पोखराको मेयर नपाएको झोँकमा कांग्रेस पार्टी कार्यालयमा लगाएको ताला खुल्यो
पोखरा : पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीलाई दिएको झोकमा कास्की कांग्रेसको पार्टी कार्यालयमा लगाएको ताला खुलेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनका दलबिच महानगर बाँडफाँडमा पोखराको मेयर एकीकृत समाजवादीलाई दिने निर्णय गरेसँगै महानगर समितिले बुधवार कास्की कांग्रेसको पार्टी कार्यालयमा ताला लगाएको थियो।
महानगर कमिटीले पार्टी कार्यालयमा लगाएको ताला महानगर र जिल्ला समितिको बैठकपछि बिहीबार खोलिएको हो। महानगर कमिटीले पार्टीको निर्णय विरुद्ध गएर पार्टी कार्यालयमा ताला लगाएपछि कांग्रेसका महानगर, जिल्ला र प्रदेश कमिटी भित्रका नेता कार्यकर्ताले विरोध गरेका थिए।
महानगर कमिटीले कास्की कांग्रेसको पार्टी कार्यालयमा ताल लगाएको विरुद्ध पोखरा महानगर कमिटीका सदस्य राजन श्रेष्ठ लगायतले नेपाली कांग्रेस पोखरा महानगर कार्यालयमा ताला लगाएका थिए। उनीहरूले महानगर समितिले जिल्ला समितिमा ताला लगाउनुको औचित्य नरहेको भन्दै त्यसको विरुद्धमा महानगर कार्यालयमा ताला लगाएका थिए।
महानगर सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी सभापतिले नगर समितिसँग समन्वय नगरी आफूखुसी पोखराको मेयर समाजवादीलाई दिने निर्णय गरेर आत्मसम्मानमा चोट पुर्याएकाले ताला लगाउन बाध्य भएको बताएका थिए।
उनले आफूहरूले पार्टीको ध्यानाकर्षण गर्नका लागि तालाबन्दी गरेको बताउँदै सधैँ ताला लगाउनु उचित नहुने भएकाले खोलिएको महानगर सचिव गणेशबहादुर थापाले दाबी गरे।
पार्टी कार्यालयमा तालाबन्दी पछि हिजो महानगर समितिको बैठकमा पार्टीका वडा सभापति लगायतका नेताहरूले पार्टी निर्णयविरुद्ध ताला लगाउन उचित नहुने राय दिएपछि महानगर कमिटीले बाध्य भएर ताला खोलेको हो।
वैशाख ८, २०७९ बिहीबार १३:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।