
निर्देशकले उनलाई आगोको उपमा दिइरहँदा, उनीसँग पहाडलाई पनि झुकाउने शक्ति छ भनिरहँदा एन्ट्रीमै उनी एक सामान्य सिपाहीसँग लामो गफ गर्छन्।
त्यसैले सुरुमै अधिराप्रतिको त्रास हराइसकेको हुन्छ। यो दृश्यमा मुख्य खलपात्रमाथि निर्देशकले भद्दा मजाक गरेको देखिन्छ।
अर्को दृश्यमा अधिरासँगको लडाइँमा लगभग हारेर उठ्न नसक्ने हालतमा पुगेका रकी एकाएक आफ्नो श्रीमतीको यादले शक्तिशाली हुन्छन्। उनले त्यस्तो शक्तिशाली भिलेनलाई सहजै एक मुक्का पनि नखाई हराउँछन्।
यस्तो क्लिसे दृश्यमा पनि रकी भाइको क्रेजी फ्यानहरू सिनेमा हलमा सिट्ठी बजाइरहेका हुन्छन्। यसले सिनेमा चेत भएका दर्शकभन्दा पनि रकीका फ्यानकै बलमा यो फिल्म चलेको देखियो।
अब यसरी जे र जस्तो सिनेमा बनाएर दिए पनि वाहवाही गर्ने दर्शक हुनु भनेको साउथ फिल्म पनि बलिउडकै बाटोमा हिँड्नु त हो।
खैर, ब्याक टु स्टोरी।
यता फिल्ममा जब अधिरा नभएर अरू नै पात्र मुख्य भिलेन बनेर देखापर्छ, त्यतिन्जेल त्यो पात्र दर्शकले बिर्सिसकेका हुन्छन्।
उनी भिलेन हुन् भन्ने सिन स्थापितै नगरी अन्तिममा भोइस ओभरबाट भनेको भरमा सिनेमा सकाउँछन् निर्देशकले।
यहीनिर भयो हात्ती आयो, हात्ती आयो, फुस्स।
यस्तै नायिकालाई अपहरण गरेर लगिएको बेला जब रकी ताण्डव देखाउन थाल्छन्, त्यो सिनमा उनले २०-२५ जना मारिसक्दा पनि उनको सेतो कोटमा एक थोपा रगत लाग्दैन।
प्रप्स प्रयोग गर्न बिर्सिएको हो या उनको पात्र त्यत्तिकै 'अलमाइटी' हो बुझ्न सकिन्न।
अब यही फाइट सिनको सम्पादनको कुरा गरौँ।
फिल्म एडिटिङ भनेको फुटेज काट्ने-जोड्ने मात्र पक्कै हैन। एडिटिङले पनि कथा भन्न सक्नुपर्छ। एडिटिङले नै दर्शकलाई बोरिङ महसुस हुन नदिने हो। एडिटिङले नै सिन स्थापित गर्ने र फरक-फरक सिनबिचको सम्बन्ध पुष्टि गर्ने हो।
त्यसैले त फिल्म एडिटरलाई 'सेकेण्ड डिरेक्टर' भनिन्छ।
केजीएफका निर्देशक प्रशान्त नीलले आफ्नो सेकेन्ड डिरेक्टर छान्नमा निकै लापरबाही गरेको प्रस्टै देखियो। ट्रेलर राम्रो बनाएको आधारमा १९ वर्षीय उज्जवल कुलकर्नीलाई समग्र फिल्म नै एडिट गर्न दिनुको परिणाम हो- भताभुङ्ग केजीएफ २।
त्यसैले एडिटिङ आँखा बिझाउने छ। एडिटिङले दुई सिनको कुरै छाडौँ, दुई सटलाई समेत राम्रोसँग जोड्न नसकेको देखिन्छ धेरै ठाउँमा।
अघि भनिएको फाइट सिनमा प्रस्ट झल्किन्छ कमजोर एडिटिङ। वेगमा कुदिरहेको गाडी, ब्याकग्राउण्ड म्युजिकले रौँ उठेको सिन अनि अब के होला भनेर कुरिरहेका दर्शकको आशामाथि पानी हाल्दिन्छन् एडिटरले।
