गठबन्धनको निर्णय नमान्नेलाई अनुशासनको कारबाही हुन्छ : गृहमन्त्री खाँण

गठबन्धनको निर्णय नमान्नेलाई अनुशासनको कारबाही हुन्छ : गृहमन्त्री खाँण

बुटवल : नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेस गठबन्धनमा प्रतिबद्ध भएको बताएका छन्। सर्वोच्चको आदेशपछि राजनीतिक दलहरु मिलेर गठबन्धन सरकार बनेको भन्दै उनले गठबन्धन प्रति कांग्रेस प्रतिबद्ध रहेको बताए। गठबन्धन दलहरुका बीचमा सहमति, सहकार्य गर्ने अठोट नेपाली कांग्रेससँग भएको भन्दै गठबन्धन कार्यान्वयन नेपाली कांग्रेसले गर्ने उनले बताए।

तिलोत्तमामा पत्रकारहरुसँग कुरा गर्दै खाँणले ३० वैशाखमै स्थानीय तहको निर्वाचन हुदैनकी भन्ने आशंका भए पनि निर्धारित मितिमै निर्वाचन हुने बताए। निर्वाचन आयोगले पुर्ण तयारीका साथ अधिकृत र कर्मचारीलाई काममा खटाउनुका साथै मतपत्र छाप्ने काम धमाधम भएकाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने उनको भनाइ छ।

निर्वाचनमा सहभागी नभएका दलहरुसँग स्थानीय तहको निर्वाचनमा भाग लिन सरकारले आव्हान समेत गरेको भन्दै केही दलहरुसँग सरकार बारम्बार छलफलमा रहेको समेत उनले जानकारी दिए।

राजनीतिक असहमति भएपनि जनताका अधिकार सुनिश्चित गर्न दलहरुलाई निर्वाचनमा भाग लिन आव्हान गरेको र त्यहि क्रममा नेत्र विक्रम चन्द ९विप्लव० र सिके राउत सँग पनि छलफल भइरहेको उनले बताए।

खाँणले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन शान्ति सुरक्षामा गृहमन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताए। यस अघिका निर्वाचनमा चरणबद्ध गर्दा सुरक्षाका दृष्टिकोणले केही सहज भएपनि यस पटक एकै पटकमा निर्वाचनमा गर्दा सुरक्षा चुनौती पनि बढेकाले आवश्यक परे नेपाल आर्मी, निजी क्षेत्रका हेलिकप्टरबाट हवाई गस्ती गर्ने र आवश्यक सुरक्षा चाहिने स्थानमा सशस्त्रलाई पठाउने गरी तयारी भएको उनले बताए।

खाँणले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सर्वोच्च पुनर्बहाली गरेको निर्णयलाई स्वीकार गर्ने समेत बताए। अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषद्बाट हटाउने निर्णय भएको र त्यसको जिम्मा सिंगो मन्त्रिपरिषद्ले लिने भन्दै उनले न्यायालयको निर्णयलाई सम्मान गर्ने बताए।

फरक प्रसंगमा नेता खाँणले गठबन्धनले गरेको निर्णय सवैले स्वीकार गर्नुपर्ने बताए। गठबन्धनको निर्णय स्वीकार नगर्नेलाई अनुशासनको कारबाही गर्दै प्रदेश, संघ वा पालिकामा निर्वाचन लड्न फेरी टिकटनै नदिने बताए। उनले गठबन्धनको निर्णयविरुद्ध जाने जो कोहीलाई पनि पहिचान गर्दै जगेडामा राख्ने बताए।

वैशाख ७, २०७९ बुधबार १५:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।