जीबबले गाएको 'ए मेरो हजुर-४ को प्रमोशनल गीत कसरी चोरी हो ?

जीबबले गाएको 'ए मेरो हजुर-४ को प्रमोशनल गीत कसरी चोरी हो ?

काठमाडौँ : अहिले युवापुस्तामाझ लोकप्रिय र्यापर जीबबले फिल्म 'ए मेरो हजुर-४' को प्रमोशनका लागि गाएको हिपहप र र्याप फ्युजन गरिएको 'भागभाग' चर्चित भयो। टिकटकमा आएको एनएनटिएफको र्याप ब्याटलका क्लिपबाटै र्यापका पारखीमाझ हङ्गामा मच्चाउन सफल जीबबलाई गाउन लगाइएको सो प्रमोशनल गीतको मेन मेलोडी र लिरिक्स प्याट्रन चोरीको देखियो।

बुढासुब्बाको युट्वमा रहेको डिजिटल प्लेटफर्मबाट प्रोमोको रूपमा सार्वजनिक गरिएको गीतको मेन मेलोडी र 'भागभाग' को लिरिक्स प्याट्रन एट्लान्टिक रेकर्डले सन् २०१४ मा रिलिज गरेको 'सेल सक"को 'किल द नोइज'बाट चोरी गरेको देखियो।

यसबारे उकेराले चैत २७ मा समाचार प्रकाशित गरेको थियो। त्यसको एक सातापछि एएनटिएफको व्यवस्थापक दाबी गर्दै उकेरालाई चोरी पुष्टि गर्न चुनौती आयो। अमेरिकाबाट भाइवरबाट उकेराको अफिसियल नम्बरमा फोन गर्ने व्यक्तिले आफूलाई एनएनटिएफको प्रमुख भएको दाबी गर्दै यदि चोरी पुष्टि भए एएनटिएफ नै बन्द गर्ने दाबी गरेका थिए।

दुबै गीतको नोटेसन

समाचार प्रकाशित गर्दा व्यवहारिक रूपमा दुवै गीत सुनेर केही सङ्गीतकारबाट भेरिफाइ गराइएको थियो। तर एएनटिएफका तर्फबाट आपत्ति जनाउँदा प्राविधिक रूपमै पुष्टि गर्न चुनौती आएपछि उकेराले सङ्गीतबारे जानकारहरूको सहयोग लिएको थियो।

उकेराले दुवै गीतको म्युजिक भिडियो वरिष्ठ सङ्गीतकार तथा पियानिष्ट उपेन्द्रराज सिंह र म्युजिक अरेन्जर तथा डिजे सन्तोष सुवेदीलाई उपलब्ध गरायो। पियानिष्ट सिंहले उकेरालाई चोरी भएको मेलोडी र लिरिक्स प्याट्रन दुवैको नोटेसन चार्ट समेत बनाइदिए।

सिंहका अनुसार 'सेल सक"को 'किल द नोइज'को इ माइनरमा रहेको इन्ट्रो मेलोडीलाई भागभागको मेन मेलोडीमा बिफ्ल्याट माइनरमा प्रयोग गरिएको छ। अनि भागभाग भन्ने भागको लिरिक्स प्याट्रन उस्तै छ।

जीबबले गाएको ए मेरो हजुरको प्रमोशनल गीतको सङ्गीत चोरेको पुष्टि

'हिपहप र र्यापमा बिट उस्तै उस्तै हुन सक्छन् तर मेलोडी र लिरिक्स प्याट्रनमा यस्तो हुन्न,' सिंहले भने' कुनै कुनै गीतमा प्रभावित भएको हुनसक्छ। तर प्रभावित भएको हो भने कुन गीतबाट प्रभावित हो त्यसको क्रेडिट नदिए बदमासी गरेको भनिन्छ।'

बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलमा राखिएको म्युजिक भिडियोमा उल्लेख क्रेडिटमा यो गीत सुहाना इन्टरटेनमेन्टबाट उत्पादित उल्लेख छ।

'भाग भाग' को लिरिक्स जीबबले लेखेको उल्लेख छ। हुक लाइन लिरिक्स एएनटिएफका सुरेन्द्र गुरुङले लेखेका हुन्। गीत मिक्सिङ बाबु प्रधानले गरेको र म्युजिक प्रड्युसर सन्देश ढकाल डिडट र एनटिएफले गरेको उल्लेख छ। त्यसमा एट्लान्टिक रेकर्डले सन् २०१४ मा रिलिज गरेको 'सेल सक"बारे केही पनि उल्लेख छैन।

उकेराले दुवै म्युजिक भिडियोमा समान सुनिएको भाग सम्पादन गरेर यहाँ राखेको छ। अब यो ओर्जिनल हो या प्रभावित हो या चोरी ? आखिर लेभल कसको मिलेन उकेराको कि एएनटिएफको ? छुट्टाउने जिम्मा पाठक/दर्शक र श्रोतालाई नै।

वैशाख ७, २०७९ बुधबार १२:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।