एकाएक फ्रेम ब्ल्याक आउट हुन्छ। एक पटक होइन, पटक पटक। एक-दुई फ्रेम ब्ल्याक आउट हुनु त फाइट सिनमा सामान्य एडिटिङको नियम नै हो। तर करिब एक सेकेन्ड अर्थात् २४ फ्रेम ब्ल्याक आउट हुन्छ चलचित्रमा। पटक पटक। यो कमजोरी नै हो।
यसलाई एडिटिङ जर्क मात्र भनेर हल्का गल्ती भन्न मिल्ने देखिँदैन। यो एडिटिङमा गरिएको ब्लण्डर हो। गम्भीर काममा परिपक्व मान्छे भएन भने केसम्म हुन्छ भन्ने बुझ्नु छ भने यो सिन हेरे भइहाल्यो।
अर्को हिन्दीमा डब गरे-नगरेको केही अर्थ छैन फिल्म। खराब एडिटिङकै कारण कुनै पनि पात्र, कुनै पनि दृश्य, कुनै पनि प्लट स्थापित हुनै पाएको छैन।
शार्प कट र फास्ट कट साउथ फिल्मको सिग्नेचर एडिटिङ हो। तर कम्तीमा दृश्य स्थापित हुन त दिनुपर्छ।
क्यामेरा वर्क पनि सन्तोषजनक देखिएन। क्यामेराले स्टोरी टेलिङमा केही भूमिका खेलेको छैन। क्यामेराले कथालाई बुझेकै छैन झैँ देखिन्छ। पोस्टप्रोडक्सनमा भीएफएक्समा मेहनत नगरेको भए, अलि अलि राम्रो फ्रेम पनि हेर्न पाउँदैन थिए दर्शकले।
लाइटिङ सबै पात्रलाई उही छ। सबै मुडमा उही छ। डायलग पनि निकै कमजोर छ यस चलचित्रमा।
गन्जागोल चलचित्रमा राम्रो काम भएको एक पाटो भनेको अपराध र राजनीतिको सम्बन्ध प्रस्टसँग देखाउन सक्नु नै हो। चलचित्रमा इस्ट्याब्लिस भएको यही एउटा मात्र दृश्य हो।
चलचित्रले हलिउडलाई चलाखीपूर्वक कपी गरेको छ। कहिले रकीको क्यारेक्टरमा हतौडावाला 'थोर'को याद आउँछ। कहिले अधिराकोमा र्याग्नार लोथब्रोकको।
अन्तिम फाइटमा त प्रस्टै 'म्याड म्याक्स फ्युरी रोड' का पात्रले लगाउने चस्मा लगाइदिएका छन् निर्देशकले, अधिराका लडाकुलाई।
संसद् भवनको सिन त झन् हास्यास्पद छ। रकी र उनको फौजले संसद् भवनअगाडि तैनाथ सेना-प्रहरीलाई घुँडा टेकाउँछ। अनि रकीलाई कसैले रोक्दैन। उनी सरासर संसद् बैठकमा छिरेर मेन भिलेन मार्छन्।
यो दृश्यभर काल्पनिक सिन भनेर लेखिएको हुन्छ। चलचित्रमा 'नियर रियालिटी' देखाउनुपर्नेमा ठाडै काल्पनिक भनेर दर्शकको भावनामाथि खेलिएको छ। जबकि भारतीय संसद्मा आतङ्कवादीले यसरी नै आक्रमण गरेका रियल फुटेजहरू जताततै अहिले पनि हेर्न सकिन्छ।
समग्रमा भन्दा केजीएफ २ मा अपराध र अपराधीको देवत्वकरण मात्र देखियो। महिलामाथिको दुर्व्यवहारलाई प्रवर्द्धन गरियो। निर्देशक कन्फ्युज्ड देखिए आफ्नै सिनेमामाथि। दर्शक कन्फ्युज हुन्छन् आफ्नै रोजाइमाथि।
वैशाख ८, २०७९ बिहीबार १४:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।