लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ जारी
काठमाडौंः गोरखाको लाप्राक गाउँमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ। सेलिब्रिटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा मंगलबार चलचित्र महोत्सवको उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङले महोत्सवले गाउँको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए।
महोत्सवमा राज सागरको टोलीले नेपाली चलचित्रका गीतमा प्रस्तुति दिएका थिए। महोत्सवको सुरु गुरुङ चलचित्र ‘फुङ’बाट गरिएको थियो। त्यस्तै, मंगलबार स्थानीयसँग ग्रामीण चलचित्र सम्बन्धी अन्तरक्रिया समेत गरिएको थियो।
बुधबारसम्म चल्ने महोत्सवमा विभिन्न भाषामा बनेका अन्य सांस्कृतिक चलचित्र, वृत्तचित्र, सर्टमुभी र फिचर फिल्मसमेत प्रदर्शन गरिने आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले बताए।
कलाकार रवीन्द्र खड्का, लेखक एवं निर्देशक शिवम् अधिकारी, सम्पादक शिव पुरी, साउन्ड एडिटर किशोर आचार्य, पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी महोत्सवको जुरी टीममा रहेका छन्।
जुरीले छनोट गरेका उत्कृष्ट ९ विधामा अवार्ड समेत वितरण गर्दै महोत्सव सकिनेछ। नेपाल चलचित्र विकास बोर्डसँगको सहकार्य रहेको महोत्सवको सह–आयोजकमा ‘भ्वाइस अफ नेपाल म्युजिक इण्डष्ट्रिज’ रहेको छ।
वैशाख ७, २०७९ बुधबार ०८:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।