वाचा पुरा गर्दै अभिनेत्री केकीले सट्याकसुटुक बिहे गरिन्

वाचा पुरा गर्दै अभिनेत्री केकीले सट्याकसुटुक बिहे गरिन्

काठमाडौँ : जब विवाहको चर्चा हुन्थ्यो अभिनेत्री केकी अधिकारीले भन्ने गर्थिन्' म त सुटुक्कै बिहे गर्ने हो नि, बोलाइन भनेर नरिसाउनु ल!'

चलेकी अभिनेत्री। फिल्मी परिवारकै सदस्य। उनले विवाहको प्रश्न टार्न यस्तो भनेको अनुमान गर्नेहरू टन्नै थिए। कलाकारहरूलाई लाग्थ्यो होला 'मलाई त बोलाइहाल्छिन् नि।' अनि केही मिडियाकर्मीलाई पनि आस थियो होला' मैले कति सहयोग गरेको छु। भोज त पक्कै खुवाइहाल्छिन् नि।'

तर केही वचनमा पक्का देखिइन्। आस गर्नेहरू जिल खाए। अभिनेत्री केकी अधिकारीले जिस्केर भने जस्तै लागे पनि उनले साँच्चिकै न कलाकार न पत्रकार न लेखक न नेता कसैलाई बोलाइनन् आफ्नो विवाहमा। त्यसको असर उनले बुधवार मेहन्दी कार्यक्रम गर्दा नै धेरैले विवाह गरेको भन्ठानेर समाचारै भाइरल बनाए।

अति हल्ला भएपछि परिचित मार्फत केकीले मेहन्दी कार्यक्रम मात्रै गरेको विवाह त बिहीबार हो नि भन्ने सन्देश प्रवाह गरिन्। बिहीबार आज उनको विवाह भइरहेको छ। तर वचन अनुसार उनले फिल्मी क्षेत्रका निकट साथीहरूलाई पनि निम्ता गरिनन्।

सीमित पारिवारिक सदस्यहरूको मात्र उपस्थितिमा उनले विवाह गरिरहेकी छिन्। उनका दुलाहा हुन् रोहित तिवारी। तिवारी अनलाइन बिजनेसमा संलग्न छन्। फिल्मी क्षेत्रमा केकीको नाम धेरैसँग जोडिए पनि असली प्रेमी जो हुन् उनीसँग भने कहिल्यै जोडिएन। अर्थात् उनका प्रेमका अफवाहरु चलिरहे। उनले त्यही अफवाहको बलमा आफ्नो असली प्रेम लुकाइरहिन्।

उनी निकटहरूका अनुसार उनी कुनै सेलिब्रिटीको रूपमा नभई एक सामान्य महिलाको रूपमा कुनै व्यवधानबिना विवाह गर्ने पक्षमा थिइन्। आफन्त अनि परिचितहरू बोलाउँदा भिडभाड हुने त भइहाल्यो नै। सेलिब्रिटी भएपछि समाचार अनि तस्बिरहरू पनि सार्वजनिक हुने भइनै हाले।

उनी विवाह जीवनको नयाँ चरणमा प्रवेशको महत्त्वपूर्ण क्षण भएकाले त्यसमा रमाउन चाहन्थिन् पहिल्यैदेखि। अब कसैलाई बोलाउने अनि कसैलाई नबोलाउने गर्दा पनि सन्देश राम्रो जाने कुरा भएन। त्यसैले उनले विवाह समारोहमा नभई नहुने बाहेक आफ्नै बेस्टफ्रेन्डहरुलाई पनि विवाहमा निम्ता गरिनन् र वाचा अनुसार सट्याकसुटुक विवाह समारोह गरिन्।

वैशाख ८, २०७९ बिहीबार १२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।