फ्री फायर खेलमा भेट, विवाहको प्रलोभनमा काठमाडौँ ल्याएर बलात्कार

काठमाडौँ : अनलाइन गेम फ्रिफायर खेल्नेक्रममा चिनजान भएकी एक नाबालिगलाई विवाहको प्रलोभन देखाएर बलात्कार गरेको आरोपमा २७ वर्षिया एक युवा पक्राउ परेका छन्। १३ वर्षकी बालिकालाई विवाह गर्छु भनेर पाल्पाबाट काठमाडौँ ल्याएर बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले २७ वर्षका महेश उदासलाई पक्राउ गरेको हो।
प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान विवरण अनुसार वर्ष १३ कि नाबालिग र उदासबिच एक वर्ष अगाडि फ्रीफायर गेम खेल्नेक्रममा चिनजान भएको थियो। फ्रि फायरमा चिनजान भएपछि उनीहरू फेसबुक म्यासेन्जरमा कुराकानी गर्न थाले।
म्यासेन्जरमा भिडियो कल गर्नेक्रममा नजिकिएका उनीहरू मोबाइलमा कुरा गर्न थाले। कुराकानीका क्रममा उदासले बालिकालाई विवाह गर्छु भनेर चैत २९ गते काठमाडौँबाट पाल्पा गएर मोटरसाइकलमा हालेर काठमाडौँ ल्याएका थिए। पहिलो दिन उनीहरू टोखाको वसुन्धरामा बसे। त्यही उदासले नाबालिगको बलात्कार गरेको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
उता पाल्पामा किशोरीका अभिभावकहरुले बालिका हराएकोबारे प्रहरीमा निवेदन दिएका थिए। निवेदन आएपछि प्रहरीले बालिका खोज्नेक्रममा उनी काठमाडौँमा रहेको खुलेको थियो। बालिका र उदासबिच कुराकानी हुने गरेको देखेपछि प्रहरीले उनलाई काठमाडौँको मातातीर्थमा फेला पारेको थियो।
बालिका र उदास फेला परेपछि अनुसन्धानकाक्रममा बालिकाको बलात्कार गरेको देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेर नाबालिग बलात्कारको अभियोगमा जिल्ला अदालत काठमाडौँबाट १० दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको काठमाडौँका एसपी दिनेश राज मैनालीले जानकारी दिए।
वैशाख ७, २०७९ बुधबार १५:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।