कहाँ अड्कियो कर्णालीमा सत्ता गठबन्धनको हलो ?

कहाँ अड्कियो कर्णालीमा सत्ता गठबन्धनको हलो ?

सुर्खेत : स्थानीय तहको चुनाव आउन २३ दिन मात्रै बाँकी छ। सबै राजनीतिक दलहरुलाई यतिबेला चुनावी माहौलले छोएको छ। कर्णाली प्रदेशमा पनि विशेष गरी सत्ता गठबन्धन दल, एमाले र अन्य दलहरूमा पनि चुनावी रौनकता बढेको छ।

एमाले र अन्य दलहरूले धमाधम उम्मेदवारहरूको टुंगो लगाइरहेका बेला गठबन्धन भने भागबण्डामा नै अड्किएको छ। कर्णालीमा गठबन्धनले स्थानीय तहको भागबण्डा टुंगो लगाउन प्रदेश र जिल्ला स्तरीय संयन्त्र पनि बनाएका छन्। कतिपय ठाउँमा गठबन्धनका सम्पर्क कार्यालयहरू समेत स्थापना गरेका छन्। तर, गठबन्धन दलहरूले आन्तरिक कलह मिलाउन भने सकिरहेका छैनन्। केन्द्र र प्रदेशबाट गठबन्धनबीच तालमेल गरेर चुनावमा जाने निर्णय भए पनि कर्णालीमा भने भागबण्डामै दलहरूले आ–आफ्नै अडान राख्दा समस्या भएको हो।

कर्णाली प्रदेशका सल्यान, हुम्ला, मुगु र डोल्पामा नेपाली कांग्रेसका नेतृत्वहरुले गठबन्धन नगरेर स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय समेत गरिसकेका छन्। हालसम्म प्रदेशका १० वटै जिल्लामा सहमति जुट्न सकेको छैन। सुर्खेत, जाजरकोट, दैलेख लगायतका जिल्लामा गठबन्धन गरेर चुनावमा जाने निर्णय भएपनि अहिलेसम्म भागबण्डा मिल्न सकेको छैन। जसका कारण कर्णालीमा गठबन्धन नै धरापमा पर्ने संकेत पनि देखिएको छ।

प्रदेशमा गठबन्धनभित्र नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच विभिन्न पालिकाको नेतृत्वमा हानथाप भइरहेको छ। भने समाजवादीले साबिकमा एमालेले जितेका पालिकाहरू आफूहरूले पाउनुपर्ने अडान राख्दै आएको छ। केन्द्रस्तरबाट गठबन्धन गर्ने निर्णय भएर बारम्बारको बैठकबाट समेत भागबण्डाको टुंगो लाग्न नसकेको पाँच दलीय गठबन्धन दलको नेतृत्व गरेको नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले बताए।

‘पाँच दलीय गठबन्धनको बैठक दैनिकरुपमा बसीरहेका छौँ। तर, अहिलेसम्म भागबण्डाको टुंगो लाग्न सकेको छैन,’सभापति शाहीले भने, ‘गठबन्धन दलभित्र अपेक्षा बढी भएपछि कुनै पनि पालिका र जिल्लाको टुंगो लाग्न सकेको छैन। यो समस्या अहिले देशभरी नै छ।’

निरन्तरको वार्ता र गठबन्धनको तालमेलको ‘मोडालिटी’ अनुसार भागबण्डा मिलाउने सभापति शाहीको भनाइ छ। विषेश गरी कर्णाली प्रदेशमा कांग्रेस र माओवादीबीच भागबण्डामा थप समस्या भएको छ। विगतको तुलनामा आ–आफू नै बलियो भन्दै यी दुबै दलहरूले पहिलो पार्टी भनेर दाबी गरिरहेका छन्। एमालेबाट फुटेका कारण समाजवादीले भने भागबण्डामा धेरै झमेला गरेको छैन।

२०७४ को स्थानीय तहको निर्वाचनको नतिजा अनुसार कर्णाली प्रदेशका कूल ७९ स्थानीय तहमध्ये २७ पालिकाको प्रमुख पद एमालेले जितेको थियो। नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस २५–२५ पालिकामा प्रमुख सिट जितेको थियो। एमालेले २७ वटा पालिकामा प्रमुख र ३१ उपप्रमुखसहित एक हजार ४०३ पद जितेको थियो। 

त्यस्तै माओवादीले २५ पालिकाको प्रमुख र २६ उपप्रमुखसहित एक हजार १४४ पदमा जितेको थियो भने कांग्रेसले २५ पालिकाको प्रमुख र १६ उपप्रमुखसहित एक हजार २० पद जितेको थियो। उक्त नतिजा अनुसार कर्णालीमा एमाले पहिलो, माओवादी दोस्रो र कांग्रेस तेस्रो दल बनेको थियो। 

अहिले प्रदेशमा एमालेबाट निर्वाचित ३५० बढी जनप्रतिनिधिहरू नेकपा एकीकृत समाजवादीमा समावेश भएका छन्। त्यस कारण पनि समाजवादी अहिले चौथो स्थानमा छ। पार्टी फुटेपछि सल्यान, दैलेख, कालीकोट, जुम्ला र डोल्पामा एमालेलाई ठूलो धक्का पुगेको छ। गठबन्धनलाई असफल बनाई साना दलहरूसँग तालमेल गरेर फेरि पनि कर्णालीको पहिलो दल बन्ने प्रयासमा एमाले लागि परेको छ।

आफू कमजोर रहेका पालिकामा राप्रपा लगायतका अन्य साना दलहरूसँग तालमेल गर्ने रणनीति एमालेले बनाएको छ। तर, एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद शाह भने एमाले एक्लै चुनावमा जाने गरी होमिएको भन्दै तालमेल गर्ने र गठबन्धनलाई शुभकामना एमालेले दिएको बताए।

‘हामी कसैसँग तालमेल गर्दैनौँ। अहिले एक्लै चुनावमा होमिने रणनीतिका साथ अगाडी बढेका छौँ,’अध्यक्ष शाहले भने, ‘गठबन्धन र तालमेल गर्नेलाई हाम्रो शुभकामना तर, यस्ता स्वार्थमा गरिएका गठबन्धन र तालमेलको आयु धेरै हुँदैन।’
 

वैशाख ७, २०७९ बुधबार १९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।