ऐतिहासिक जितगढी किल्लामा कंक्रिटको थुप्रो

ऐतिहासिक जितगढी किल्लामा कंक्रिटको थुप्रो

बुटवल: सुन्दर बनाउने र विरतालाई झल्काइरहने बहानामा ऐतिहासिक सम्पदा बुटवलको जितगढीमा अनावश्यक कंक्रिटका संरचना निर्माण गरिएको छ। तत्कालीन अंग्रेज फौजलाई परास्त गरेको बुटवलको जितगढी किल्ला ऐतिहासिक सम्पदा स्थल हो।

तिनाउ नदी किनारमा रहेको ऐतिहासिक सम्पदामा बुटवल उपमहानगरपालिकाले संरक्षणको बहानामा कंक्रिटका संरचना निर्माण गरिएको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ। 

जितगढी किल्ला नजिकै पानीका फोहोरा, पार्क, राष्ट्रिय झण्डा, सालिक निर्माणको काम उपमहानगरपालिकाले गरेको छ। चुरे पर्वतको काख र तिनाउ खोलाको पश्चिम किनारमा रहेको जितगढी किल्ला १६औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिन्छ।

सम्पदाको संरक्षण हुनु राम्रो भए पनि कंक्रिट निर्माणले ऐतिहासिकतामा ह्रास आउने संस्कृतिविद्हरु बताउँछन्।

युद्धमार्फत आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीसँग वि.सं. १८७१ देखि ७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले जितगढी क्षेत्रबाट विजय हासिल गरी अंग्रेज फौजलाई फिर्ता पठाएको इतिहास छ।

यहि ऐतिहासिक ठाँउको अहिले जनप्रतिनिधि आएपछि संरक्षणको पहल भने सुरु गरिएको थियो। तर आकर्षक र सुन्दर बनाउने नाममा जितगढीकै अस्तित्वमा असर गर्ने संरचना तयार हुँदा यसको ऐतिहासिकता, मौलिकता नबच्ने हो कि भन्ने चिन्ता बढेको छ।

संस्कृतिविद् निर्मल श्रेष्ठले जीतगढी किल्लामा कंक्रिट बनाउँदै जाने हो भने त्यो पछि जंगल बन्ने र त्यसको पहिचान नै मेटिन सक्ने बताए।

‘विदेशी आएर किल्ला कसरी बनेको छ। त्यहाँको आर्टिटेक कस्तो छ, त्यो हेर्न चाहन्छन्। तर कंक्रिटको थुप्रो बनाउँदा पुरानो पहिचान हराउँदै जान्छ। यो मैले बारम्बार भनेको छु,’ उनले भने।

जनप्रतिनिधि नआउँदासम्म गढी किल्लाको विकास र संरक्षण नभएपछि जनप्रतिनिधि आएपछि भने त्यसको विकासको काम सुरु गरिएको थियो। तर ऐतिहासिक पहिचान मेटिने गरी कंक्रिट बनाउनु गलत भएको उनले बताए।

‘कंक्रिट ठड्याएर ऐतिहासिकता झल्किँदैन। यसबारे सरोकारवालालाई सचेत बनाउनुपर्छ। तपाईंहरुले आवाज उठाउने हो। मैले धेरै पटक विभिन्न फोरममा भनेको छु। कोही त बोल्नु पर्छ,’ उनले भने।

उनले कंक्रिट बनाउनुअघि सरोकारवालले त्यस क्षेत्र वपरपरको बस्ती, विद्यालय, मन्दिरलाई हटाएर अन्य तरिकाले विकास गर्नुपर्नेमा त्यसतर्फ ध्यान नै नदिइएको बताए। ‘किल्लालाई किल्लाकै रुपमा जोगाउनुपर्छ भन्दा हाम्रो कुरै सुनिएन। 

किल्लाका बारेमा पुस्तकहरु निकाल्ने, ऐतिहासिक उपलब्धि सबैलाई जानाकारी दिनेतर्फ कसैको ध्यान गएन। कंक्रिट ठड्याएर कसलाई के देखाउन खोजिएको हो?,’ उनले प्रश्न गरे।

