सिटामोलको मूल्यमा पनि खेल, सतर्कताले मगायो निर्णय फाइल

सिटामोलको मूल्यमा पनि खेल, सतर्कताले मगायो निर्णय फाइल

काठमाडौँ : प्यारासिटामोलको तौल ६ सय ५० मिलिग्राम (एमजी) बनाउने औषधि सल्लाहकार समितिको सिफारिसबारे राष्ट्रिय सतर्कता केन्द्रले छानबिन सुरु गरेको छ। चैत १० मा बसेको औषधि सल्लाहकार समितिको ५३ औँ बैठकले ६ सय ५० मिलिग्राम तौलको प्यारासिटामोल उत्पादनका लागि सिफारिस गर्ने निर्णय गर्दै उत्पादन दर्ताका लागि औषधि व्यवस्था विभागलाई सिफारिस गरेको थियो। विभागका अनुसार अहिलेसम्म कसैले उत्पादनका लागि दर्ता गरेका छैनन्।

तर पाँच सय मिलिग्रामको सिटामोलको उत्पादनै बन्द गराएर जवर्जस्ती मूल्य बढाउने योजना अनुसार निर्णय भएको आशङ्कामा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन सुरु गरेको छ।

प्यारासिटामोलका विषयमा उजुरी आएपछि केन्द्रले विभागलाई पत्र लेख्दै फायल मगाएको छ। उपभोक्ता हित संरक्षण मञ्च–नेपाल र नेपाल फार्मेसी सङ्घले मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा उजुरी दिएका थिए।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले ६ सय ५० मिलिग्राम तौलको प्यारासिटामोल उत्पादनका लागि सिफारिस गर्ने निर्णयको विषयमा सतर्कता केन्द्रले कागजात मागेको जानकारी दिए।

केसीले भने,‘त्यहाँबाट सोधेर आएको थियो। के भएको हो भनेर जानकारी माग गरेको हो।’

दर्ता प्रस्ताव नआएको दाबी

पाँच सय मिलिग्रामको प्यारासिटामोल नियमित रूपमा उत्पादन हुने केसीको दाबी छ। विभागका सूचना अधिकारी केसीले भने,‘सिटामोल जस्तै: अहिले नेपालमा प्रयोग भएको १२५, २५०, पाँच सय, विभिन्न हुँदाहुँदै ६ सय ५० एमजी पनि दर्ताका लागि सिफारिस गरेको हो।’

तर, औषधि सल्लाहकार समितिको ५३ औँ बैठकले ६ सय ५० एमजीको प्यारासिटामोलको उत्पादनका लागि सिफारिस गरेकोबारे निर्णय भने सार्वजनिक भएको छैन।

औषधि सल्लाहकार समितिको ५३ औँ बैठकले ६ सय ५० मिलिग्राम तौलको प्यारासिटामोल उत्पादनका लागि सिफारिस गर्ने निर्णय गरेयता भने ६ सय ५० एमजी प्यारासिटामोल उत्पादनको दर्ताका लागि प्रस्ताव नआएको केसीले जानकारी दिए।

उनले भने,‘अहिले दर्ता भएका छैनन्। पहिला तीन वटाले प्रस्ताव पेस गरेका थिए। निर्णय पछाडि प्रस्ताव आएको छैन।’

नेपालमा धेरै वर्षदेखि प्यारासिटामोलको मूल्य नबढेको भन्दै औषधि उत्पादक कम्पनीहरूले मूल्य बढाउनुपर्ने दबाब दिँदै आएका थिए। पाँच सय एमजीको प्यारासिटामोलको मूल्य बढाउन कसरत गरे पनि विरोध हुने डरले ६ सय ५० मिलिग्राम तौल बढाउन लबिङ गरेका थिए।

सिटामोलको तौल बढाउनु घातक भएको दाबी

पाँच सय मिलिग्रामको सिटामोलको मूल्य एक रुपैयाँ पर्छ। तर, मूल्य बढाउनकै लागि ६ पचास एमजीको प्यारासिटामोलको उत्पादनका लागि अनुमतिका लागि सिफारिस भएको हो। बिना अध्ययन औषधि उत्पादकको दबाबमा बढी तौल भएको प्यारासिटामालेको उत्पादनका लागि स्वीकृति दिँदा स्वास्थ्यमा गम्भीर समस्या पर्ने सरोकारवालाले बताउँदै आएका छन्।

टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी पाँच सय मिलिग्रामको सिटामोल उत्पादन नभएर ६ सय ५० को उत्पादन भए स्वास्थ्यमा गम्भीर समस्या हुनेतर्फ सजग गराउँछन्।

चालीस किलो भन्दा कम तौल भएका व्यक्तिलाई ६ सय ५० मिलिग्रामको प्यारासिटामोल सेवन गर्दा कलेजोमा गम्भीर असर पर्ने जोखिम हुने उनले बताए। 

डा. मरासिनीले विशेष गरी ग्रामीण क्षेत्रका कयौँ वयस्क व्यक्तिको समेत तौल चालीस किलो भन्दा कम हुने भएकाले त्यस्ता व्यक्तिलाई ६ सय ५० मिलिग्राम तौलको प्यारासिटामोल बढी हुने बताउँछन्।  ‘गाउँमा तौल कम भएका मान्छेको जनसङ्ख्या ठुलो छ,’उनले भने,‘४० किलो तौल भएकालाई ६ सय ५० मिलिग्राम सिटामोल बढी हुन्छ। धेरैपल्ट खाँदा कलेजोमा असर हुन सक्छ।’

डा. मरासिनीका अनुसार सामान्यतः ३५-४० किलो तौलको व्यक्तिले तीन सय मिलिग्राम सिटामोल सेवन गर्नु उचित हुन्छ। तर, पाँच सय मिलिग्रामसम्मको सिटामोल दिने चलन छ। यसले धेरै नकारात्मक असर गर्दैन। उनले भने,‘त्यो (पाँच सय मिलिग्राम) खासै धेरै हैन। तर, ६ सय ५० मिलिग्राम त डबल डोज हुन्छ।’

मूल्य बढाउन मात्रै ६ सय ५० मिलिग्रामको प्यारासिटामोल औषधि उत्पादन गर्ने उद्देश्य देखिएको डा. मरासिनी बताउँछन्। 

भारतमा समेत ६ सय पाँच मिलिग्रामको प्यारासिटामोल उत्पादन नभएको उनले बताए। डा. मरासिनीले भने,‘भारतमा पनि पाँच सय हो। भारतमा पनि मलाई थाहा भएसम्म ६ सय ५० को उत्पादन छैन। नेपालमा पनि पाँच सय हो।’

वैशाख ७, २०७९ बुधबार २२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।