बुटवलको गढी मात्र नभएर देशभरका अन्य गढीहरुमा कंक्रिट संरचना बनाइएको भन्दै गढीलाई आफ्नै शैलीमा राख्नुपर्ने उनले बताए 

‘अहिले दक्षिणतर्फबाट हेर्ने हो भने बुटवलको गढी देखिन मुस्किल भइसक्यो। बुटवलको गढी टुक्रिस शैलीको छ। भवानीपुर गढी, अमरसिंह गढि फुल र सरास्वती जस्तो आकारमा छ। त्यो जस्तो शैलीमा छ त्यही शैलीमा राखे पर्यटकलाई ऐतिहासिकता देखाउन सकिन्छ। तर सरोकारवालाले यसतर्फ ध्यान नै दिन सकेनन्,’ उनले भने।

अर्का संस्कृतविद् विमल शाक्यले पनि गढी-किल्लालाई पुरानै पहिचान हुने गरी राख्न सुझाव दिएको बताए। अहिले जितगढी किल्ला संरक्षण भएको भन्दै प्राकृतिक स्वरुपलाई यथास्थितिमै रहनुपर्ने उनले बताए। उनले जितगढीमा संग्राहालय बनाउँदा ऐतिहासिक सामग्रीहरु राख्न सुझाव दिएको समेत बताए।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले गढीको ऐतिहासिकतालाई केही नगरी त्यहाँ संरक्षणको काम गरिरहेको बताए। ‘पुरातत्व विभागले त्यहाँ छुनै दिन्न। हामीले त्यहाँ पुराना संरचनालाई नछोइकनै दायाँ-बायाँ संरचना बनाएका हौं। ऐतिहासिकता मेटिने कुरै छैन,’ उनले भने।

उनले इतिहासकार, संस्कृतिविद्हरुकै सल्लाहमा गुरुयोजना बनाइएको र त्यही गुरुयोजना अनुसार ऐतिहासिकतालाई जोगाउँदै गढीको संरक्षणमा उपमहानगरपालिका लागेको बताए।

उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले पनि गढीको पौराणिकता नबिगारी जितगढीमा काम भइरहेको दावी गरे। ‘फौजको सालिक बनाउने र त्यहाँ सिंगार्ने काम भएको छ। गढीको पौराणिकता बिगार्ने काम भएको छैन,’ उनले भने।

जितगढीमा १८७२ वैशाख ७ गते भएको लडाइँमा नेपालसँग पराजित भई अंग्रेज सेना नेपालबाटै फर्किएको इतिहास छ। विरताको इतिहास बोके पनि खण्डहर बनेको किल्लाको संरक्षणको लागि वि.सं. २०५२ सालमा पुरातत्व विभागले गढीको पर्खालको बीच भागको उत्तरतर्फ उत्खनन गर्दा पुरिएको पर्खालको पेटी भेटिएको थियो।

२०५२ साल फागुन १ गते बुटवलबाट प्रकाशित भएको लुम्बिनी दैनिकले पनि जितगढी किल्लाको उत्खनन गर्दा सुरुङको सिंढी र प्रवेशद्वार फेला परेको लेखेको छ।

उत्खननका क्रममा सुरुङ भित्र प्रवेशद्वारको दिवालको एक इँटामा चरा चित्र अंकित रहेको देखिएको र त्यहाँ प्राप्त इँटाको आकार ९,६,२ रहेको भेटिएको थियो।

नेपाली वीर सेनाहरुले पटक-पटक अंग्रेजी साम्राज्यवादलाई परास्त गरी जितगढी नामले प्रख्यात सो ऐतिहासिक गढी-किल्ला १६/१७ औं शताव्दीतिर सेन बंशीय पृथ्वीलाल सेन पाल्पाली राजाहरुको पालनामा निर्माण भएको अनुमान गरिएको छ।

बुटवलको गढी-किल्लामा भएको लडाइँमा तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सूर्जे थापा, जमदार भीमसेन देउजा र सुरवीर बोहरा, हवलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानियाँ, दलखम्ब थापा, काजी वीरमञ्जन पाँडे, शमशेर राना मगर र जुठे बस्नेतले विरगति प्राप्त गरेका थिए।

गुरुयोजना अनुसार काम हुँदै
जितगढीको अहिले बुटवल उपमहानगरपालिकाले गुरुयोजना बनाएर त्यहाँ संरचना निर्माण गरिरहेको छ। २ बिघा जग्गा र अन्य महत्वका क्षेत्रहरु संरक्षण गरेर गुरुयोजना बनाइएको हो। 

जितगढी किल्लामा निर्माण गरिने सम्पूर्ण संरचनाको लागि ८ करोड १२ लाख ८९ हजार २७ रुपैयाँ लागत अनुमान सहित काम सुरू गरिएको छ भने जग्गा अधिग्रहण र मुआब्जाका लागि झण्डै एक अर्ब लागत अनुमान गरी प्रदेश सरकार तथा संघीय सरकारमा पठाइएको छ। बुटवल उपमहानगरपालिकाको १ करोड बजेटसँगै गत वर्ष प्रदेश सरकारले १ करोड ६० लाख र संघीय सरकारले ५० लाख रुपैयाँ बजेट छुट्याएका थिए।

गुरूयोजनामा जितगढी युद्ध संग्रहालय, सूचना केन्द्र, पुरानो बुटवल र ९ वडा नं १० लाई प्राचीन बजार र पुरातात्विक स्थलको रूपमा विकास गर्ने, जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजना रहेको छ।

त्यहाँ दुई वर्ष पहिले नै कर्णेल उजिरसिंह थापाको ९ फिट उचाइको पूर्णकदको तामाको सालिक निर्माण उपमहानगरपालिकाले बनाएको छ। त्यस्तै ५५ फिटको टावरमा राष्ट्रिय झण्डा दुई वर्षदेखि त्यहाँ फहराइएको छ।

सैनिक योद्धाहरुको सालिक स्थापना
बुटवल उपमहानगरपालिकाले ४ फागुनमा सन १८१४ देखि १८१६ सम्म भएको अंग्रेजसँग लडेर जित हासिल गरेको गढी जितगढी किल्लामा तत्कालीन युद्धमा विरता प्रदर्शन गर्ने सैनिक योद्धाहरुको सालिक स्थापना गरिएको छ।

सन् १८१४ देखि १८१६ अवधिमा भएको नेपाल र इस्ट इण्डिया कम्पनी सरकारका सेनाहरुसँगको भिडन्तमा नेपाली सेनाले अंग्रेज फौजलाई पराजित गरेको स्थलमा तत्कालीन कर्णेल उजिरसिंहका पालाका सँगै लड्ने १३ सेनाका अर्धकदका सालिक निर्माण गरिएको छ।

उपमहानगरपालिकाले गुरुयोजना अनुसार नै १३ जना सेनाको सालिक निर्माण गरेको हो। जसमा काजी वीरभञ्जन पाँडे, कुम्भेदान कृपासुर थापा, दलखम्ब थापा, शमशेर राना मगर, सरदार सूर्जे थापा, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार शुरवीर बोहरा, हवल्दार रणशुर बानियाँ, सिपाही हंशवीर अधिकारी, थरघर नकुल बानियाँ र जुठे बस्नेतको सालिक निर्माण गरिएको छ।

सो युद्धमा जनरल सुलेमान र जनरल उडको नेतृत्वमा युद्ध लड्न आएका अंग्रेज फौजलाई कर्णेल उजिरसिंह थापा मगरको कमाण्डको नेपाली सेनाले दुई पटकसम्म पराजित गर्दै गोरखपुरसम्म लखेटेको थियो।

कम्पनी सरकारको सेनाले अवध सरकारलाई तिरो तिरेको प्रमाणका आधारमा तिब्बतसम्मको व्यापारिक नाका कब्जा गर्ने उद्देश्यका साथ बटौलीबाट आक्रमण सुरु गरेको थियो।

वैशाख ७, २०७९ बुधबार १२:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।